साउदी अरबेयिन लगानी भित्रिएपछि इङ्लिस प्रिमियर लिग क्लब न्युक्यासलले २० वर्षमा पहिलो पटक मंगलबार च्याम्पियन्स लिग खेल्दै छ।
न्युक्यासल मंगलबार एसी मिलानमाथि सुखद नतिजा निकाल्दै युरोपियन क्षेत्रमा उदाउँदो शक्तिका रूपमा आफूलाई उभ्याउन चाहन्छ। पछिल्लो दुई दशकमा न्युक्यासलले युरोपियन फुटबलको प्रतिष्ठित प्रतियोगिताभन्दा पनि घरेलु च्याम्पियनसिपमा नै बिताएको छ। तर, यस पटक भने न्युक्यासल अर्को इङ्लिस क्लब म्यानचेस्टर सिटीकै पदमा हिँड्न चाहन्छ। खाडी मुलुकै लगानीपछि म्यानचेस्टर सिटीले पनि घरेलु र देशबाहिरका प्रतिस्पर्धालाई यादगार बनाएको इतिहास छ।
साउदीको पब्लिक इन्भेस्टमेन्ट फन्ड (पिआइएफ) को ८० प्रतिशत लगानी भित्रिएसँगै न्युक्यासलले गत सिजन प्रिमियर लिगमा पनि शीर्ष चार स्थानमा रहेर लिग पूरा गरेको थियो। तर, न्युक्यासल युरोपेली फुटबलमा पनि लगानीको प्रभाव देखाउने लक्ष्यमा छ। यद्यपि, यस सिजन घरेलु लिगमा भने न्युक्यासलले सुखद सुरुआत गर्न सकिरहेको छैन। इडी होवेको टोली न्युक्यासलले लिगमा पछिल्लो तीन हप्ता लगातार सिटी, लिभरपुल र ब्राइटनसँग हार बेहोर्नुपरेको छ। तर, गत शनिबार ब्रेन्टफोर्डमाथि १–० को जित निकाल्दै न्युक्यासल लयमा फर्किने योजनामा छ।
न्युक्यासलले ट्रान्सफर मार्केटमा आश्चर्यजनक रूपमा खर्च गरेपछि उनीहरूको वित्तीय निक्षेपमा रोक लगाइएको छ। प्रिमियर लिगमा यस सिजन सर्वाधिक धेरै खर्च गर्ने टोलीमा न्युक्यासलले सातौं स्थान ओगटेको छ।
पछिल्ला केही समययता विश्वका कयौं फुटबल स्टारहरू आकर्षक तलबमा साउदीकै फुटबलमा भविष्य खोज्दै एसिया प्रवेश गरेका छन्। न्युक्यासलले ट्रान्सफर मार्केटमा आश्चर्यजनक रूपमा खर्च गरेपछि उनीहरूको वित्तीय निक्षेपमा रोक लगाइएको छ।
प्रिमियर लिगमा यस सिजन सर्वाधिक धेरै खर्च गर्ने टोलीमा न्युक्यासलले सातौं स्थान ओगटेको छ। यस क्रममा न्युक्यासलले हार्भे बान्र्स र टिनो लिभ्रामेन्टो दुवै प्रिमियर लिगबाट घटुवा भएको क्लब लेस्टर सिटी र साउथ ह्याम्पटनबाट भित्र्याएको थियो।
सान्ड्रो टोनाली पनि एसी मिलानबाट सेन्ट जेम्स पार्क क्लब न्युक्यासल भित्रिएका छन्। सात पटकको च्याम्पियन्स लिग विजेता एसी मिलान वित्तीय संकट परेपछि प्रिमियर लिग क्लब न्युक्यासललाई टोनाली बेच्न बाध्य भएको हो। गत सिजन च्याम्पियन्स लिगको अन्तिम चारसम्म स्थान बनाए पनि एसी मिलानले आफ्नो वित्तीय अवस्थामा सुधार ल्याउन सकेन। यद्यपि, इटालियन स्टार टोनालीले होवेको सुरुआती रोजाइमा स्थान बनाउन सकेका छैनन्।
देशबाट जिम्मेवारी वहन गर्ने क्रममा सामान्य चोट लागेपछि उनी न्युक्यासलले बे्रन्टफोर्डमाथि जित निकाल्दा पनि बेन्चमा नै सीमित हुन पुगे। एसी मिलान र न्युक्यासल दुवै समूह ‘एफ’ मा पहिलो खेलमा नै जित निकाल्ने लक्ष्यमा हुनेछन्। किनकि यो समूहमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र बोरुसिया डर्टमन्ड जस्ता बलिया टोली छन्। त्यसैले यो समूहबाट सबै टोलीलाई नकआउट चरणको यात्रा तय गर्न कठिन नै हुनेछ। पूर्वमालिक माइक एस्लेले १४ वर्षसम्म क्लबको जिम्मेवारी समाल्दा न्युक्यासलका समर्थकका लागि खासै यादगार बन्ने सकेन।
पहिलोपटक च्याम्पियन्स लिग खेलाउन लागेका न्युक्यासलका प्रशिक्षक होवेले आफ्नो टोलीले उच्च स्तरको प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गरेका छन्। ‘वास्तवमा भन्नुपर्दा दुई टोलीबीच खेलको स्तरमा धेरै फरक हुने छैन। हामीले युरोपकै टोलीसँग प्रतिस्पर्धा गर्न लागेका हौं। तर, मेरो विचारमा प्रिमियर लिग विश्वकै उत्कृष्ट लिग भएकाले यहाँ प्रतिस्पर्धा गर्ने हरेक टोलीले च्याम्पियन्स लिगमा राम्रो प्रतिस्पर्धा गर्नेछन्,’ होवेले भने, ‘प्रिमियर लिग अद्भुत लिग हो। अब हामी युरोपेली प्रतिस्पर्धामा जाँदै छौं। त्यसैले यो प्रतियोगिता केही फरक र चुनौतीपूर्ण पक्कै हुनेछ। तर, यो फुटबल नै हो र हामी यसको प्रतीक्षामा छौं।’
म्यानचेस्टर सिटीले १२औं पटक च्याम्पियन्स लिग खेल्दा एउटा मात्र उपाधि जित्न सकेको छ। सन् २०११ मा आबुधाबीले क्लबको स्वामित्व ग्रहण गरेपछि सिटीले पहिलोपटक च्याम्पियन्स लिग जित्न सफल भएको हो।
न्युक्यासलले पनि खाडीको लगानीपछि घरेलु लिगमा सफलता निकाल्दै युरोपको ठूला प्रतिस्पर्धाको यात्रा तय गरेको छ। तर, यहाँ टिकिरहन न्युक्यासलले पनि मंगलबारको प्रतिस्पर्धालाई सुखद बनाउनुपर्नेछ। साउदीको अर्को लक्ष्यमा न्युक्यासलले पनि आफ्नो छाप छोड्ने योजना बनाएको छ।
प्रकाशित: २ आश्विन २०८० ०२:१५ मंगलबार