१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

जावलाखेलले अवसर गुमायो

न्युरोड टिम (एनआरटी) सँग अंक बाँडेसँगै जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’डिभिजन लिगको शीर्ष स्थानमा पुनरागमन गर्ने अवसर गुमाएको छ।  

बिहीबार त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा सम्पन्न खेलमा जावालाखेल अग्रता जोगाउन नसक्दा एनआरटीसँग १–१ को बराबरीमा रोकिएको हो। ३७औं मिनेटमा सुनील खड्काले गरेको गोलमा जावलाखेलले अग्रता लिएको थियो। ५०औं मिनेटमा लालनुनजामाले गोल गर्दा एनआरटी खेलमा फर्किएको थियो।  

जावलाखेल १९ खेलमा ३२ अंकसहित दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडको भन्दा १ अंक कम हो। यद्यपि चर्च ब्वाइजले जावलाखेलको भन्दा एक खेल कम खेलेको छ। तेस्रो स्थानको मच्छिन्द्र क्लबको भने १९ खेलमा ३१ अंक छ। आठौं स्थानको एनआरटीको भने समान खेलमा २३ अंक छ। बिहीबार नै दशरथ रंगशालामा सम्पन्न खेलमा फ्रेन्ड्स क्लबसँग २–२ को बराबरीमा रोकिएसँगै मच्छिन्द्रले शीर्ष स्थानको चर्च ब्वाइजसँग अंक बराबरी गर्ने अवसर गुमाएको थियो।  

६८औं मिनेटमा प्रकाश बुढाथोकीले गरेको गोलमा फ्रेन्ड्स क्लबले अग्रता लिएको थियो। त्यसको तीन मिनेटपछि नै ओलाओले आफिजले गरेको गोलमा मच्छिन्द्र खेलमा फर्किएको थियो। ७९औं मिनेटमा राफिक अमिनुले गोल गर्दा फ्रेन्ड्सले पुनः अग्रता लिएको थियो। खेल सकिन ७ मिनेट बाँकी रहँदा आफिजले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रको हारको संकट टारेका थिए। मच्छिन्द्रका प्रशिक्षक किशोरकुमार केसीले पाएको अवसर गुमाउँदा शीर्ष स्थानको चर्च ब्वाइजसँग अंक बराबरी गर्ने अवसर गुमाएको बताए।  

‘हामी आज शीर्ष स्थानको चर्च ब्वाइजसँग अंक बराबरी गर्ने लक्ष्यका साथ आएका थियौं,’केसीले भने, ‘तर आज टोलीको लक्ष्यले पूर्णता पाएन। फ्रेन्ड्सले सोचेभन्दा राम्रो प्रदर्शनसहित हामीलाई दबाबमा राखेको थियो। यद्यपि हामी उनीहरूसँगका हार टार्न भने सफल भयौं। तीन अंकको लक्ष्य लिए पनि एक अंकले पनि हामी खुसी नै छांै। हामी अझै शीर्ष तीनमा छौं। लिगमा अब हामीले ७ खेल खेल्न बाँकी छ। हाम्रो लिग उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य कायम छ।’ यता फ्रेन्ड्सका प्रशिक्षक उर्जन श्रेष्ठले आफ्नै गल्तीका कारण मच्छिन्द्रसँग अंक बाँड्नुपरेको बताए।  

‘हामीले अग्रता जोगाउन नसक्दा मच्छिन्द्रसँग अंक बाँड्नुपर्यो,’ श्रेष्ठले भने, ‘टोलीको प्रदर्शनबाट भने सन्तुष्ट छु। आजको जितले टोली रेलिगेसन क्षेत्रबाट माथि उठ्ने थियो। हारले टोलीमाथिको दबाब बढाएको छ।’  

फ्रेन्ड्स १९ खेलमा २१ अंकसहित १२औं स्थानमा छ। जुन १४औं स्थानको एफसी खुमलटारभन्दा मात्र ४ अंक बढी हो भने १२औं स्थानको नेपाल पुलिस क्लबभन्दा एक अंक कम हो। पुलिसल फ्रेन्ड्सभन्दा एक खेल कम खेलेको छ। च्यासल फुटबल मैदानमा सम्पन्न खेलमा मनाङ मस्र्याङ्दी क्लब र संकटा क्लबले भने २–२ को बराबरी खेले।

सातौं स्थानको मनाङको २३ अंक छ भने ११औं स्थानको संकटाको २२ अंक छ। 

प्रकाशित: ५ जेष्ठ २०८० ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App