१० असार २०८१ सोमबार
image/svg+xml
खेल

नेपालको महिला कबड्डीमा पहिलो पदक पक्का, चीनको फराकिलो शीर्षता

१९ औं एसियाली खेलकुद

नेपालले चीनको हानझाउमा जारी १९औं एसियाली खेलकुदमा महिला कबड्डीमार्फत् बुधबार पहिलो पदक पक्का गरेको छ । सिओसान गुआली स्पोर्ट्स सेन्टरमा बुधबार डिफेन्डिङ च्याम्पियन इरानले समूह ‘बी’ को दोस्रो खेलमा जित निकालेसँगै नेपालले जारी एसियाली खेलकुदमा पहिलो पदक पक्का गरेको हो । नेपालले समूहको पहिलो खेलमा बंगलादेशमाथि जित निकाल्दा इरानसँग हार बेहोरेको थियो । यससँगै नेपाल समूहमा दोस्रो भएर सेमिफाइनलको यात्रा तय गर्न इरानले बंगलादेशमाथि जित निकाल्नुपर्ने समीकरण थियो । यस्तो नतिजा आएमा नेपालले सेमिफाइनलको यात्रासँगै जारी एसियाली खेलकुदमा नै पहिलो पदक पक्का गर्दथ्यो ।

बुधबार इरानले बंगलादेशमाथि जित निकालेसँगै नेपाल समूहमा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । यससँगै नेपालले कम्तीमा कांस्य पदक पक्का गरेको छ । बुधबार इरानले बंगलादेशलाई ५४–१६ ले हराएपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । समूह ‘बी’ को नेपालले पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराए पनि दोस्रो खेलमा भने मंगलबार डिफेन्डिङ च्याम्पियन इरानसँग ४३–१९ ले पराजित हुन पुग्यो । दुई जितसँगै इरान समूहविजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।  

नेपालको महिला कबड्डी टोलीलाई पहिलो पटक एसियाली खेलकुदमा सहभागी गराएको हो । जारी एसियाली खेलकुदमा आशा गरिएका खेलबाट नेपालको पदक सम्भावना सकिँदै जाँदा महिला कबड्डीले भने सन् १९८६ पछि पहिलो पटक हात खाली हुन सक्ने संकट टारेको छ । अब सेमिफाइनलमा शुक्रबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन इरानले चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्ने समीकरण छ । भारतमाथि जित निकाल्न सके नेपालले एसियाली खेलकुदमा तेस्रो पटक रजत पदक पक्का गर्नेछ ।  

यद्यपि, शनिबार नै हुने फाइनल जित्न सकेमा भने पहिलो पटक एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने श्रेय नेपालको महिला कबड्डी टोलीलाई हुनेछ । तथापि, बलियो भारतविरुद्ध नै जित निकाल्न नेपाली महिला खेलाडीले निकै मिहिनेत गर्नुपर्नेछ । सात राष्ट्र सहभागी एसियाली खेलकुदको महिला कबड्डीमा समूह ‘ए’ मा दक्षिण कोरिया, भारत, चाइनेज ताइपेई र थाइल्यान्डले प्रतिस्पर्धा गरेका थिए । भारत समूहविजेता र चाइनिज ताइपेई उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् ।  

भारतले समूहमा दुई खेल जितेको थियो । चाइनिज ताइपेई र भारतले समान पाँच अंक बटुले पनि अंकअन्तरका आधारमा भारत पहिलो भएको हो । चाइनिज ताइपेई र भारतबीचको खेल ३४–३४ अंकले बराबरी भएको थियो । त्यसैले पनि भारत नेपालका लागि कठिन प्रतिद्वन्द्वी हो । भारतविरुद्ध जित निकाल्न कठिन नै हुनेछ । यद्यपि, नेपालबाट सहभागी २९ खेलमध्ये महिला कबड्डीले ल्याएको पदकले थप आशा भने जगाएको छ ।  

आशा गरिएका मार्सल आर्ट्सका खेलहरू तेक्वान्दो, बक्सिङ, उसु र जुडोलगायत खेलका खेलाडी पदकविहीन बने । नेपालले पदक आशा गरेको पुरुष क्रिकेटको सम्भावना पनि भारतसँग क्वार्टरफाइनलमा पराजित भएसँगै सकिएको थियो । नेपालले अब कराते, डान्सिङ र कुस्तीका खेल खेल्न बाँकी छ । यसबाट अभैm पदकको आशा गर्न सकिन्छ ।  

ब्याडमिन्टन : रोकिइन् रसिला

नेपालकी रसिला महर्जन जारी १९औं एसियाली खेलकुदमा ब्याडमिन्टनको महिला सिंगल्समा बुधबार प्रि–क्वार्टरफाइनलमा रोकिएकी छन् ।

बिन्जियाङ जिम्न्याजियममा नेपालकी रसिला महर्जन चीनकी विन्जियो हेसँग २१–० र २१–४ को सोझो सेटमा पराजित भएसँगै उनको यात्रा रोकिएको हो । रसिलाले मंगलबार मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा हराउँदै प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । मिक्स डबल्स र पुरुष डबल्समा पनि नेपाली खेलाडी पराजित भएका छन् । मिक्स डबल्समा नेपालका खेलाडीले चीनसँग नै हार सामना गर्नुपर्यो ।

नेपालका विष्णु कटुवाल र नङ्सल तामाङको जोडी चीनका सिवेइजेङ र याचिङ हुवाङको जोडीसँग २१–४ र २१–७ को सोझो सेटमा पराजित भयो । पुरुष डबल्समा सिंगापुरका जि जु नेको जोडीले नेपालका जीवन आचार्य र विष्णु कटुवालको जोडीमाथि २१–१ र २१–४ को जित दर्ता गर्यो।

भलिबल : भारतसँग ३–१ को सेटले पराजित

नेपालको महिला भलिबल टोलीको जारी १९औं एसियाली खेलकुदमा पदक यात्रा यसअघि नै सकिएको थियो । तर, बुधबार भएको ‘क्लासिफिकेसन म्याच’ (वरीयताको खेल) मा नेपाल भारतसँग ३–१ सेटमा पराजित भएको छ । हाङझाउ नर्मल युनिभर्सिटी कानक्विन जिम्न्याजियममा भारतले नेपाललाई २५–२३, २६–२८, २५–२३ र २५–१७ को सेटमा पराजित गर्यो । नेपाल प्रतियोगिताबाट बाहिरिए पनि शीर्ष आठ बाहेकका बाँकी स्थान छुट्याउनका लागि पनि खेल हुने भएको हुँदा नेपाली महिला टोलीले अरू खेल खेल्ने मौका पाएको हो ।

समूहचरणको खेलमा नेपाल भियतनाम र दक्षिण कोरियासँग समान ३–० को सोझो सेटमा पछि परेको थियो । भारतसँग पराजित भएपछि नेपालले ९ देखि १२औं स्थानको क्लासिफिकेसनका लागि अझै दुई खेल खेल्न पाउनेछ । नेपालले अर्को खेल हङकङसँग खेल्नेछ । हङकङलाई पराजित गरेमा नेपालले नवौं स्थानका लागि अर्को खेल खेल्ने छ । नेपाल पराजित भएमा ११औं स्थानका लागि अन्तिम खेल खेल्नेछ ।  

एथलेटिक्स : पार्कीले सुधारे व्यक्तिगत समय

नेपालका गोपीचन्द्र पार्कीले जारी १९औं एसियाली खेलकुदमा एथलेटिक्सतर्पm पुरुष पाँच हजार मिटर दौडमा आफ्नो व्यक्तिगत समयमा सुधार गरेका छन् ।

हानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा पार्कीले निर्धारित दूरी १४ मिनेट २२.१५ सेकेन्डमा पूरा गरे । यसअघि पार्कीको व्यक्तिगत उत्कृष्ट टाइमिङ १४ मिनेट ५४.२० सेकेन्ड थियो । यो समय उनले नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा बनाएका थिए । १३औं सागमा उनले सो समयमा दौड पूरा गर्दै स्वर्ण जितेका थिए । विभिन्न राष्ट्रका १८ धावक दौडेको दौडमा पार्की समग्रमा ११औं स्थानमा रहे । २० जनाले नाम दर्ता गराए पनि इरान र थाइल्यान्डका खेलाडी दौडमा सहभागी भएनन् ।

बहराइनका यमाता उबलेउ बिरहानुले एसियन गेम्सको नयाँ कीर्तिमान बनाउँदै स्वर्ण जिते । उनले निर्धारित दूरी पूरा गर्न १३ मिनेट १७.४० सेकेन्ड समय खर्चे । उनले २०१४ को इन्चोन एसियाडमा कतारका मोहम्मद अल गार्नीले बनाएको १३ मिनेट २६.१३ सेकेन्डको एसियन गेम्सको कीर्तिमान भंग गरेका हुन् । भारतका मुकुन्द साब्ले अविनाश १३ मिनेट २१.०९ सेकेन्ड समयका साथ दोस्रो तथा बहराइनका फिकादु अद्मासु दावित १३ मिनेट २५.६३ सेकेन्ड समयका साथ तेस्रो भए । नेपालका राजन रोकाया र पुष्पा भण्डारीले बिहीबार म्याराथनमा प्रतिस्पर्धा गर्नेछन् ।

म्यानमारलाई पहिलो स्वर्ण  

द्वन्द्वग्रस्त म्यानमारले चीनमा जारी १९औं एसियाली खेलकुदमा बुधबार पहिलो पदकको रूपमा स्वर्ण जितेको छ ।

सेपाकताक्रोमा पुरुष टोलीले इन्डोनेसियालाई हराउँदै देशलाई स्वर्ण पदक दिलाएको हो । म्यानमारले फाइनलमा इन्डोनेसियामाथि २१–१३ र २४–२२ को सोझो सेटमा जित निकाल्यो । किक भलिबलको नामबाट प्रख्यात सेपाकताक्रो दक्षिणपूर्वी एसियाली क्षेत्रमा निकै चर्चित छ । म्यानमारले दक्षिण पूर्वी एसियाली प्रतिद्वन्द्वी इन्डोनेसियाविरुद्ध सोझो सेटमा नै सफलता पाएको हो । भलिबलजस्तै कोर्टमा खेलिने भए पनि सेपाकताक्रो खुट्टाको पन्जा, घुँडा, टाउको र छातीले खेल्न सकिन्छ ।

सन् २०२१ को फेब्रुअरीमा आङ सान सु कीको सरकारलाई ढाल्दै त्यहाँको सेनाले सत्ता कब्जामा लिएपछि म्यानमारमा द्वन्द्व सिर्जना हुँदै आएको छ । देशभर त्यसको विरुद्धमा विरोध प्रदर्शन गरे पनि त्यहाँका सेना र प्रहरी कडा रूपमा प्रस्तुत भएका थिए । त्यससँगै म्यानमारमा ठूलो द्वन्द्व उत्पन्न भयो र जसलाई युएनले पनि गृहयुद्ध सुरु भएको संज्ञा दिएको थियो । त्यसको असर खेलकुदमा पनि परेको छ । तर, बुधबार पुरुष सेपाकताक्रो टोलीले स्वर्ण जित्दै द्वन्द्वले पिल्सिएको म्यानमारलाई खुसी प्रदान गरेको छ ।  

सेपाकताक्रो खेलाडी तुन टान्ट जिनले यो स्वर्ण पदक आफ्नो देशका जनतामा समर्पित गर्न चाहे । ‘हानझाउमा यो हाम्रो पहिलो स्वर्ण हो,’ उनले भने, ‘यी जित निकाल्न हामीले निकै संघर्ष गर्नुपरेको छ । तर, प्रशिक्षण टोली र खेलाडीबीच राम्रो एकताका कारण यो सम्भव भयो ।’ सेपाकताक्रो पूर्वी दक्षिण एसिया राष्ट्रबाट नै सुरु भएको हो । यसको पहिलो शब्द ‘सेपाक’ हो । मलेसिया, सिंगापुर र इन्डोनेसियामा यो शब्दको अर्थ किक भन्ने गरिन्छ । ‘ताक्रो’ थाई शब्द हो ।  

यसको अर्थ थाइ भाषामा ‘बुनेको बल’ हो । टाउको माथि उडेर हान्ने किकले बललाई नेट पार गराउँदा यो खेल निकै सुन्दर देखिन्छ । सन् १९९० को पहिलो एसियन गेम्समा नै यो खेल समावेश थियो । महिला र पुरुष दुवैमा म्यानमारले समूहचरणमा इन्डोनेसियासँग हार बेहोरेको थियो । दुई दिनअगाडि मात्र पुरुष टोलीले इन्डोनेसियासँग हार बेहोरेको हो । यद्यपि, म्यानमारका प्रशिक्षक आङ चो मिइन्टले फाइनलमा बलियो आत्मबल र आत्मविश्वासका साथ खेल्ने बताएका थिए ।  

‘हामीले उनीहरूको रणनीतिबारे अध्ययन गरिसकेका थियौं,’ उनले भनेका थिए । उनले भनेअनुरूप नै म्यानमारको पक्षमा नतिजा आएको छ । यता, इन्डोनेसियाका दुवै टोली फाइनलमा पुगे पनि स्वर्ण जित्न भने सकेनन् । महिला टोलीले पनि बुधबार नै भियतनामसँग फाइनलमा हार बेहोरेको हो । यता, इन्डोनेसियाको पुरुष टोलीका प्रशिक्षक रुस्दी रुस्दीले रजत पदक जित्न सकेकामा खुसी नै रहेको बताएका छन् ।  

‘हामीले स्वर्ण जित्ने लक्ष्यका साथ तयारी गरेका थियौं । तर, सफल भने हुन सकेनौं,’ उनले भने, ‘दुवै टोली समान नै छन् । तर, आजको दिन हाम्रो पक्षमा रहेन । महिलातर्पm इन्डोनेसियाले पहिलो सेट आफ्नो पक्षमा पारे पनि जोगाउन नसक्दा रजत पदकमा नै चित्त बुझाएको हो । ‘इन्डोनेसियासँग खेल्दा हाम्रो टोलीका लागि सदैव कठिन हुने गर्दछ । तर, आज हामीले आत्मविश्वासका साथ खेल्यौं र स्वर्ण जित्यौं,’ भियतनामकी कप्तान थी एनगोकले भनिन्, ‘मलाई मेरो टोलीप्रति गर्व छ । किनकि हामीले धेरै चोटबाट यो सफलता पाएका हौं । सँगै ठूलो संघर्ष गरेपछि जित प्राप्त भयो ।’

चीनको फराकिलो शीर्षता

आयोजक राष्ट्रले जारी १९औं एसियाली खेलकुदमा बुधबार स्वर्ण पदकमा फराकिलो अग्रता बनाउँदै पदक संख्यामा तीन सय पार गरेको छ । त्यो पदक संख्यामा आधा भन्दा बढी स्वर्ण पदक समावेश छ । १५ दिनको एसियाली खेलकुदमा बुधबार ११औं दिनको खेल सकिएको छ । ११औं दिनमा नै चीनले गत संस्करणमा जितेको २८७ पदकको संख्या पार गरेको छ । इन्डोनेसियाको जाकार्तामा सम्पन्न १८औं एसियाली खेलकुदमा चीनले त्यो सफलता प्राप्त गरेको थियो । दोस्रो र तेस्रो स्थानमा रहेका दक्षिण कोरिया र जापानको पदक संख्या जोडेर पनि चीनले पाएको सफलता भेट्टाउन सकेका छैनन् । चीनले ३५ किलोमिटर मिक्स दौडमा स्वर्ण जित्दै बुधबारको सुरुआत गरेको थियो । चीनका खेलाडीले जापानका खेलाडीलाई पाँच मिनेटभन्दा बढी समयले पछि पार्दा सफलता प्राप्त गरेको हो ।  

कांस्य पदक जितेको भारतभन्दा ३४ मिनेट अगाडि रहेको चीनले यस विधामा सफलता पायो । यो टोलीमा रहेका चीनका वाङ किनले हानझाउमा आफ्ना परिवार र आफन्तले प्रत्यक्ष खेल हेर्न पाएको भन्दै खुसी व्यक्त गर्दै यसले गर्दा टोलीको मनोबल थप बढेको समेत प्रस्ट पारे । ‘खेलको सुरुआतदेखि नै उहाँहरूले चिच्याउँदै हामीलाई हौसला दिनुभयो । त्यसले मलाई र अन्यलाई निकै उत्साहित बनायो,’ उनले भने, ‘अन्य दर्शकले पनि हामीलाई निकै उत्साह प्रदान गर्नुभयो । जसरी पनि हामी पदकका लागि उत्कृष्ट नतिजाका साथ खेल्छौं भन्ने थियो । त्यसमा सफल पनि भयौं ।’ 

प्रकाशित: १८ आश्विन २०८० ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App