१६ चैत्र २०८० शुक्रबार
खेल

प्रदेश सरकारद्वारा दीपेन्द्र र भीमलाई पुरस्कार

सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही दुई लाख रूपैयाँ नगद पुरुस्कार दिने भएको छ।

दीपेन्द्र र भीम सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने खेलाडी हुन्। प्रदेश सरकारले आफ्नो क्षेत्रका क्रिकेटरद्वयलाई जनही दुई लाख रूपैयाँ दिने घोषणा गरेको हो। विश्वकप लिग–२ अन्तर्गत युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्न सफल भएको नेपाली महत्वपूर्ण सदस्य ऐरी र सार्कीलाई प्रदेश सरकारले पुरस्कार दिने घोषणा गरेको मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव धीरेन्द्रबहादुर शाहीले बताए।

सरकारका मन्त्रीसँगको सल्लाहमा मुख्यमन्त्री शाहले शनिबार भीम र दीपेन्द्रसहित क्रिकेटरलाई कुल ६ लाख पुरस्कार दिने घोषणा गरेका हुन्। सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने अन्य क्रिकेटरलाई पनि पुरस्कार दिइने भएको छ।

नेपाली टोलीका अर्का सदस्य सन्दीप जोरालाई १ लाख, लिग–२ मा नै नेपाली टोलीको अन्तिम १८ मा पर्न सफल सुदूरपश्चिमका खेलाडीद्वय कमलसिंह ऐरी र अर्जुन साउदलाई पनि जनही ५० हजार रूपैयाँ पुरस्कार दिइने घोषणा गरेको मुख्यमन्त्रीका स्वकीय सचिव धीरेन्द्रबहादुरले जानकारी दिए।

 गत बिहीबार मात्र कीर्तिपुर मैदानमा नेपालले निर्णायक खेलमा संयुक्त अरब इमिरेट्(युएई) लाई डकवर्थ लेविसका आधारमा ९ रनले हराउँदै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको हो। सुदूरपश्चिम सरकारले यसअघि यु–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउन सफल सुदूरका खेलाडीलाई जनही एक लाख पुरस्कार दिने घोषणा गरेको थियो।

नेपाली यु–१९ टोली गत महिना नै युएईमा सम्पन्न एसिया छनोटमा अपराजित रहँदै च्याम्पियन भएको हो। नेपाल सन् २०२४ मा हुने आइसिसी यु–१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो। सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयबाट उक्त टोलीमा प्रतिनिधित्व गरेका आफ्ना प्रदेशका पाँच क्रिकेटरलाई जनही एक लाख तथा प्रशिक्षक र व्यवस्थापकसहित चार जनालाई जनही ५० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो। यु–१९ क्रिकेट टोलीमा सुदूरपश्चिमबाट दीपक बोहरा, दीपक बोहरा (बी), मिलन बोहरा, हेमन्त धामी र आकाश चन्द सहभागी थिए। मुख्य प्रशिक्षक जगत टमाटा, सहायक प्रशिक्षक धीरेन्द्र चन्द, व्यवस्थापक विक्रम विष्ट र फिजियो पुरन तिरुवा पनि सुदूरपश्चिमकै हुन्।  

प्रकाशित: ५ चैत्र २०७९ ०३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App