२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

‘तेक्वान्दो खेलको विकासमा सरकारले ध्यान दिनुपर्छ’

मार्सल आर्टमध्ये अन्तर्राष्ट्रिय स्तरमा बढी पदक दिलाउने तेक्वान्दो खेलको विकासमा सरकारले ध्यान दिन सरोकारवालहरुले माग गरेका छन्।

शनिबार विराटनगरमा नेपाल तेक्वान्दो संघ मोरङको साधारण सभामा बोल्ने वक्ताहरूले तेक्वान्दो खेलले राष्ट्रलाई पदक दिलाए पनि सरकारले बेवास्ता गर्दै आएको बताए।

तीन तहको सरकार हुँदासमेत खेल क्षेत्र सधैँ उपेक्षित हुनु परेको कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ताले बताए। मार्सल आर्ट खेलको क्षेत्रमा तेक्वान्दोले एउटा छुट्टै प्रभाव जमाउँदै अन्तर्राष्ट्रिय स्तरमा देशको नाम राख्न सफल भएको उनले बताए।

‘हाम्रो पार्टीले जहिले पनि खेल र खेल क्षेत्रलाई माया गर्दै आएको छ,’ कोषाध्यक्ष गुप्ताले भने, ‘पार्टीले खेल क्षेत्रको विकासका लागि एउटा छुट्टै संस्था बनाएको र त्यसमार्फत खेलाडीका साथै खेल स्तरको वृद्धिका लागि विभिन्न योजना अघि बढाएको छ।’

खेलले समाजलाई अनुशासित बनाउने हुँदा खेलकुदलाई बढी ध्यान दिन जरुरी छ। मार्सल आर्टले असल नागरिक बनाउने मात्रै नभई व्यक्तिलाई कसरी आत्मरक्षा गर्ने भनेर सीप सिकाउने भएकोले पनि यसको छुट्टै महत्त्व रहेको गुप्ताले बताए।

त्यस्तै, संघका जिल्ला अध्यक्ष दिवस नेपालले नेपालबाट अन्तर्राष्ट्रिय स्तरका खेलमा सहभागिता जनाउँदै सबैभन्दा बढी पदक जित्ने खेल नै तेक्वान्दो भएको बताए। उनले राष्ट्रका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक दिलाउने खेल तेक्वान्दोलाई सरकारले जहिले पनि बेवास्ता गर्दै आएको जिकिर गरे।

अन्य खेलमा सरकारले धेरै लगानी गरे पनि पदक कम प्राप्त गर्दै आएको बताउँदै, अध्यक्ष नेपालले भने, ‘राष्ट्र र अन्तर्राष्ट्रिय प्रतियोगितामा बढी पदक दिलाउने मार्सल आर्ट खेलमध्ये तेक्वान्दो हो। सरकारले खेलाडीलाई प्रोत्साहन गर्नुपर्नेमा बजेट दिँदा सोच अनुसारको प्रतिफल पाउन सकिएको छैन।’

तीन तहको सरकार हुँदासमेत खेलकुद क्षेत्रलाई कुनै पनि तहका सरकारले ध्यान दिएको पाइँदैन। अन्य विभिन्न शीर्षकमा बजेट छुट्याए पनि खेल क्षेत्रका लागि नाम मात्रको न्यून बजेट छुट्याउने गरेको अध्यक्ष नेपालले बताए।

तेक्वान्दो खेलका लागि भौतिक संरचना र खेल सामग्री अभावमा खेल्दै आएका खेलाडीले पदक जित्दासमेत तीन तहका सरकारले उचित ध्यान दिएको छैन। खेल क्षेत्रकाे विकासका लागि तीन तहको सरकार मिले ध्यान दिन जरुरी रहेको अध्यक्ष नेपालले बताए।

शनिबार विराटनगरमा आर्थिक वर्ष २०७९/०८० को आर्थिक र संगठनको प्रतिवेदन पारित गर्दै संघको साधारण सभा सम्पन्न भएको छ।

प्रकाशित: ३० असार २०८० १३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App