नेपालको युवा टोली घरेलु मैदानमा जारी एसिया यु–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ।
दशरथ रंगशालामा शनिबारदेखि सुरु भएको एसिया रग्बी सेभेन्समा नेपालको यु–२० पुरुष टोलीले समूहको तीन खेलमा हार बेहोरेपछि सेमिफाइनलमा पुग्न असफल भएको हो। नेपालको पुरुष टोली समूह बी मा परेको थियो। शनिबार समूहका तीनै खेलमा नेपाल पराजित हुन पुग्यो। पहिलो खेलमा भारतसँग २८–० ले पराजित भएको नेपालले दोस्रो खेलमा पनि मलेसियासँग ४४–० ले स्तब्ध भयो। फाइनलमा पुग्ने लक्ष्य राखेको नेपालको लगातार दोस्रो हारसँगै सेमिफाइनलमा नै पुग्ने आशा सकिएको थियो।
समूहको अन्तिम खेलमा पनि नेपाल हङकङसँग ३६–० ले हार बेहोर्यो। अब नेपालले पाँचौं स्थानका लागि आइतबार उज्बेकिस्तासँग खेल्नेछ। आइतबार हुने सेमिफाइनलमा चाइनिज ताइपेईले मलेसिया र थाइल्यान्डले हङकङसँग प्रतिस्पर्धा गर्ने भएका छन्। यता, महिलातर्फ पनि डबल राउन्ड रोविनका आधारमा भएको प्रतियोगितामा नेपालको यु–२० महिला टोलीले तीन खेलमा नै हार बेहारेको छ। नेपाली युवा टोलीले तीन खेलमा नै हार सामना गरेपछि उपाधि जित्ने सम्भावना भने समाप्त भएको छ।
महिलातर्फ लिगमा प्राप्त अंकको आधार शीर्ष तीन निर्धारण हुनेछ। पहिलो खेलमा हङकङसँग ३४–५ ले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियासँग २४–० ले हार बेहो¥यो। लगातार दोस्रो हारसँगै नेपालको उपाधि जित्ने अवसर गुमेको हो। तेस्रो खेलमा भने नेपाल थाइल्यान्डसँग ४५–० को फराकिलो हार सामना गर्न बाध्य भयो। यद्यपि, बाँकी आइतबार तीन खेलमा जित निकाल्दा भने नेपाल दोस्रो र तेस्रो हुने अवसर जीवन्त छ।
दुई दिने प्रतियोगितामा आइतबार नै सेमिफाइनल र फाइनलका खेल हुनेछन्। प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गरेका थिए। उद्घाटनको अवसरमा एसिया रग्बीका अध्यक्ष कायस अल धलाई, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटालगायतले उपस्थिति रहेको थियो।
प्रकाशित: २ भाद्र २०८० १६:२० शनिबार





