७ वैशाख २०८१ शुक्रबार
खेल

मनाङको उत्कृष्ट पुनरागमन

एपिएफविरुद्ध गोल गरेपछि मनाङ मर्स्याङ्दीका खेलाडी। तस्बिर सौजन्य: एन्फा

विभागीय टोली एपिएफ क्लबमाथि २–१ को पुनरागमन जित निकाल्दै मनाङ मर्स्याङ्दी फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचाैं चरणसम्म अपराजित यात्रा कायम राखेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा मनाङले १–० ले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित निकालेको हो। जारी लिगमा मनाङ र चर्च ब्वाइज मात्र अपराजित टोली हुन्। लयमा रहेको एपिएफविरुद्ध जित निकाल्दा मनाङका कमल थापा र सेदजामोल दाभ्लातजोनोभले १/१ गोल गरे।

एपिएफका लागि अर्मान्ड बिडोमले एक गोल गरेका थिए। ३३औं मिनेटमा नवीन लामाको पासमा अर्मान्डले हेडरमार्फत गोल गर्दै अग्रता दिलाए पनि एपिएफले जोगाउन सकेन। ५२औं मिनेटमा कमलले गोल गर्दै मनाङलाई खेलमा फर्काए। सुमित श्रेष्ठले एपिएफका बिकी तामाङलाई बिट गर्दै दिएको पासमा कमलले उत्कृष्ट गोल गरे।

७२औं मिनेटमा उज्बेकिस्तानका विंगर सेदजामोलले गोल गर्दै मनाङको जित पक्का गराए। जारी लिगमा तीन जित र दुई बराबरीको नतिजा ल्याएको मनाङ ११ अंकसहित दोस्रो स्थानमा छ। समान खेलबाट शीर्ष स्थानको सातदोबाटोको १२ अंक छ।

तेस्रो स्थानको चर्च ब्वाइजको पनि समान खेलबाट ११ अंक छ। एपिएफ भने पाँच खेलबाट सात अंक जोड्दै छैटौं स्थानमा छ। शनिबार नै च्यासल फुटबल मैदानमा दीपक गुरुङले इन्जुरी समयमा गरेको गोलमा त्रिभुवन आर्मी फुटबल क्लबले फ्रेन्ड्स क्लबमाथि २–१ को जित निकाल्यो। जारी लिगमा आर्मीको यो दोस्रो जित हो।

छैटौं मिनेटमा टोरिक जिब्रिनले उपलब्ध गराएको पासलाई रफिक अमिनुले सदुपयोग गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए। त्यसपछि रक्षात्मक देखिएको फ्रेन्ड्सविरुद्ध आर्मीले २४औं मिनेटमा बराबरी गोल फर्कायो। दीपक गुरुङको पासमा जिलेस्पीजंग कार्कीले हेडरमार्फत बललाई जाली चुमाए। दोस्रो हाफमा पनि आर्मीले आक्रामक रणनीतिलाई निरन्तरता दियो। इन्जुरी समयमा दीपकले गोल गर्दै आर्मीको जित सुनिश्चित गराए। पेनाल्टी बक्समा क्लियर हुन नसकेको बललाई दीपकले जाली चुमाएका हुन्। त्यसअघि संकटा र न्युरोड टिम (एनआरटी) सँग बराबरी खेलेको आर्मीले साबिकको विजेता मच्छिन्द्रलाई हराएको थियो।

तर, विभागीय डर्बीमा भने आर्मी एपिएफसँग स्तब्ध हुन पुग्यो। सातदोबाटो र खुमलटारसँग पराजय ब्यहोरेको फ्रेन्ड्स थ्री स्टारसँग बराबरी खेल्दा जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो। समान पाँच खेलबाट आर्मीको ८ अंक र फ्रेन्ड्सको चार अंक छ। नेपाल पुलिस क्लबले एनआरटीसँग १–१ को बराबरी खेल्दै जारी लिगमा अंक खाता खोल्यो। यस अघि पुलिसले लगातार चार खेलमा हार बेहोरेको थियो। पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन। दोस्रो हाफमा एनआरटीले सुरुआती अग्रता लियो।

६४औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका सन्जीव विष्टले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाए। पेनाल्टी क्षेत्रभित्र पुलिसका डिफेन्डरबीच तालमेल नमिलेको अवस्थामा पुलिसकै गोलकिपर सन्जित श्रेष्ठले पनि नियन्त्रणमा लिन नसकेको बललाई सञ्जीवले खाली पोस्टमा जाली चुमाएका हुन्। तर, ७५औं मिनेटमा प्रताप गुरुङले गोल गर्दै पुलिसलाई खेलमा फर्काए। प्रतापले उत्कृष्ट फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै पुलिसलाई खेलमा फर्काएका हुन्।

तर, बाँकी समयमा दुवै तर्फबाट गोल हुन सकेन र पुलिसले पहिलो अंक प्राप्त गर्‍यो। यो बराबरीपछि पुलिसले लिगको अंकतालिकामा एक अंक जोड्यो। एनआरटीको भने पाँच खेलबाट दुई अंक भएको छ। यससँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पाँचौं चरणका खेल सकिएका छन्। पाँच खेलपश्चात् सातदोबाटो युथ क्लब १२ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा छ। पुलिस र एनआरटी पुछारबाट पहिलो र दोस्रो स्थानमा छन्।  

प्रकाशित: ५ चैत्र २०७९ ०२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App