७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय मैत्री तेक्वान्दो दक्षिण कोरियामा हुने

इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आईओएफटिसी) को १४ औँ संस्करण दक्षिण कोरियाको सोलमा हुने भएको छ।

कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा सोलमा हुने सो प्रतियोगिता सन् २०२४ को अगस्ट महिनामा हुनेछ। गत मार्चमा आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जन तथा महासचिव केरेन ब्लाकलेजले दक्षिण कोरियाको सोल शहरलाई आयोजनाको जिम्मेवारीस्वरुप जिटु वल्र्ड र्याङ्किङ तेक्वान्दो च्याम्पियनसीपका स्वर्ण पदक विजेता राजु क्षेत्रीलाई आइओएफटिसीको झन्डा हस्तान्तरण गरेका थिए। एनआरएन दक्षिण कोरियका पूर्व अध्यक्षका साथै अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्री क्षेत्री सोलमा हुने १४ औँ आइओएफटिसीमा संयोजकको भूमिकामा रहने छन्।

आइओएफटिसीको प्रमुख कार्यालय अमेरिकाको पोर्टल्यान्डमा रहेको छ। संयोजक क्षेत्रीले १४ औँ संस्करणको आयोजना गर्ने जिम्मेवारी सोललाई दिएकोमा आइओएफटिसीलाई धन्यवाद दिँदै खुशी पनि व्यक्त गरे। अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपको आयोजना गर्दै आएको छ।

आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ। जसअनुसार आइओएफटिसीको आप्mनो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत र हङकङ र अमेरिकाकै मिचिगनमा एक–एक संस्करणको आयोजना भइसकेको छ।

संयोजक क्षेत्रीले दुई वर्षअघि मिचिगनमा सफलतापूर्वक आइओएफटिसी सम्पन्न भइसकेको र अब दक्षिण कोरियाको सोलमा हुने १४ औँ संस्करण अझ भव्य बनाउने लक्ष्य लिएको बताए।

यस प्रतियोगितामा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चिन, मेक्सिकोलगायतका राष्ट्रको सहभागिता रहनेछ। प्रतियोगितामा सात सयभन्दा बढी खेलाडीले भाग लिने आयोजकको अपेक्षा छ।

इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपमा सिनियर पुरुष र महिलाको समान आठ–आठ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। यसैगरी, जुनियरतर्फ महिला र पुरुष गरी दस–दस तौल समूह र क्याडेट वर्गमा दस–दस तौल समूहमा खेलाइनेछ।सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ।यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि सामेल छन्।

प्रतियोगितामा कूल ६५ स्वर्ण पदक, ६५ रजत पदक र १३० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। यसबाहेक बोर्ड ब्रेकिङ इभेन्टमा पनि पदक दिइनेछ।

प्रकाशित: २८ वैशाख २०८० १३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App