८ वैशाख २०८१ शनिबार
खेल

गण्डकी र एपिएफको विजयी सुरुवात

प्रतियोगिताको उद्घाटन गर्दै मेयर लामा लगायत।

गण्डकी प्रदेश भलिबल टिम र एपिएफले हेटौंडामा सुरु भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजय यात्रा सुरु गरेको छ।

 मंगलबार भएको उद्घाटन खेलमा गण्डकीले घरेलु टिम मकवानपुरलाई ३–० को सोझो सेटमा हराउँदै विजय यात्रा सुरु गरेको हो। गण्डकीले मकवानपुरलाई २५–१८, २५–१७ र २५–१९ को सेटमा हराएको हो।

खेलमा गण्डकीका सन्तोष थापा मगर म्यान अफ द म्याच भए। दोस्रो खेलमा पाथिभरा भलिबल टिम झापालाई एपिएफले ३–१ को सेटमा हरायो। पाथिभरालाई एपिएफले २५–२२, २५–१६, २३–२५, २५–२३ को सेटमा हराएको हो। नयाँ खेलाडीहरुलाई प्रोत्साहन सँगै खेलाडीका बीच भ्रातृत्वको सम्बन्ध स्थापनाका लागि केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको हो। हेटौंडा ४ स्थित हुप्रचौरमा सुरु भएको प्रतियोगितामा नेपालका १० टिमको सहभागिता रहेको छ। 

मंगलबार हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले प्रतियोगिताको उद्घाटन गरेकी हुन्। उनले उपमहानगरपालिकाले सबै खेललाई उत्तिकै महत्व दिँदै बजेटको व्यवस्था गर्दै आएको बताइन्। यस प्रतियोगिताले नेपालको भलिबल खेलमा विशिष्ट योगदान पु¥याएका राष्ट्रिय प्रशिक्षक केशवलाल श्रेष्ठको सम्मान हुने उनको भनाई थियो। प्रतियोगितामा विजेताले २ लाख तथा उपविजेताले एकलाख रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। 

यस्तै सेमीफाईनलमा पुग्ने २ टिमले ५०/५० हजार रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र विधागत उत्कृष्ट हुने खेलाडीहरुलाई जनही नगद ५/५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले जानकारी दिए। प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित बागमती प्रदेश भलिवल टिम, मधेश प्रदेश भलिवल टिम, मणिमुकुन्द भलिबल टिम बुटवल, गण्डकी प्रदेश भलिवल टिम, वालिङ भलिवल टिम स्याङ्जा, पाथिभरा भलिबल टिम झापा र आयोजक मकवानपुर जिल्ला भलिवल संघको सहभागिता रहेको छ। प्रतियोगिताका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने मकवानपुर जिल्ला भलिबल संघ अध्यक्ष बसन्त सिटौलाले जानकारी दिए। 

२० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटनमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, पूर्व मेयर हरिबहादुर महत, प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) बामदेव गौतम, मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्गी सहित उपमहानगरका वडा अध्यक्षहरुको आतिथ्यता रहेको थियो।

प्रकाशित: १६ जेष्ठ २०८० १४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App