२ वैशाख २०८२ मंगलबार
image/svg+xml २२:६ अपराह्न
खेल

इलाममा रग्बी प्रतियोगिता आयोजना गरिने

इलामको माई नगरपालिकास्थित शुक्रबारे खेलमैदानमा आयोजना गरिने राष्ट्रिय रग्बी प्रतियोगिताबारे पत्रकारहरूलाई जानकारी दिइँदै। तस्बिर : भीम/नागरिक

नेपाल रग्बी संघले विश्व रग्बी संघको पूर्ण सदस्यता पाएसँगै इलाममा सम्भवतः पहिलो पटक यसको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने भएको छ।

जिल्लाको माई नगरपालिकास्थित शुक्रबारे खेलमैदानमा आउँदो जेठ २६ र २७ मा २० वर्षमुनि उमेर समूहको प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

नेपाल रग्बी संघको आयोजना तथा संघका प्रदेश, जिल्ला र माई नगर समितिको संयोजनमा हुने प्रतियोगितामा ७ प्रदेशका महिला र पुरुष गरी १४ टिम सहभागी हुनेछन्। सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष गंगा फियाकले यहाँ सञ्चालन गरिने ‘ट्याकल’ रग्बीमा ४ राष्ट्रिय क्लबसमेत सहभागी हुने बताए। ‘प्रतियोगिताबाट राष्ट्रिय टिमका लागि खेलाडी समेत छानिने छन्,’ उनले भने, ‘प्रतियोगिताका विजेता र उपविजेताले पाउने पुरस्कारबारे चाहिँ निर्णय हुन बाँकी छ।’

मैदानको अवस्थाका आधारमा ‘रग्बी–७ साइज’को प्रतियोगिता यहाँ सञ्चालन गर्न लागिएको छ। खेल १५ मिनेटको हुनेछ। देशका ग्रामीण क्षेत्रमा खेल विस्तार र प्रचार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संघका केन्द्रीय प्रचार समिति सदस्य तथा इलामका पत्रकार नमीन ढकालले जानकारी दिए।

इलाममा २०७९ असार १२ मा रग्बी संघ गठन भएको हो। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा इलामको टिम पुरुष र महिला दुवैतर्फ च्याम्पियन बनेको थियो। ‘अहिले पुरुष राष्ट्रिय टिममा इलामका ३ खेलाडी छन्, यु–१५ को भाइस क्याप्टेन पनि इलामकै खेलाडी छन्,’ अध्यक्ष फियाकले भने, ‘महिलातर्फको राष्ट्रिय टिममा पनि इलामका ४ खेलाडी छन् भने त्रिभुवन आर्मी क्लबमा आबद्ध इलामकै विशाका राई पनि राष्ट्रिय खेलाडी हुन्।’ विशाकाले यो वर्षको वेस्ट अवार्ड पाएकी थिइन्।

विश्व संघको एसोसिएट सदस्य रहेको नेपाल रग्बीले भर्खरै पूर्ण सदस्यता पाएको हो। खेलमा अन्तर्राष्ट्रिय सहभागिता, प्राविधिक जनशक्ति, कार्यालय सञ्चालनको अवस्था, घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनालगायतलाई आधार बनाएर मात्र विश्व रग्बीले पूर्ण सदस्यता प्रदान गर्ने मापदण्ड छ। सन् २०१८ जुलाईमा नेपाल रग्बीले एसिया रग्बी संघको पूर्ण सदस्यता पाएको थियो।

प्रकाशित: ३० वैशाख २०८० ०८:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App