१३ असार २०८१ बिहीबार
image/svg+xml
खेल

रूपेश र क्षितिज संयुक्त चौथो स्थानमा

खेलमा प्रतिस्पर्धा गर्दै रूपेश जैसवाल। तस्बिर ः नागरिक

नेपाल च्याम्पियन रूपेश जैसवाल र क्षितिज भण्डारी जारी दक्षिण एसियाली चेस च्याम्पियनसिपमा शुक्रबार पाँचौं चरणका खेल सकिँदा संयुक्त रूपमा चौथो स्थानमा छन्।

नेपाल बुद्धिचाल महासंघको आयोजनामा जारी च्याम्पियनसिपमा पाँचौं चरणको खेल सकिँदा रूपेश र क्षितिज समान २.५ अंकसहित दुई भारतीय र एक पाकिस्तानी खेलाडीलाई पछ्याइरहेका छन्। पाँचौं चरणसम्म भारतका (२४१५) रेटेड इन्टरनेसनल मास्टर नुबैरसाह शेख ४.५ अंकसहित शीर्ष स्थानमा छन्। भारतकै ग्रान्ड मास्टर (२५०८) रेटेड सयतन दास र पाकिस्तानी फिडे मास्टर (२०४६) रेटेड अमिर करिम समान चार अंकसहित नुबैरलाई पछ्याइरहेका छन्।  

नेपालका (२१४६) रेटेड रूपेशले शुक्रबार बंगलादेशका (२२१२) मेहदी हसन परागलाई हराएका हुन्। रूपेशले ४६औं चालमा पुगेर नतिजा आफ्नो पक्षमा पारेका हुन्। त्यसअघि रूपेशले चौथो चरणमा शीर्ष स्थानका नुबैरसाहलाई रोक्दै यादगार सफलता आत्मसात् गरेका थिए। रूपेशले नुबैरसाहबीच निकै प्रतिस्पर्धात्मक खेल भयो। प्रतिस्पर्धाको मध्य भागसम्म पुगेपछि खेल कठिन मोडमा पुग्यो र दुवै खेलाडीले खतरा मोल्न चाहेनन् र खेलको ३९औं चालमा बराबरी गर्न सहमत भए।  

यद्यपि, नुबैरले शुक्रबार पाँचौं चरणमा भने नेपाल पूर्वच्याम्पियन (२०३२) रेटेड शूरवीर लामालाई हराए। शूरवीरले कडा टक्कर दिए पनि खेलको ४४औं चालमा खेल सुम्पिन बाध्य भए। भारतका उच्च वरीयताका (२५०८ रेटेड) ग्रान्ड मास्टर सयतनको लागि चौथो र पाँचाैं चरण सुखद रह्यो। उनले चौथो चरणमा बंगलादेशका (२११३) रेटेड अब्दुल मलेक मोहमदलाई र पाँचौं चरणमा नेपालका फिडे मास्टर (२०२८) रेटेड क्षितिज भण्डारीमाथि जितको आत्मसात् गरे।

शुक्रबार हार बेहोरेपछि क्षितिज तेस्रो स्थानका लागि अंकको अग्रता बनाउन चुके। पाकिस्तानका (२०४६) रेटेड अमिरले पनि लगातार दुई चरणमा सफलता प्राप्त गरे। उनले पाँचौं चरणमा नेपालका (१८२८) रेटेड पुरुषोत्तम सिलवाललाई हराए। त्यसअघि चौथो चरणमा भने अमिरले बंगलादेशका फिडे मास्टर (२२१२) रेटेड हसनलाई निराश बनाएका थिए। ललितपुरको गोदावरीस्थित होटेल भ्यु भृकुटीमा जारी च्याम्पियनसिपमा पुरुषोत्तम सिलवाल र अब्दुल मलेक मोहम्मदको समान दुई अंक छ। नेपालकै अर्को खेलाडी शूरवीरको भने एक अंक मात्र छ।

उनले एक मात्र जित भुटानका डेचेन दोर्जीमाथि चौथो चरणमा निकालेका थिए। महिलातर्फ पाँचौं चरणको खेल सकिँदा नेपालकी सुजना लोहनी बंगलादेशकी जनातुल फर्डोससँग समान ३.५ अंक बटुल्दै तेस्रो स्थानमा छिन्। शुक्रबार पाँचौं चरणको खेलमा माल्दिभ्सकी नुहा रिलवानले खेल त्यागेपछि सुजना सहजै अंक प्राप्त गरिन्। महिलामा भारतकी साक्षी चितलाङ्गे सर्वाधिक पाँच अंक र बंगलादेशकी वादिफा अहमद चार अंकसहित शीर्ष दुईमा छन्। सुजनाको लागि तेस्रो र चौथो चरणका खेल यादगार रह्यो।  

उनले तेस्रो चरणमा नेपालकै शान्ति धिमालमाथि जित निकाल्दा चौथो चरणमा बंगलादेशकी जनातुलसँग बराबरीमा खेलिन्। नेपालका शान्ति धिमालले दुई अंक तथा रिया श्रेष्ठ र सुशीला गुरुङले समान एक अंक बटुलेका छन्। यी तीनै खेलाडीले शुक्रबार पाँचौं चरणमा हार बेहोरेका थिए।

प्रकाशित: २ असार २०८० ००:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App