१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

पेरिस ओलम्पिक्सकाे तयारीबारे खेलकुदमन्त्रीले लिए जानकारी

फाइल।

पेरिस ओलम्पिक्स २०२४ मा नेपालको सहभागिता र तयारीको विषयमा बुधबार युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीसँग जानकारी लिएका छन्।

पेरिस ओलम्पिक्समा नेपालको तर्फबाट सहभागी हुने सात खेलाडी निश्चित भएसँगै सहभागिता र जिम्मेवारीको विषयमा राखेप सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पिक कमिटीका उपाध्यक्ष ज्योति राणासँग मन्त्री श्रेष्ठको छलफल भएको हो।

यस क्रममा उनले ओलम्पिक्समा सहभागी हुने खेलाडी बाहेकका पदाधिकारीहरूको हकमा आवश्यकता र जरुरतको आधारमा मापदण्ड भित्र रहेर टोली पठाउन निर्देशन दिएका छन्।

एक साताभित्र नेपालबाट सहभागी हुने नेपाली टोलीको सङ्ख्या राष्ट्रिय खेलकुद परिषद् मार्फत मन्त्रालयमा पेश गर्न उनले नेपाल ओलम्पिक कमिटीलाई निर्देशन दिएका छन्।

साथै विगतमा भएका कमी कमजोरी र बेथितिलाई नदोहोर्‍याउन र राष्ट्रको गरीमा आँच नआउने गरी सहभागी हुन भनिएको छ।

राखेप सदस्य सचिव टंकलाल घिसिङले सात मध्ये तीन खेलाडी टेबल टेनिसका स्यान्टु श्रेष्ठले अस्ट्रेलियामा, पौडीका डुवाना लामाले थाइल्यान्डमा र एलेक्जेन्डर शाहले अमेरिकामा व्यक्तिगत रूपमा तथा ब्याडमिन्टनका प्रीन्स दाहाललाई राष्ट्रिय खेलकुद परिषद्ले वैदेशिक प्रशिक्षणका लागि श्रीलंका पठाएको जानकारी गराए।

ओलम्पिक कमिटीले सम्बन्धित संघले पठाएको प्रशिक्षकको एक्रिडिटेसनको लागि प्रक्रिया अगाडि बढाएको तर ब्याडमिन्टन संघले कसैको पनि नाम नदिएको स्पष्ट पार्‍यो।

जसको कारण प्रिन्स दाहाल प्रशिक्षक बिना ओलम्पिक्स जाने सम्भावना उच्च रहेको छ। एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल र जुडोकी मनिता श्रेष्ठ प्रधानलाई यही असारदेखि दैनिक २ हजारका दरले प्रशिक्षण खर्च दिइने जानकारी गराए।

सदस्य सचिव घिसिङले तयारी र राष्ट्रिय संघको माग अनुसार क्वालिफाइङ प्रतियोगिता खेल्न ५० लाख बजेट खर्च भएको बताए। साथै समर ओलम्पिक्स र पारा ओलम्पिक्सको लागि ९० लाख बजेट विनियोजन भएको पनि सुनाए। 

सदस्य सचिव घिसिङले पेरिस ओलम्पिक्समा सहभागीताका लागि खरिद प्रक्रिया अगाडि बढाइसकेको पनि जानकारी दिए।

प्रकाशित: १२ असार २०८१ २३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App