५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

चर्च ब्वाइज र मच्छिन्द्रबीच गोलरहित बराबरी

चर्च ब्वाइजविरुद्ध बल अगाडि बढाउने क्रममा मच्छिन्द्रका अभिषेक गुरुङ (रातो)। तस्बिर सौजन्य: क्यान

यसै सिजन बढुवा हुँदै स्टार खेलाडीलाई अनुबन्धित गरेको चर्च व्वाइज युनाइटेड र डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

च्यासल मैदानमा भएको खेलमा स्टार खेलाडीले भरिएको चर्च व्वाइजले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसक्दा डिफेन्डङ च्याम्पियनसँग अंक बाँड्न बाध्य भएको हो। स्पष्ट अंक निकाल्ने रणनीतिका साथ आक्रामक फुटबल खेलेका दुवै टोली अंग्रपंक्तिमा चुकेका थिए।

यस बराबरीसँगै चर्च ब्वाइजले पाँच खेलमा ११ अंक जोड्दा मच्छिन्द्रको समान खेलबाट पाँच अंक भएको छ। मच्छिन्द्रले नवप्रवेशीसँग अंक खोस्न असफल हुँदा तालिकामा अगाडि चढ्न कठिन भएको छ। प्रतिस्पधात्मक बनेको खेलमा ११औं मिनेटमा चर्च ब्वाइजले पहिलो अवसर खेर फाल्न पुगेको थियो। आशिष चौधरीले प्रहार गरेको बल पोस्ट बारमा लाग्दै बाहिरिएको थियो।

२७औं मिनेटमा आशिष चौधरीले उपलब्ध गराएको पासमा आशिष चापागार्इं पेनाल्टी क्षेत्रमा चुके। खेलको ३१औं मिनेटमा मच्छिन्द्रका उत्सव राईको प्रहार सेकेन्ड बारनजिकैबाट चर्च ब्वाइजका गोलकिपर प्रिसोले उत्कृष्ट बचाउ गरे। खेलको ४०औं मिनेटमा मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठको कर्नर प्रहारमा देवेन्द्र तामाङको टार्गेटले सही दिशा लिन सकेन। ४२औं मिनेटमा पूजन उपरकोटीले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि मच्छिन्द्र १० खेलाडीमा समेटिएको थियो। पूजनले चर्च ब्वाइजका जोसेफ बेम्पालाई कुहिनोले प्रहार गरेपछि रेफ्री नवीन्द्र महर्जनले सिधै रातो कार्ड देखाएका थिए।

दोस्रो हाफमा १० खेलाडीमा समेटिएको मच्छिन्द्रले दर्जनांै प्रयास गरे पनि गोल गर्न असफ रह्यो। ५५औं मिनेटमा आशिष चौधरीको पेनाल्टी बक्सभित्रको प्रहार फितलो रह्यो। बाँकी समयमा मच्छिन्द्रले रक्षात्मक खेल्दा चर्च ब्वाइजको आक्रामक रणनीति विफल नै रह्यो र खेल गोलरहित बराबरीमा टुङ्गिएको हो। लिगका सुरुआती तीन खेलमा क्रमशः नेपाल पुलिस क्लब, एफसी खुमलटार र हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै चर्चा कमाएको चर्च ब्वाइज चौथो खेलमा भने संकटासँग गोलरहित बराबरीमा रोकिएको थियो।

उता सुरुआती दुई खेलमा क्रमशः जावलाखेल र त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजय बेहोरेको मच्छिन्द्रले तेस्रो खेलमा मनाङ मस्र्याङदी क्लबलाई गोलरहित बराबरीमा रोकेको थियो भने चौथो खेलमा मछिन्द्रले विभागीय टोली नेपाल पुलिस क्लबलाई हराएको थियो। उपाधि दावेदार मानिएको मच्छिन्द्रले जारी लिगमा अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेको छैन।

लिगअन्तर्गत शुक्रबार नै एन्फा मैदानमा भएको अर्को खेलमा जावलाखेल युथ क्लबले थ्री स्टार क्लबमाथि १–० को रोमाञ्चक जित निकालेको छ। यो जित जावलाखेलका लागि जारी लिगमा तेस्रो भएकोे छ। नियमित कप्तान सीमान्त थापा अघिल्लो खेलमा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि उनीबिना खेलेको जावलाखेलका लागि एन्कोटो मासोबीले १६औं मिनेटमा गरेको गोल नै निर्णायक भएको हो। जितसँगै जावलाखेलले ५ खेलमा १० अंक जोडेको छ। थ्री स्टारले ५ खेलमा ७ अंक जोडेको छ।

लिगमा शनिबार पाँचौं चरणका अन्तिम तीन खेल हुनेछन्। च्यासल मैदानमा फ्रेन्ड्स र त्रिभुवन आर्मी क्लबबीच खेल हुँदा विभागीय टोली नेपाल पुलिस र न्युरोड टिम एनआरटीबीच दशरथ रंशगालामा खेल हुनेछ। दुवै खेल साढे २ बजे हुनेछन्। यस्तै दरशथ रंगशालामा साढे ५ बजे मनाङ  मस्र्याङ्दी र विभागीय टोली एपिएफबीच तेस्रो प्रतिस्पर्धा हुनेछ।  

प्रकाशित: ४ चैत्र २०७९ ०३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App