coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एथलेटिक्समा चितवन च्याम्पियन

जारी दोस्रो बाग्मती प्रदेश खेलकुदमा एथलेटिक्सतर्फ कुल ३० स्वर्णमध्ये १३ स्वर्ण पदकसहित चितवन टिम च्याम्पियन भएको छ।

हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा बुधबार सम्पन्न एथलेटिक्समा १३ स्वर्ण, सात रजत र ९ कांस्यसहित चितवन च्याम्पियन भएको हो। सुजित महतो एक्लैले चितवनलाई तीन स्वर्ण र एक रजत पदक दिलाए। उनी उत्कृष्ट खेलाडी पनि भए। महिलातर्पm मकवानपुरकी डिना गोपाली उत्कृष्ट खेलाडी घोषित भइन्। उनले दुई स्वर्ण र एक रजत जितिन्। चितवनले फिल्डमा ९ स्वर्ण र फिल्डमा चार स्वर्ण ल्यायो। चितवनका आठ पुरुष र पाँच महिला खेलाडीले स्वर्ण पदक दिलाए।

त्यस्तै सिन्धुपाल्चोक दोस्रो हुँदा पाँच स्वर्ण, १-१ रजत र कांस्य जित्यो। रामेछाप र मकवानपुर संयुक्त रूपमा तेस्रो भए। दुवैले समान तीन स्वर्ण, तीन नै रजत र दुई कांस्य पदक जिते। बुधबार १४ वटा स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। एक सय मिटर दौडमा महिलामा मकवानपुरकी डिना गोपाली र पुरुषमा काठमाडौंका सहनचन्द्र शाहले स्वर्ण पदक जिते। सहनचन्द्रले ११.८६ सेकेन्ड र डिनाले १४.१९ सेकेन्ड समय लगाए। पुरुषमा चितवनका आशिष राउत र मकवानपुरका गौरव मोक्तानले क्रमशः रजत र कांस्य पदक जिते। महिलामा भने भक्तपुरकी स्वागता खाइजुले रजत र चितवनकी रोजिना गुरुङले कांस्य पदक जिते। दश हजार मिटर दौडमा महिलातर्पm सिन्धुपाल्चोककी निनु तामाङले स्वर्ण जितिन्। उनले ४७.१ मिनेट समय निकालिन्। दोलखाकी सोनु घोतानेले रजत र धादिङकी लक्ष्मी थापाले कांस्य पदक प्राप्त गरे। पुरुषमा भने सिन्धुपाल्चोकका मिगमार सिङ्गीले ३६ मिनेट दुई सेकेन्डका साथ स्वर्ण जिते। काठमाडौंका धर्म महर्जन र पवनकुमार साह क्रमशः रजत र कांस्य पदक जित्न सफल भए।  

दोस्रो संस्करणमा पनि राजु च्याम्पियन

चितवनका राजु गरान्जा बाग्मती प्रदेश खेलकुदअन्तर्गत ब्याडमिन्टनको पुरुष सिंगल्समा दोस्रो संस्करणमा पनि स्वर्ण जितेका छन्। हेटौंडा उपमहानगरपालिका–११ स्थित थाना भर्याङमा सम्पन्न फाइनलमा डिफेन्डिङ च्याम्पियन राजुले चितवनका निसान गुरुङलाई २१–१० र २१–५ ले हराउँदै स्वर्ण जितेका हुन्। महिला सिंगल्समा भने काठमाडौंकी रिहाना शेरचनले सफलता पाइन्। रिहानाले स्वर्ण भिडन्तमा काठमाडौंकी मनीषा खड्कालाई २१–५ र २१–६ ले हराइन्। मकवानपुरकी आयुश्मा नेपालले कांस्य पदक जितिन्। उनले धादिङकी बबिता पुरीलाई १९–२१, २१–१३ र २१–१६ ले हराइन्।

काभ्रेका आशिष तामाङले कांस्यको प्रतिस्पर्धामा धादिङका अस्बिन थापामगरमाथि २१–५ र २१–६ को जित निकाले। महिला डबल्समा रामेछापकी सोमा गुरुङ र संगीता तामाङको जोडीले स्वर्ण जित्यो। यो जोडीले फाइनलमा ललितपुरका श्रेया वज्राचार्य र राहिता शाक्यमाथि २१–१७ र २१–१६ को जित रच्यो। काठमाडौंकी मनीषा खड्का र रिहाना शेरचनको जोडीले कांस्य पदक प्राप्त गर्यो। पुरुष डबल्समा ललितपुरका ससिन डंगोल र सुमन शाक्यको जोडी सफल भयो। यो जोडीले फाइनलमा धादिङका लक्ष्मण मल्ल ठकुरी र राम मल्ल ठकुरीको जोडीलाई २१–१२ र २१–१६ ले हरायो। यो विधामा चितवनका राजु गरान्जा र सुरोज गुरुङले कांस्य पदक जिते। मिक्स डबल्समा भने मकवानपुरका अभिशेक बोस र आयुष्मा नेपालको जोडीले स्वर्ण पदक प्राप्त गरेको छ। यो जोडीले फाइनलमा धादिङका अस्बिन थापामगर र रुबिना थापामाथि २१–४ र २१–१८ को सहज जित निकाल्यो। 

प्रकाशित: ११ जेष्ठ २०८० ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App