२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एसिसी प्रिमियर कप क्रिकेटः ओमान र युएई सेमिफाइनलमा

साउदीविरुद्ध जित निकालेपछि ओमानका खेलाडी ।तस्बिर सौजन्यः साजन लामिछाने÷क्यान

नेपाल सम्मिलित समूहको ओमानले साउदी अरेबियामाथि ७२ रनको सहज जित निकाल्दै काठमाडौंमा जारी एसिसी प्रिमियर मेन्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ।  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा ओमानले साउदीलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो। यसँगै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोली ओमान र नेपाल भएका छन्। बिहीबार नेपाल र कतारबीचको खेलपछि समूहविजेता र उपविजेताको टुङ्गो लाग्नेछ। ओमानले समूहचरणका सबै ४ खेलमध्येबाट ३ खेलमा जित र १ मा हारको नतिजासहित ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। पराजय ब्यहोरेको साउदी समान खेलमा १ जित र २ हार एवं १ खेलमा अंक बाँड्दै ३ अंकका साथ चौथो स्थानमा रहँदै बाहिरिएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको ओमानले पूरै ५० ओभर खेल्दै प्रस्तुत गरेको ३ सय ६७ रनको लक्ष्य पछ्याएको साउदी ४६.५ ओभरमा २ सय ९४ रनमा समेटिएको थियो। साउदीका लागि दोस्रो विकेटका रूपमा अब्दुल र सादले १ सय ७७ रनको साझेदारी गरेका थिए। अब्दुल वाहिदले ८६ बलमा १४ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ९५ रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन। यसै गरी साद खानले ८० बलमा १० चौका र १ छक्काको मद्दतमा ७८, कप्तान हिसम शेखले ३६, अब्दुल वाहिदले २५, अतिफ उर रहमानले अविजत १६ र इमरन आरिफले १० रन बनाए। साउदीका पाँच ब्याट्सम्यान दोहोरो अंकको स्कोर नगरी पवेलियन फर्किएका थिए। साउदीलाई सस्तैमा समेट्न ओमानका लागि बिलाल खानले ८.५ ओभरमा ७५ रन खर्चिंदै ४ विकेट निकाल्दा जय ओदिद्रले ३, जिसन मक्सुदले २ र आयन खानले १ विकेट आफ्नो नाममा लेखाए।  

टस हारेर पहिला ब्याटिङ गरेको ओमानले पूरै ५० ओभर खेल्दै प्रस्तुत गरेको ३ सय ६७ रनको लक्ष्य पछ्याएको साउदी ४६.५ ओभरमा २ सय ९४ रनमा समेटिएको थियो।

यसअघि पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ६६ रनको पारी खेलेको थियो। पहिलो विकेटका लागि जतिन्दर र काश्यपले १ सय २५ रनको साझेदारी गरेका थिए। ओमानका लागि ओपनर जतिन्दर सिंहले ७९ बलमा ११ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ८८ रन जोडे। मोहम्मद नाविदले ३८ बलमा ६ चौका र ४ छक्काको मद्दतमा अविजित ७१, सोयब खानले ७० बलमा ८ चौका र २ छक्काको मद्दतमा ६८ रन बनाए। त्यस्तै कप्तान जिसन मक्सुदले ४९ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५४ रन र ओपनर काश्यप प्रजापतिले ५३ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५१ रन जोडे। बलिङतर्फ साउदी अरेबियाका लागि आतिफ उर रहमानले ३ र अब्दुल वाहिदले २ विकेट लिए भने एक विकेट अब्दुल वाहिदे एक विकेट हात पारे।  

एसिसी प्रिमियर लिगअन्तर्गत मूलपानी क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’ को खेलबाट बहराइनमाथि ८ विकेटको सानदार जित निकाल्दै संयुक्त अरब इमिरेट्स (युएई) पनि काठमाडौंमा जारी प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ। यससँगै जारी प्रतियोगितामा अन्तिम चारमा पुग्ने तीन टोलीको टुङ्गो लागेको छ। अब अन्तिम टोलीको टुंगो बिहीबार लाग्नेछ। समूह ‘बी’ को अन्तिम खेलमा हङकङ र कुवेत प्रतिस्पर्धात गर्दै छन्। यी टोलीबीचको विजेताले अन्तिम चारमा स्थान बनाउनेछ र नतिजापछि नै समूहविजेता र उपविजेताको टोलीको पनि टुङ्गो लाग्नेछ।  

बुधबार बहराइनमाथि ८ विकेटको फराकिलो जित निकाल्ने क्रममा भृत्य अरविन्द र रोहन मुस्तफाको अर्धशतक अर्थपूर्ण रह्यो। यससँगै समूह ‘बी’ को युएई ४ खेलमा ३ जित र १ हारको नतिजासहित ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। पराजय व्यहोरेको बहराइन समान खेलमा १ जित, २ हार र एक खेलमा अंक बाँड्दै ३ अंकका साथ चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

मूलपानी क्रिकेट मैदानमा बहराइनले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य युएईले २७.४ ओभरमा २ विकेट गुमाउँदै भेटाउन सफल भएको थियो। दोस्रो विकेटका लागि अरविन्द र मुस्तफाले अविजित ९९ रनको साझेदारी गरेका थिए। युएईका लागि अरविन्दले ८४ बलमा ५ चौका र १ छक्काको मद्दतमा अविजित ६२ तथा मुस्तफाले ५६ बलमा ५ चौका र १ छक्काको मद्दतमा अविजित ५० रन बनाएका थिए। बहराइनका लागि दुवै विकेट अब्दुल माजिदले लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको बहराइनले ४० ओभरमा सबै विकेट गुमाएर मात्र १ सय १६ रन बनाएको थियो। बहराइनका अली दाउदले अविजित २३, कप्तान हैदर बटले २३, अब्दुल मिजादले ११, इमरान अनवरले १४ र वासिम अहमेदले १२ रन जोडे। कसिलो बलिङ गरेको युएईका आयन अफ्जल खानले १० ओभरमा ७ मेडनसहित ६ रन खर्चिएर ४ विकेट लिए। त्यस्तै रोहन मुस्तफा र कार्तिक मैयप्पनले समान २ तथा जाहुर खानले १ विकेट लिए।

प्रकाशित: १४ वैशाख २०८० ००:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App