१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पोखरा म्याराथनको तयारी हुँदै

पोखरा अन्तर्राष्ट्रिय म्याराथनका १८ औं संस्करणको तयारी सुरु गरिएको छ। 

आन्तरिक तयारीसँगै नगद ५ लाख रुपैयाँको पुरस्कार पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी तुलकुमार गुरुङले प्रायोजन गर्ने घोषणा गरेका छन्। 

गुरुङले प्रथम पुरस्कार प्रायोजन गर्ने घोषणा गरेका हुन। गुरुङ पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी (ग्राण्ड मास्टर) तथा वि विल राइज फाउन्डेशनका अध्यक्ष समेत हुन्। म्याराथन आगामी फागुन ५ गते शनिबार आयोजना गरिने छ।  

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सञ्चालित म्याराथन नेपालकै जेठो म्याराथन मध्येको हो। जेठो म्याराथन केही वर्ष मुख्य प्रायोजनको अभावमा स्थगित भएको थियो। म्याराथनलाई राष्ट्रिय वाणिज्य बैंकले केही वर्ष प्रायोजन गरेको थियो। 

वाणिज्य बैंंकले प्रायोजन छोडेपछि म्याराथन केही वर्ष रोकिन पुगेको थियो। पछिल्लो छ वर्षयता सुजल डेरीको उत्पादन सफल दूधले मुख्य प्रायोजन गर्दै आएको छ। गण्डकी प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, नेपाल ओलम्पिक कमिटी, कृषि विकास बैंक लिमिटेड, पोखरेली मञ्च युके मुख्य सहयोगीको रुपमा छन्।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले १८ औं संस्करणको लागि २४ विभिन्न उपसमितिका संयोजक तोकेको छ। म्याराथन सफल बनाउन प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङलाई मुख्य संयोजक तोकिएको छ। 

म्याराथनमा ‘च्यारिटी रन’ का लागि समाजसेवी तथा खेलप्रेमी योगेश गुरुङको नेतृत्वमा युकेबाट टोली पोखरा आउने अध्यक्ष पराजुलीले जानकारी दिए। उनी मञ्चद्वारा स्थापित अक्षय कोषका संस्थापक समेत हुन्।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’ मा दर्ता भइसकेको छ। अध्यक्ष पराजुलीले पोखरा म्याराथनले खेलकुद मार्फत पर्यटन प्रवर्द्धनमा टेवा पुगेको दाबी गरे। 

उनले भने–‘ म्याराथन आयोजनाले पर्यटन प्रवर्द्धनमा अहम् भूमिका खेलेको छ’ १८ औं संस्करणमा ५० भन्दा बढी देशका धावक पोखरा आउने विश्वास अध्यक्ष पराजुलीको छ। पोखरा म्याराथनको रुट अन्तर्राष्ट्रिय मान्यता प्राप्त रुट हो। विश्वका ठूला सहरमा आयोजना हुने म्याथन जस्तै पोखरा म्याराथन सधैँ चर्चामा रहेको अध्यक्ष पराजुलीले बताए। १८ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा भने पुरस्कार राशीमा थपघट नगरिएको मञ्चले जनाएको छ।

पुरुष म्याराथन (४२.१९५ किलोमिटर), म्याराथन(गण्डकी प्रदेश )महिला हाफ म्याराथन, १० किलोमिटर खुल्ला, छात्र तथा छात्रा ५ किलोमिटर, ह्विलचियर दौड, दृष्टिविहीन दौड लगायतका इभेन्टहरूलाई मञ्चल समावेश गर्दै आएको छ। म्याराथनको उपविजेताले ३ लाख, तृतीयलाई २ लाख र सान्त्वना स्वरूप चौथो हुने धावकलाई ३० हजार प्रदान गरिने मञ्चले जनाएको छ।

खुला म्याराथन तर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्साहन गर्न विजेतालाई ५०, उपविजेताले ३० र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने छ। महिला हाप म्याराथनले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुने धाविकाले ७५ हजार रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गर्ने छन्। 

१० किलोमिटर सडक दौड महिला तथा पुरुषले समान ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। ५ किलोमिटर छात्र/छात्रा दौड विजेताले नगद १५, १० र ७ हजार रुपैयाँ प्राप्त गर्ने छन्।  

प्रकाशित: २३ भाद्र २०८० १०:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App