१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

मेघालय विष्फोट घटना : खोटाङका अर्का युवकको पनि निधन, शव नेपाल ल्याउन समस्या

कोइलाखानी विष्फोटमा बेपत्ता दुर्छिमका रत्न। तस्बिर : सामाजिक सञ्जाल

तीन दिनअघि भारतको मेघालयस्थित कोइलाखानीमा विस्फोटनमा परि घाइते भएका खोटाङका अर्का व्यक्तिको पनि निधन भएको छ। विष्फोटमा परि खोटाङका एकाघरका दुई युवाको घटनास्थलमै निधन भएको थियो। यस्तै घाइते भएका तीनमध्ये थप एकको उपचारका क्रममा निधन भएको हो।

विष्फोटमा परि बाराहापोखरी गाउँपालिका १ सालघारी भन्ज्याङका २७ वर्षीय पूर्णराम खपाङ्गीमगर र उनकै भाइ २४ वर्षीय सुरेन्द्र खपाङ्गीमगरले घटनास्थलमै ज्यान गुमाएका थिए। बाराहापोखरीकै तीन घाइते र एक जना बेपत्ता थिए। घाइते तीनमध्ये नरबहादुर खपाङ्गीमगरको आइतबार उपचारका क्रममा निधन भएको आफन्तजनलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

खानीभित्र कोइला काट्दै गर्दा भएको विष्फोटमा परि खोटाङकै हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राई भने बेपत्ता छन्। बेपत्ता रत्नको नागरिकता प्रमाणपत्र, डायरी र मोबाइल भने कोठामै भेटिएको छ। बेपत्ता रत्नको खानीभित्रै जलेर ज्यान गएको हुनसक्ने अनुमान उनीसँगै काम गर्ने साथीहरूले गरेका छन्।

उनका सहकर्मी भोजपुरका एक आफन्तका अनुसार रत्न खानीभित्र पसेको समयमै विस्फोट भएको भन्ने खबर आएको छ। विष्फोटपछि उद्धार टोलीले कोइलाखानीभित्र भेटिएका शवहरू आगोले डढेर चिन्न नसक्ने अवस्थामा भएकाले सनाखत गर्न कठिन भइरहेको आफन्तलाई बताएका छन्।

विस्फोटमा परि बरापोखरी गम्भीर घाइते भएका सालघारीकै ४६ वर्षीय कर्णबहादुर खपाङ्गीमगर, सोही ठाउँ भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गीमगर र उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेका ४० वर्षीय ललित लुङ्गेलीमगरको उपचार भइरहेको छ। उनीहरूको मेघालयकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको सँगै काम गर्ने बराहपोखरी वालम्पाका ताराबल मगरले बताएका छन्।

विष्फोटका बेला खानी बाहिर रहेका ताराबलले नै घटनाबारे टेलिफोन गरी परिवारलाई जानकारी गराएको आफन्तले बताएका छन्। कोइलाखानी विस्फोटमा ज्यान गुमाउनेको संख्या हालसम्म २७ पुगेको सञ्चार माध्यमले जनाएका छन्।

यसैबीच मृतकहरूको शव मेघालयबाट नेपाल ल्याउन समस्या भइरहेको परिवारले जनाएका छन्। घटनाबारे जानकारी पाएपछि बराहापोखरी गाउँपालिकाको सहयोगमा घरबाट हिँडेका आफन्त तीन दिन लगाएर मेघालय पुगेको तर शव नेपाल ल्याउन कानुनी र व्यावहारिक दुवै कारण समस्या भइरहेको आफन्त प्रकाश खपाङ्गीले बताए।

शव नेपाल ल्याउन समस्या भइरहेकै बेला अर्कातिर गम्भीर घाइतेको उपचार गर्ने खर्च अभावले पिरोलेको छ। घाइतेको उपचार गर्न आफन्त र साथीभाइले सहयोग सङ्कलन अभियान सुरु गरेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजानका देश/विदेशमा रहने नेपालीसँग सहयोगका लागि परिवारले आह्वान गरेका छन्।

प्रकाशित: २६ माघ २०८२ १३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App