११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

मार्केटाले रचिन् कीर्तिमान

 चेक रिपब्लिककी मार्केटा भोन्डोरोसोभा बिनावरीयता विम्बल्डन टेनिस जित्ने पहिलो महिला खेलाडी बनेकी छिन्।

शनिबार सम्पन्न फाइनलमा मार्केटाले छैटौँ वरीयताकी ट्युनिसियाकी ओन्स जुबेरमाथि ६–४, ६–४ को सोझो सेटमा जित निकालिन्। पछिल्ला ६० वर्षमा बिनावरीयताका खेलाडीले विम्बल्डन जितेको यो पहिलोपटक हो। सेन्टर कोर्टमा मार्केटाले खेलजीवनकै पहिलो ग्रान्ड स्लाम जितेकी हुन्। सन् २०१९ को फ्रेन्च ओपनको फाइनलमा स्थान बनाए पनि उनी एस्लेघ बार्टीसँग निराश भएकी थिइन्। ‘म जुन तरिकाले प्रतियोगितामा सहभागी थिएँ, अहिले उपाधि जित्दा मलाई आफ्नो सफलतामा विश्वास लागिरहेको छैन,’सन् २०२२ मा चोटका कारण कोर्ट बाहिर रहेकी मार्केटाले भनिन, ‘अहिले म यो खुसियाली मनाइरहेको छु। केही समयपछि यसबारे विस्तृतमा बताउनेछु।’

विम्बल्डन जित्ने मार्केटा चेक रिपब्लिककी तेस्रो खेलाडी हुन्। यसअघि चेक रिपब्लिकका याना नोभोटाना र पेट्रा किभिटोभाले विम्बल्डन जितेका थिए। बिनावरीयता ग्रान्ड स्लाम जित्ने भने उनी नवौं खेलाडी हुन्। एक वर्ष अघि विम्बल्डनमा उनी दर्शकदीर्घामा बस्न बाध्य थिइन्। हातको चोटका कारण ओलम्पिककी रजत विजेता मार्केटा ६ महिना कोर्ट बाहिर बसेकी थिइन्। जुबेरका लागि भने यो अर्को पीडादायी नतिजा हो।  

गत वर्ष नै जुबेरले विम्बल्डनको फाइनल प्रवेश गर्ने पहिलो अफ्रिकी महिला खेलाडीको कीर्तिमान रचेकी थिइन्। तर, उनी फाइनलमा एलिना राबाकिनासँग निराश हुन पुगिन्। उनी युएस ओपनको फाइनलमा भने इगा स्वायटेकसँग निराश भएकी थिइन्। यससँगै उनी ग्रान्ड स्लाम जित्ने पहिलो अफ्रिकी महिला खेलाडीको कीर्तिमान रच्न असफल भएकी हुन्। ‘यो मेरा लागि निकै कठिन दिन हो। तर, म निराश हुने पक्षमा छैन,’जुबेरले भनिन्, ‘यो मेरो खेलजीवनकै सबैभन्दा पीडादायी हार हो। तर, म एक दिन उपाधि जित्नेमा आशावादी छु।’  

यस वर्ष मात्र जुबेर मार्केटासँग तीन पटक पराजित भइन्। यसअघि उनले मियामी ओपन र अस्ट्रेलियन ओपनमा पनि मार्केटालाई नतिजा सुम्पिएकी थिइन्। आइबार हुने पुरुषतर्पmको फाइनलमा भने कार्लोस अल्कारेज र नोकाभ जोकोभिच भिड्नेछन। जोकोभिचले सेमिफाइनलमा यानिक सिनरलाई हराएका थिए भने अल्कारेजले ड्यानियल मेडभेडेभमाथि सफलता पाएका हुन्।  

प्रकाशित: ३१ असार २०८० ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App