१० असार २०८१ सोमबार
image/svg+xml
खेल

१९औं एसियाली खेलकुद: नेपाल कबड्डीमा कांस्यमै सीमित

कबड्डीमा भारतीय खेलाडीलाई तान्ने अवसर हेर्दै नेपालकी अनुजा कुलुङ राई । तस्बिर: नागरिक

डेब्यु’ मा नै एसियाली खेलकुदमा पदक दिलाएको नेपाली महिला कबड्डी टोलीले शुक्रबार भारतसँगको सेमिफाइनल खेलमा आशातीत प्रदर्शन गर्न सकेन।  

चीनको हानझाउमा जारी १९औं एसियाली खेलकुदको सेमिफाइनलमा भारतसँग पराजित भएसँगै नेपाल कांस्य पदकमा नै सीमित हुन पुग्यो। चिओसान गाउली स्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनलमा भारतसँग ६१–१७ अंकले पराजित भएसँगै नेपाल कांस्य पदकमा नै सीमित भएको हो। यससँगै पहिलो सहभागितामा नै नेपालको महिला कबड्डी टोलीले फाइनलमा पुग्ने अवसर गुमायो। फराकिलो हारसँगै नेपाली टोलीकी प्रशिक्षक पार्वती गुरुङ र कप्तान मेनुकाकुमारी राजवंशीले केही खेलाडीलाई असहज महसुस भएकाले सोचेअनुरूप प्रदर्शन गर्न नसकेको बताए।

‘भारत निकै बलियो टोली हो। कबड्डीमा उहाँहरूको विकास धेरै राम्रो छ। तर, पनि भारतलाई कडा चुनौती दिने लक्ष्य थियो। यद्यपि, महिनावारीको समस्याका कारण केही खेलाडीले राम्रोसँग खेल्न सकेनन्,’ प्रशिक्षक पार्वतीले भनिन्, ‘यो किसिमको नतिजा अपेक्षा गरिएको थिएन। तर, हामीले देशका लागि अनपेक्षित नतिजा दिलाउन सफल भयौं। यसप्रति सम्पूर्ण खेलाडी धेरै खुसी छौं।’ पहिलो हाफमा नै नेपाल २९–१० ले पछि परेको थियो। यस क्रममा नेपाल दुई पटक अलआउट हुन पुग्यो।

स्वर्णको दाबेदार भारतले दोस्रो हाफमा पनि नेपालमाथि दबाब बनायो। भारतले दोस्रो हाफमा पनि ३२–७ को फराकिलो अग्रतासहित सहज जित दर्ता गर्‍यो। नेपाल दोस्रो हाफमा तीन पटक अलआउट भयो। पहिलोपटक एसियाली खेलकुद खेलेको नेपालको महिला कबड्डी टोली सेमिफाइनलमा पुगे पनि राम्रो प्रदर्शन गर्न भने सकेन। सेमिफाइनलमा पुग्दै नेपाली महिला कबड्डी टोलीले जारी एसियाली खेलकुदमा देशलाई पहिलो पदकसमेत दिलाएको छ। प्रशिक्षक र कप्तानले यो सफलतालाई जोगाई राख्न निकै चुनौती हुने समेत धारणा राखे।

‘चुचुरोमा पुग्न जति सजिलो हुन्छ, त्यहाँ टिकिरहन कठिन हुने गर्दछ। अहिले नेपालको महिला कबड्डी टोलीले पाएका सफलतामा पनि त्यो अवस्था आउन सक्छ। सरकार र कबड्डी संघले समयमा नै महिला कबड्डीमा लगानी बढाएर काम गर्न सके भने मात्र यो सफलता जोगाउन सकिन्छ,’ प्रशिक्षक गुरुङले भनिन्, ‘हाम्रो छिमेकी भारतले कबड्डीमा व्यावसायिक लिगलगायत अन्य प्रतिस्पर्धामार्फत खेलाडीलाई राम्रो एक्सपोजर दिन्छ। साथै खेलाडीले पनि राम्रो सेवासुविधा पाउँछन्।’

प्रशिक्षक गुरुङले अहिले नै खेलाडीलाई धेरै तलब र भत्ता माग नगर्ने उल्लेख गर्दै कम्तीमा उनीहरूलाई उत्साह प्रदान गर्ने खालका योजना आवश्यक रहेको बताइन्। ‘सुविधा भनेको तलब भत्ता मात्र होइन। कम्तीमा नियमित रूपमा खेलाडीको म्याच एक्सपोजर र नियमित रूपमा खेलाडीको अभ्यास राखियो भने महिला कबड्डीले थप सफलता ल्याउन सक्छ,’ उनले भनिन्। नेपालमा छिट्टै कबड्डी लिग सुरु हुँदै छ। त्यसले खेलाडीहरूमा निकै उत्साह प्रदान गर्ने र केही आम्दानी पनि हुने उनको विश्वास छ।

नेपाली महिला टोलीकी कप्तान राजवंशीले लामो समयसम्म प्रशिक्षण र म्याच एक्सपोजर भएमा आफूहरूले देशका लागि अभैm केही गर्ने विश्वास व्यक्त गरिन्। आफ्नो दाइका कारण खेलमा अगाडि बढ्न सहज भएको कप्तान राजवंशीको भनाइ छ। उनले यो पदक आफ्ना दाइ, आमा र सम्पूर्ण परिवारप्रति समर्पित गर्न चाहेको बताइन्। नेपाल समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो। भारत भने समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो। नेपालले समूह ‘बी’ को पहिलो खेलमा बंगलादेशलाई हराउँदै एसियाली खेलकुदमा पहिलो पदक जित्ने सम्भावना बनाएको थियो।

समूहमा रहेको डिफेन्डिङ च्याम्पियन इरानले बंगलादेशलाई हराएसँगै नेपालले सेमिफाइनलको यात्रा तय गर्ने अवसर पायो र कम्तीमा कांस्य पदक पनि सुरक्षित गर्‍यो। समूह ‘बी’ को विजेता इरान समूह ‘ए’ को उपविजेता चाइनिज ताइपेईसँग ३५–२४ ले पराजित भयो। गत संस्करणको १८औं एसियाडमा स्वर्ण पदक जितेको इरानले अप्रत्याशित हार सामना गरेको छ। अब महिला कबड्डीमा शनिबार चाइनिज ताइपेई र भारतबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। 

प्रकाशित: २० आश्विन २०८० ०१:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App