१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एपिएफ बन्यो राष्ट्रिय भलिबल च्याम्पियन

उपाधिका साथ एपिएफका खेलाडीहरु।

हेटौंडामा सञ्चालन भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लवले जितेको छ।  

आज उपाधिको लागि भएको खेलमा विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लवलाई ४–१ को सेटमा हराउँदै एपिएफले उपाधि जितेको हो। एपीएफले आर्मीलाई २५–२०, १७–२५, २५–१७ र २९–२७ को सेटमा हराएको हो।  

एपीएफले उपाधीसहित नगद २ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता आर्मीले १ लाख रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ। एपिएफले गण्डकी प्रदेश भलिबल टिमलाई र आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लवलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए। सेमिफाइनल पुगेको गण्डकी प्रदेश र पुलिसले ५०/५० हजार रुपैयाँ प्राप्त गरेको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफका विजयी थापा घोषित भए। थापाले नगद १५ हजार रुपैयाँ तथा ट्रफी प्राप्त गरे। 

प्रतियोगिताको उत्कृष्ट सेटर एपिएफका सुवास कुँवर, उत्कृष्ट स्पाइकर आर्मीका शरण सामरी, उत्कृष्ट डिफेन्डर आर्मीका ईश्वर थापा, उत्कृष्ट ब्लकर आर्मीकै सञ्जय चौधरी र उत्कृष्ट प्रशिक्षक विजेता एपिएफका पुष्पराज मल्ल घोषित भए। उनीहरुले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा १६ गतेबाट हेटौंडामा खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको हो। 

विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई आयोजक केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप विष्ट, हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा लगायतले पुरस्कार वितरण गरेका हुन्। पुरस्कार वितरण गर्दै मेयर लामाले खेलकुदसहित हेटौंडाको सर्वाङ्गीण विकासमा उपमहानगरपालिका लागिपरेको बताइन्। बजेट, नीति तथा योजना निर्माणको क्रममा रहेको जानकारी दिँदै उनले आगामी वर्ष पनि खेलकुद क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरिने जानकारी दिइन्।

 पुरस्कार वितरणमा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, हेटौंडाका वडा अध्यक्षहरु ढलकबहादुर थापा, नवीन सिग्देल, सुशील घिमिरे, मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष वेष खड्गी लगायतको आतिथ्यता थियो। प्रतियोगितामा नेपालका १० टिमको सहभागिता रहेको थियो। आगामी वर्षहरुमा पनि यस प्रतियोगितालाई निरन्तरता दिँदै जाने लक्ष्य रहेको मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष वसन्तकुमार सिटौलाले बताए।

प्रकाशित: २० जेष्ठ २०८० १२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App