१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

१९ औ एसियाली खेलकुद: अफगानिस्तानका दुई टोली

तालिबानले सत्ता आफ्नो हातमा लिएपछि पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाएको अफगानिस्तानका दुई टोली हानझाउ सहरमा पुगेका छन्।  

अफगानिस्तानका फरक दुई टोली हानझाउ पुगेको घटनाले सबैलाई अचम्मित पारेको छ। तालिबानले कुल १ सय ३० खेलाडीलाई १९औं एसियाली खेलकुदमा पठाएको छ र ती खेलाडीमा सबै पुरुष मात्र छन्। तालिबानले महिलालाई खेलकुदमा सहभागिता जनाउन प्रतिबन्ध लगाएकाले ती पुरुष खेलाडीले १७ वटा फरक खेलमा प्रतिस्पर्धा गर्ने भएका हुन्। तालिबानले अफगानिस्तान ओलम्पिक कमिटीको प्रवक्ता नियुक्त गरेका अतेल मस्वानीले विशेष गरी भलिबल, जुडो र कुस्तीमा अफगानी खेलाडीको सहभागिता रहेको बताए। अर्को टोली भने तालिबानले नै सन् २०२१ मा हटाएको कालो, रातो र हरियो झन्डा बोक्दै विश्वमाझ देखा पर्नेछ।  

तालिबानले सत्ता आफ्नो नियन्त्रणमा लिनुअघि अफगानिस्तान ओलम्पिक कमिटीको अध्यक्ष रहेका हाफिजउल्लाह वाली रहिमीले अर्को टोलीमा १७ जना महिला मात्र रहेको बताएका छन्। रहिमी अहिले अफगानिस्तानबाहिरबाट काम गरिरहेका छन् र विभिन्न देशले पनि उनलाई नै अफगानिस्तान ओलम्पिकको प्रतिनिधि मान्छन्। अफगानिस्तानको ओलम्पिकका बारेमा उनीसँग नै कुरा गर्छन्। ‘हामी खेलकुदलाई पूर्ण रूपमा राजनीतिबाट टाढा राख्न चाहन्छौं। त्यसैले खेलाडीहरू देशभित्र र बाहिरबाट एसियाली खेलकुदमा प्रतिनिधित्व गरिरहेका छन्,’ उनले भनेका थिए। विभिन्न देशका नेताहरूलाई स्वागत गर्ने कार्यक्रममा सबै पुरुष खेलाडी मात्र सहभागी थिए। तर, रहिमीले भने महिला खेलाडीहरू आउने क्रममा रहेकाले त्यहाँ उपस्थित हुन नसकेको उल्लेख गरे।

प्रकाशित: ७ आश्विन २०८० ०१:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App