३ असार २०८१ सोमबार
image/svg+xml
खेल

उमेर समूह एसियन रग्बी यस वर्ष पनि

नेपालमा लगातार दोस्रो वर्ष उमेरसमूहका एसियन रग्बी सेभेन्स प्रतियोगिता हुने भएको छ। एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया यु–२० महिला तथा पुरुष रग्बी सेभेन्स प्रतियोगिता हुने भएसँगै नेपालमा लगातार दोस्रो वर्ष उमेरसमूहका एसियाली प्रतिस्पर्धा हुन लागेको हो।

गत वर्ष भने नेपालले एसिया यु–१८ महिला तथा पुरुष रग्बी सेभेन्स प्रतियोगिता आयोजना गरेको थियो। पछिल्लो समय विश्व रग्बीको पूर्ण सदस्यता प्राप्त गरेसँगै नेपालले यु–२० को प्रतियोगिता आयोजना गर्न लागेको हो। उक्त प्रतियोगिता आगामी भदौ २ र ३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल रग्बी संघले जनाएको छ। एसियन यु–२० रग्बी सेभेन्स प्रतियोगितामा भारत, थाइल्यान्ड, मलेसिया, चाइनिज ताइपेई, हङकङ, उज्बेकिस्तान र नेपाल गरी सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

यद्यपि, पुरुषतर्फ सात राष्ट्रको चुनौती रहँदा महिलामा भने तीन राष्ट्र आयोजक नेपाल, थाइल्यान्ड र मलेसियाको मात्र सहभागिता रहने नेपाल रग्बी संघले जनाएको छ। प्रतियोगिता आयोजनाका लागि करिब ७२ लाख रूपैयाँ खर्च हुने संघको अनुमान छ। प्रतियोगिताका विजेताले ट्रफी प्राप्त गर्नेछ। एसिया रग्बीको सदस्यता प्राप्त गरेका ३५ राष्ट्रका रग्बी संघहरूले यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछन्। प्रतियोगिताका लागि नेपाली यु–२० महिला तथा पुरुष राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको छ।

श्रीलंकन प्रशिक्षक सेनवेजेसिंघेले गत असार १५ गतेबाट दिइरहेको उक्त प्रशिक्षण निकै प्रभावकारी रहेकाले टोलीले राम्रो नतिजा ल्याउनेमा विश्वस्त रहेको नेपाल रग्बी संघले बताएको छ। हाल महिला र पुरुषतर्फ समान २० खेलाडी पोखरामा हाई पर्फमेन्स प्रशिक्षणमा छन्। उनीहरूमध्ये अन्तिम १५ टोलीले आगामी प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ। यसै क्रममा नेपाल रग्बी संघ र गोक्योबीच एकआपसमा सहयोग गर्ने गरी सम्झौता भएको छ। सम्झौताअनुसार गोक्योले रग्बी खेलाडीहरूका लागि खेलपोसाक, ट्य्राक सुट र खेलसामग्री उपलब्ध गराउनेछ।  

नेपाल रग्बी संघका तर्फबाट महासचिव गोविन्द घिमिरे र गोक्योको तर्फबाट ब्रान्ड मेनेजर अन्जिना राईले सम्झौतापत्रमा हस्ताक्षर गरे। यसै गरी संघले भक्तपुर इन्टरनेसनल हस्पिटलसँग पनि सम्झौता गरेको छ। संघको तर्फबाट महासचिव घिमिरे र हस्पिटलका तर्फबाट सिइओ रामजीकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे।

प्रकाशित: १८ श्रावण २०८० ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App