२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

तीजमा महिला र पुरुष भलिबल

महिलाहरूको पर्व हरितालिका तीज नजिकिँदै गर्दा नवआदर्श सामुदायिक विकास समाज आगामी भदौ २९ गतेदेखि हुने महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको तयारीमा जुटेको छ।

तीजको रौनकसँगै पोखरा–१९ लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको प्राङ्गणमा भलिबलको रोमाञ्चक प्रतिस्पर्धा फेरि एकपटक दर्शकले हेर्न पाउनेछन्। लामाचौरस्थित नवआदर्शले बर्सेनि तीजकै अवसरमा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ।

विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगिता पनि समेट्दै आएको नवआदर्शले गत वर्षदेखि यस विधालाई हटाएको थियो। नवआदर्श सामुदायिक विकास समाजका पूर्वअध्यक्षसमेत रहेका टिम व्यवस्थापन समितिका संयोजक सुशीलकुमार श्रेष्ठले महिलाको नकआउट र पुरुषको लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा हुने सम्भावना रहेको उल्लेख गरे।

‘महिलातर्फ पाँच टिम दर्ता भइसकेका छन्,’ उनले भने, ‘पुरुषको विभागीय टोलीको फाइनल नहुँदा लिगमा खेलाउने कि नकआउटमा सञ्चालन गर्ने टुंगो भइसकेको छैन।’

महिलातर्फ तीन विभागीय क्लबले उपस्थिति जनाउनेछन्। नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, बुटवलको न्यु एभरेस्ट र काठमाडौंको न्यु डायमन्ड क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। पुरुषमा बुटवलको मणिमुकुन्द, गण्डकी प्रदेश, बागलुङको गल्कोट भलिबल क्लबको सहभागिता रहनेछ।

विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी र एपिएफको सहभागिताबारे अझै टुंगो नभएको टिम व्यवस्थापन समितिका संयोजक श्रेष्ठले जानकारी दिए।

प्रकाशित: १८ भाद्र २०८० ०१:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App