१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

रेलिगेसनबाट जोगियो संकटा

हिमालयनविरुद्ध गोल गरेपछि मच्छिन्द्रका ओलावाले । तस्बिर सौजन्यः एन्फा

रेलिगेसन जोनको फ्रेन्ड्स क्लब अग्रता जोगाउन नसक्दा सहिद स्मारक ‘ए’डिभिजन लिगमा संकटासँग १–१ को बराबरीमा रोकिएसँगै संकटा रेलिगेसनबाट बच्ने पक्का भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको दिनको अन्तिम खेलमा बराबरीमा रोकिएसँगै संकटा रेलिगेसनबाट बच्ने पक्का भएको हो। लिगको अन्तिम खेलमा विभागीय टोली  नेपाल एपिएफ फुटबल क्लबविरुद्ध जित निकाल्न असफल भए फ्रेन्ड्स दोस्रो डिभिजनमा घटुवा हुनेछ। संकटाले भने सिजनको अन्तिम खेल न्युरोड टिम (एनआरटी)सँग खेल्नेछ।

बराबरी खेल्दै अंक बाँडेको फ्रेन्ड्सले सुरुआती अग्रता जोगाउन असफल भएको थियो। खेलमा फ्रेन्ड्सका लागि टोरिक जेब्रिन तथा संकटाका लागि जुनियरले समान एक गोल गरेका थिए। खेलको ५३औं मिनेटमा जेब्रिनको गोलमार्फत फ्रेन्ड्सले अग्रता लिएको थियो। ७०औं मिनेटमा जुनियरले संकटालाई बराबरीमा ल्याएका थिए। उक्त नतिजा नै अन्तिम रहन पुगेको थियो। फ्रेन्ड्स लिगमा संकटाविरुद्ध अपराजित रह्यो। पहिलो भेटमा फ्रेन्ड्सले ३–१ को सहज जित निकालेको थियो।

रेलिगेसन क्षेत्रबाट बच्न संघर्ष गरिरहेको फ्रेन्ड्स सुरुआती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको छ। यस बराबरीले संकटा रेलिगेसन भयबाट बाहिर निस्किएको छ।

लिग अन्तर्गत बुधबार नै भएका खेलमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले हिमालयन शेर्पामाथि ३–१ को जित निकाल्दै च्याम्पियन चर्च ब्वाइजसँगको अग्रता तीन अंकमा छोट्याउँदा अर्को खेलमा न्युरोड टिम एनआरटीले सर्वाधिक ८ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी फुुटबल क्लबमाथि १–० को रोमाञ्चक जित निकालेको छ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पामाथि ३–१ को जित निकाल्दै चर्च ब्वाईजसँगको अग्रता छोट्याएको हो। जित हात पार्ने क्रममा मच्छिन्द्रले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गर्दै एक गोल खान पुगेको थियो। मच्छिन्द्रका लागि विमल घर्तीमगरले एक तथा आफिज ओलावालेले दुई गोल गरे। यस्तै हिमालयनका पिस्टोन मुटुम्बाले सान्त्वना गोल फर्काएका थिए।

हिमालयन शेर्पामाथि सुरुबाट नै हावी हुँदै खेलेको मच्छिन्द्रले २६औं मिनेटमा विमलको गोलबाट अग्रता लिएको थियो। पुजन उपरकोटीको क्रसमा विमलले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए। खेलको ६८औं मिनेटमा ओलावालेले गोल गर्दै मच्छिन्द्रको अग्रता २–० मा पु¥याउँदा ७७औं मिनेटमा ओलावालेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ३–० मा पु¥याएका थिए। ओलावालेले जारी लिगमा २०औं गोल पूरा गरेका छन्। हिमालयनका ओबयोमी फान्कुले पेनाल्टी क्षेत्रमा ओलावालेलाई फाउल गर्दै लडाएपछि मच्छिन्द्रले पेनाल्टी पाएको थियो। खेलको ९०औं मिनेटमा हिमालयनका पिस्टोनले फ्रिकिकमार्फत गोल गरे पनि मच्छिन्द्र ३–१ ले विजयी भयो। मच्छिन्द्रको यो ११औं जित हो। जितसँगै मच्छिन्द्र २५ खेलमा ४२ अंक जोडेर दोस्रो स्थानमा छ। हिमालयनले २५ खेलमा ३१ अंक जोडेको छ।

लिगअन्तर्गत बुधबार नै भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी) ले मनाङलाई १–० ले स्तब्ध बनायो। स्पष्ट जित निकाल्ने क्रममा एनआरटीका दीपेश आलेमगरले १७औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। यससँगै एनआरटीले जारी सिजनमा आठौं जित निकाल्न सफल भएको छ। एनआरटीले २५ खेलमा ३३ अंक जोडेको छ। पराजित मनाङले २५ खेलमा ३२ अंक जोडेको छ। यस्तै लिग लिगमा शुक्रबारबाट लिगका अन्तिम चरणका खेल हुनेछन्।  

प्रकाशित: २५ जेष्ठ २०८० ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App