१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

क्रिकेट मैदान बनाउन जग्गा खोज्दै प्रदेश खेलकुद परिषद

पोखरा रंगशाला क्रिकेट मैदान

प्रदेश सरकारको स्थापनासँगै शुरु भएको प्रदेश क्रिकेट मैदान बनाउने योजना अझै पुरा भएको छैन् । छ वर्षअघिको योजनालाई सरकार र प्रदेश खेलकुद परिषद गण्डकीले रोजेजस्तो र खोजेजस्तो सार्वजनिक जग्गा पाउन नसक्दा क्रिकेट मैदान बनाउने सपना पुरा हुन नसकेको हो ।  

तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा(२०७४सालमा) बनेको गण्डकी प्रदेश सरकारको पहिलो वार्षिक बजेटमै अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरिएको थियो । अन्य खेलकुदका योजना समेत थिए । तर ती कुनैपनि योजनाले पूर्णता पाउन मात्रै होईन शुरुवात नै हुन सकेको छैन् । एक स्थानीय तह एक खेल मैदान, अन्तरराष्ट्रिय रंगशाला, र उच्च उचाईको खेल प्रशिक्षणस्थल(हाईअल्टिच्युड टे«निङ सेन्टर) निर्माणको योजना प्रदेश सरकारले बनाएको थियो ।  

क्रिकेट मैदान बनाउन पोखरा–३३ पशुपतिघाटस्थित १७५ रोपनी क्षेत्रफल प्रदेश सरकारको भोगाधिकारमा आईसकेको छ । भोगाधिकार प्राप्त जग्गामा मैदान बनाउन प्रदेश सरकारले आवश्यक बजेट छुट्टाउँदै आएपनि काम भने अगाडि बढाउन सकेन् । सेती नदी किनारमा रहेको मैदान संरक्षण गर्न नदी कटान रोक्नुपर्ने खाँचो देखियो । कटान नियन्त्रण गर्न करोडौं खर्च हुने देखिएपछि प्रदेश सरकार पशुपतिघाटमा क्रिकेट मैदान बनाउने योजनाबाट पछि हट्यो । फेज आउट नै हुन पुग्यो ।  

सन २०२७ मा नेपालमा यु–१९ महिला विश्वकप आयोजन हुदैछ । काठमाडौं भन्दा बाहिर पोखरामा विश्वकपका केही खेल ल्याउने नेपाल क्रिकेट संघ(क्यान)ले छनक दिएको छ । यद्यपी पोखरा रंगशालाभित्रको क्रिकेट मैदान बाहेक बैकल्पिक क्रिकेट मैदान नहुदाँ जटिलता थपिने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल सुनाउँछन् ।

 ‘पोखरामा बैकल्पिक क्रिकेट मैदान बनाउन जरुरी छ ।’ उनको भनाई थियो । बैकल्पिक क्रिकेट मैदान बनाउन प्रदेश सरकारले अग्रसरता देखाएको छ । प्रदेश खेलकुद परिषदले अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन सम्भावित अध्ययन गर्न पाँचसदस्यीय टोली बनाएको छ । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य एवं नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतमको संयोजकत्वमा पाँचसदस्यीय टोली बनाइएको छ । टोलीले सम्भावित अध्ययन गरी भदौ मसान्तभित्रमा प्रतिवेदन पेश गर्ने छ ।  

‘साउनको अन्तिमसातादेखि प्रदेशका सम्भावित जिल्लामा पुगेर मैदानको अध्ययन गरेर प्रतिवेदन तयार गर्ने समितिको तयारी छ’ संयोजक गौतमले भने–‘दुई÷तीन जिल्लामा सम्भावित क्षेत्रहरुको कुरा आएको छ । समिति प्रत्यक्ष पुगेर अवलोकन गरेर प्रतिवेदन बनाई पेश गरिने छ ।’ उनका अनुसार अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन ८० रोपनी क्षेत्रफलको खाँचो पर्छ । अण्डाकार(ओभल) जग्गा हुनुपर्ने उनको भनाई थियो ।  

संयोजक गौतमका अनुसार कास्कीकै पोखरा–३३ बागमारा, पोखरा–३१ बेगनासक्षेत्र, पोखरा–२१ निर्मलपोखरस्थित पुष्पलाल स्मृति प्रतिष्ठानको जग्गा समेत सम्भावित क्षेत्रको रुपमा समितिले हेरेको छ । त्यतिमात्रै नभई पोखरा–१४ बाच्छेबुडुवामा समेत निर्माण गर्न सकिने कास्की जिल्ला क्रिकेट संघले सम्भावना औंल्याएको छ । तनहुँको भिमाद, व्यास नगरपालिका ४ स्थित घाँसीकुवादेखि उत्तरतर्फको डाडाँ नजिकै पनि मैदान बनाउन उपयुक्त रहेको समितिका संयोजक गौतमले बताए । ‘जिल्ला तहबाट समेत मैदान बनाउन उपयुक्त हुने ठाँउहरुको बारे जानकारी दिनुभएको छ । समितिका सदस्यहरुसहितको टोलीले सम्भावित अध्ययन गर्ने छौं ।’ उनको भनाई थियो ।  

हिमाली जिल्ला मनाङ र मुस्ताङमा क्रिकेट मैदान बनाउने सम्भावना न्यून छ ।उनका अनुसार म्याग्दी, बाग्लुङ, पर्वतमा पनि सम्भावित अध्ययन गरिने छ । स्याङजा, लमजुङ र गोरखा तथा नवलपुुर समेत पुगेर टोलीले प्रतिवेदन तयार पार्ने छ । ‘मैदान बनाउने ठाँउ मात्रै भएर हुदैन् । उपयुक्त होटलसहित अन्य  सुविधा छ कि छैन् त्यो पनि हेर्नुपर्ने हुन्छ’ उनले भने–‘होटलको सुविधा नै नभएको ठाँउमा जग्गा मात्रै भएपनि बनाउन कठिनाई हुन्छ ।’ पोखरामा एउटा मात्रै मैदान हुदाँ अन्तरराष्ट्रियस्तरका प्रतियोगिता आयोजना हुन सकेको छैन् । २०७६ मंसिर १५ देखि २४ सम्म पोखरामा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा महिला क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।  

प्रकाशित: १८ श्रावण २०८० ०९:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App