१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

१९औं एसियाली खेलकुद:ओलम्पिकभन्दा ठूलो प्रतिस्पर्धा आजबाट

कोभिड महामारीका कारण एक वर्ष ढिला गरी आजदेखि इतिहासकै सबैभन्दा ठूलो एसियाली खेलकुद औपचारिक रूपमा सुरु हुँदै छ।यस प्रतिस्पर्धामा १२ हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

चीनको हानझाउ सहरमा हुन लागेको एसियाली खेलकुद खेलाडीको सहभागिताका हिसाबले ओलम्पिकभन्दा ठूलो हो।विश्व च्याम्पियन र ओलम्पिक च्याम्पियन खेलाडीले ४० खेलमा प्रतिस्पर्धा गर्नेछन्।एथलेटिक्स, पौडी, फुटबलजस्ता खेलका चर्चित खेलाडीले हानझाउ आइपुगेका छन्।यस एसियाली खेलकुदमा ई–स्पोट्र्सले पनि चुनौती प्रस्तुत गर्दै छ।९ खेलहरू बक्सिङ, ब्रेक डान्सिङ र टेनिसले आगामी वर्ष हुने पेरिस ओलम्पिकको छनोट पनि गर्नेछ।एसियाली खेलकुदको १९औं संस्करण गत वर्ष नै हुने तय थियो।

यद्यपि, चीनमा कोरोना महामारी फैलिएसँगै चीनको सत्तारूढ पार्टीले १९औं एसियाली खेलकुद सार्ने निर्णय गरेको हो।एसियाली खेलकुदको सुरुआत सन् १९५१ मा भारतको नयाँ दिल्लीबाट सुरु भएको हो।सुरुआतमा सीमित राष्ट्रले मात्र यसमा प्रतिस्पर्धा गर्ने गर्दथे।तर, यस पटक एसियाका ४५ राष्ट्रका खेलाडीले १९औं खेलकुदमा प्रतिस्पर्धा गर्दै छन्।चीनले सन् २०२२ मा नै कोभिड महामारीका बीच पनि विन्टर ओलम्पिक २०२२ बेइजिङमा आयोजना गरेको थियो।

अहिले चीन महामारीका बीच उठ्दै एसियाली खेलकुदमार्फत् आफ्नो विश्वस्तरीय प्रविधि पनि विश्व खेलकुदलाई देखाउन चाहन्छ।‘हामी धेरै चुनौतीबीच यहाँसम्म आइपुगेका छौं।तर, अहिले हामी सफलतापूर्वक खेल आयोजना गर्ने अवस्थामा छौं,’ १९औं एसियाली खेलकुदका प्रमुख प्रवक्ता चेन विइकियाङले भने।१९औं एसियाली खेलकुदमा ५४ वटा भेन्यु तय गरिएको छ।तीमध्ये हानझाउमा रहेका १४ वटा खेलस्थल नवनिर्मित हुन्।यहाँ रहेका खेलस्थलमध्ये बिग लोटस ओलम्पिक स्टेडियम प्रमुख आकर्षण हुनेछ। किनकि ८० हजार क्षमता रहेको ओलम्पिक स्टेडियममा उद्घाटन र समापन समारोह पनि हुनेछन्।

चीनका राष्ट्रपति सी जिनपिङ १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा उपस्थित हुनेछन्।सो अवसरमा सिरियाका राष्ट्रपति बसार अल असद, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाका अन्य उच्चस्तरका नेता पनि सहभागी हुनेछन्।सिरियामा सन् २०११ देखि युद्ध सुरु भएपछि असदले पहिलो पटक चीन भ्रमण गर्न लागेका हुन्।रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन गत बेइजिङ विन्टर ओलम्पिकमा सहभागी भएका थिए।त्यति बेला पुटिन र ‘सी’ बीच राजनीतिक विषयमा छलफल पनि भएको थियो ।

त्यसको एक हप्तापछि नै रसियाले युक्रेनविरुद्ध युद्ध सुरु गरेको हो।सांघाईबाट बुलेट ट्रेनमा आधा घण्टाको यात्रापछि हानझाउ सहर पुगिन्छ।हानझाउमा करिब एक करोड २० लाख मानिस बसोबास गर्छन्।यहाँको विशेषता ऐतिहासिक मन्दिर, बगैँचा र तालतलैया हुन्।चीनको विभिन्न प्रविधिका उद्योगहरू यहाँ छन्।हानझाउ सहर चर्चित व्यापारी तथा अलिबाबा ग्रुपका संस्थापक ज्याक माको जन्मभूमि पनि हो।यो एसियाली खेलकुदमा चीनले आफ्नो प्रविधिमा विकास पनि देखाउनेछ।चालकबिनाको बस र रोबर्ट कुकुरलगायत प्रविधि त्यो एसियाली खेलकुद देखिनेछ।

पदकमा चीनको वर्चस्व

आयोजक चीनले नै एसियाली खेलकुदको पदकतालिकामा वर्चस्व जमाउनेछ।सन् १९८२ देखि हरेक एसियाली खेलकुदमा चीनले नै पदकतालिकामा शीर्ष स्थान ओगट्दै आएको छ।आगामी अक्टोबर ८ सम्म हुने यो एसियाली खेलकुदमा पनि चीनलाई नै दाबेदारका रूपमा हेरिएको छ।

पौडीका विश्व च्याम्पियन किन हेयान नै एसियाली खेलकुदमा खेल्दै छन्।२४ वर्षे किनले एसियाली खेलकुदमा कयौं रेकर्ड बनाउन सक्छन्।उनले तीन विधामा खेल्दै छन्।उनको नाममा एक विश्वकीर्तिमान पनि छ।एथलेटिक्स खेल पनि अर्को लोकप्रिय विधा हो।भारतका ओलम्पिक र विश्व च्याम्पियन नीरज चोप्राले एसियन गेम्समा ज्याभलिन थ्रोमा उपाधि रक्षा गर्ने लक्ष्यअनुरूप खेल्नेछन्।उनको निकटतम प्रतिद्वन्द्वी तथा विश्व च्याम्पियनसिपका रजत विजेता पाकिस्तान अर्साद नदिमले पनि प्रतिस्पर्धा गर्दै छन्।भारत र पाकिस्तानले क्रिकेट र हक्कीमा पनि दाबेदारी प्रस्तुत गर्नेछन् ।

पाँच वर्षअगाडि प्रदर्शन खेलका रूपमा रहेको ई–स्पोर्ट्स यसै एसियाली खेलकुदमार्पmत ठूला प्रतिस्पर्धामा डेब्यु गर्दै छ।यसै माध्यमबाट ई–स्पोट्र्सले ओलम्पिकको यात्रा पनि थाल्नेछ। प्रतियोगिता आजबाट औपचारिक रूपमा सुरु भएपनि १९औं एसियाली खेलकुदका प्रतिस्पर्धा भने गत मंगलबारदेखि नै सुरु भइसकेका छन्।

उत्तर कोरियाले कोराना महामारीपछि पहिलो पटक ठूला खेलकुदको प्रतियोगिता खेलेको छ।महामारीकै कारण गत टोकियो ओलम्पिक नखेलेको उत्तर कोरियालाई बेइजिङ विन्टर ओलम्पिकमा भने प्रतिबन्ध लगाइएको थियो।महामारीपछि पहिलो पटक खेलको पुरुष फुटबलमा उत्तर कोरियाले गत मंगलबार ताइवानमाथि २–० को जितसहित सुखद सुरुआत गरेको थियो।

प्रकाशित: ६ आश्विन २०८० ००:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App