८ वैशाख २०८१ शनिबार
खेल

अन्नपूर्ण आधारशिविरबाट सुरु भई घान्द्रुक झर्नेगरि अन्नपूर्ण म्याराथन गरिँदै

अन्नपूर्ण म्याराथन। फाइल तस्बिरः नागरिक

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न साहसिक खेल गतिविधि ‘अन्नपूर्ण म्याराथन’ आयोजना गर्ने तयारी भएको छ। खेल पर्यटन मार्फत साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित अन्नपूर्ण पदयात्रा क्षेत्रलाई समेटेर बनेको सेन्चुरी पर्यटन व्यवस्थापन समितिले अन्नपूर्ण म्याराथन आयोजना गर्न लागेको हो। म्याराथनले पर्यटनमा नयाँ आयाम थप्ने विश्वास स्थानीय पर्यटन व्यवसायीले गरेका छन्।

कोरोना भाइरस संक्रमणका कारण अघिल्ला दुई वर्ष अन्नपूर्ण म्याराथन हुन पाएको थिएन। कोरोनाको कहरले सबै क्षेत्रलाई सन्त्रास बनाउँदा म्याराथन पनि प्रभावित भएको थियो। कोरोनाले गर्दा पर्यटन क्षेत्र अझ बढी प्रभावित हुन पुग्दा म्याराथनले नियमितता पाउन सकेको थिएन। तर, अब कोरोना भाइरस संक्रमण कमजोर भएपछि अन्नपूर्ण क्षेत्र खेल पर्यटनमार्फत पाहुना भित्र्याउने अभियानमा जुटेको आयोजकले बताएको छ।

आयोजकका अनुसार आगामी जेठ २० गते (२०८० जेठ २०)मा तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन आयोजना गर्ने निर्णय गरेको समितिका अध्यक्ष ललित गुरुङले सुनाए। ‘कोरोनाले गर्दा अघिल्ला संस्करण गर्न पाएनौ। अब राम्रो होला की भनेर फेरि प्रयास गर्दैछौ,’ गुरुङले भने,‘साहसिक पर्यटक भित्र्याउने एउटा गतिलो कार्यक्रम गर्ने चाँजो मिलाएका छौ। यसले पर्यटनमा पक्कै पनि सकारात्मक गति दिने विश्वास छ।’

अन्नपूर्ण क्षेत्र विशेष गरी पदयात्राको लागि प्रख्यात छ। साहसिक पर्यटक भित्र्याउनका लागि पूर्वमा एभरेष्ट म्याराथनजस्तै गण्डकी क्षेत्रमा अन्नपूर्ण म्याराथन सुरु गरिएको हो। अन्नपूर्ण हिमालको फेदी आधार शिविरबाट दौड सुरु भई कास्कीको पर्यटकीय गाउँ घान्द्रुक झरेर म्याराथन समापन हुनेछ। झण्डै ४२ सय मिटरको उचाईबाट धावकहरु ओर्लिँदै घान्द्रुक आइपुगेर टुग्याउनेछन्।  

दुई महिनापछि सुरु हुने म्याराथनको लागि आवश्यक आन्तरिक गृहकार्य सुरु भईसकेको उनले बताए। विभिन्न देशका धावकलाई समेत यो म्याराथनमा सहभागी गराउने लक्ष्य आयोजकको रहेको छ। स्वदेशी र विदेशी धावकसहितको म्याराथनमा उकाली र ओराली हुँदै उच्च हिमाली भेगबाट तल झर्ने भएकोले निकै नै साहसिक मानिने अध्यक्ष गुरुङको भनाई छ।

अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसको सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथन आयोजना गरिदैं आएको समितिले जनाएको छ। घान्द्रुक पर्यटन व्यवस्थापन समितिको संयोजनमा आयोजित छलफलमा स्थानीय पर्यटन व्यवसायीले म्याराथनलाई सफल पार्न एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अन्नपूर्ण आधारशिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्द्धन गर्न विगतमा निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन हुँदै आएको थियो। प्रतिकूल परिस्थितिका कारण गत वर्षका कार्यक्रम स्थगित भएपनि यस पटक पूर्वनिर्धारित समय अनुसार नै कार्यक्रमलाई निरन्तरता दिइने समितिका सचिव मिकास गुरुङले बताए।  

२०७५ फागुन १५ को हिमपातबाट अन्नपूर्ण आधारशिविरका होटलमा पुगेको क्षति, नेपाल भ्रमण वर्ष २०२० घोषणा भए लगत्तै अन्नपूर्ण पदयात्रा मार्ग अन्तर्गत हिन्कु केभ क्षेत्रमा झरेको हिम पहिरोका कारण भएको दुःखद घटना र विश्वव्यापी कोभिड–१९ को संक्रमण र त्यसको नियन्त्रण लागि अपनाइएको निषेधाज्ञाका कारण त्यस क्षेत्रको पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको समितिले उल्लेख गरेको छ। अर्थतन्त्रमा समेत गम्भीर असर परेको व्यवसायीले बताउँदै आएका छन्। पर्यटन क्षेत्रलाई धराशायी हुन नदिन विशेष राहत प्याकेज कार्यक्रम सञ्चालन गरी अर्थतन्त्रको सवलीकरण गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग विशेष अनुरोध गर्ने निर्णय समेत समितिले गरेको जनाएको छ।

प्रकाशित: १२ चैत्र २०७९ ११:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App