ललितनारायण राजवंशीको बलिङ र कप्तान रोहित पौडेलको ब्याटिङ प्रेरणामा नेपालले विश्वकप लिग–२ मा आइतबार संयुक्त अरब इमिरेट्स (युएई) माथि कीर्तिमानी जित निकाल्दै एकदिवसीय मान्यता जोगाएको छ।
सन् २०१८ को मार्च १५ मा एकदिवसीय मान्यता पाएको नेपालले अ थप चार वर्षका लागि यसलाई जोगाएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा नेपालले युएईमाथि १ सय ७७ रनको जितसहित सीधै विश्वकप छनोट खेल्ने सम्भावना पनि कायमै राखेको हो। २ सय ४९ रनको लक्ष्य पछ्याएको युएईलाई ७१ रनमा समेट्दै नेपालले लिग–२ मा १७औं जित निकाल्यो।
एकदिवसीय क्रिकेटमा नेपालको यो सबैभन्दा फराकिलो जित हो भने युएईका लागि दोस्रो फरालिको हार रह्यो। यसअघि सन् २०२१ मा नेपालले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध १ सय ५१ रनको जित निकालेको थियो। त्यो नै नेपालका लागि फराकिलो अन्तरको जित थियो, जुन आइतबार सुधार भयो।
लिग–२ को पछिल्ला १० खेलमा ९ जित निकालेपछि नेपालले एकदिवसीय मान्यता जोगाउँदै सीधै विश्वकप छनोटको सम्भावना जीवन्त राख्यो। भारतका मोन्टी देशाई गत माघ २३ गते नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि नेपालले एक मात्र हार मार्च २ मा युएईसँग बेहोरेको थियो। त्यसबाहेक देशाईको प्रशिक्षणमा नेपाल ९ जित निकाल्दै सात राष्ट्र सम्मिलित विश्वकप लिग–२ को चौथो स्थानमा उक्लियो। देसाई प्रशिक्षणमा आउनुअघि २४ खेलबाट १८ अंकसहित छैटौं स्थानमा रहेको नेपालको एकदिवसीय मान्यता र सीधै विश्वकप छनोट सम्भावना पनि संकटमा थियो।
त्यसमाथि राष्ट्रिय टोलीभित्र एकता नहुनुले पनि नेपाली क्रिकेट थप कठिन अवस्थामा थियो। आफूले प्रशिक्षण समालेदेखि नै उनले ‘ह्याप्पी ड्रेसिङ रूम’ भन्दै आएका थिए। सोहीअनुरूप उनले टोलीमा एकता ल्याएको नेपालको नतिजाले स्पष्ट पारेको छ। लिग–२ मा दुई खेल बाँकी छँदा नेपालले ३४ खेलबाट ३६ अंक बटुल्यो। बाँकी खेलमा जित निकाले लिग–२ को तेस्रो स्थानमा रहँदै नेपालले सीधै विश्वकप छनोट खेल्न पाउनेछ। ३६ खेल पूरा गरिसकेका स्कटल्यान्ड ५० अंक र ओमान ४४ अंकसहित शीर्ष दुईमा रहँदै सीधै विश्वकप छनोटमा स्थान बनाइसकेका छन्।
अब तेस्रो स्थानका लागि नामिबिया र नेपालको सम्भावना छ। ३६ खेल खेलिसकेको नामिबिया ३९ अंकसहित तेस्रो स्थानमा छ। नेपालले बाँकी खेलमा जित निकाल्दा नामिबिया चौथो स्थानमा झर्नेछ। आइतबार कीर्तिमानी जितसहित नेपाल अमेरिकालाई पछि पार्दै चौथो स्थानमा उक्लिएको हो। अमेरिकाको ३६ खेलबाट ३५ अंक छ। नेपालको जितमा कप्तान रोहितको धैर्यपूर्ण ब्याटिङ र स्पिनर ललितले उत्कृष्ट बलिङ गरे। २२/३ को नाजुक अवस्थाबाट ब्याटिङ गरेको नेपालले उत्कृष्ट पुनरागमन गर्यो र ४९.२ ओभरमा अलआउट हुनुअघि २ सय ४८ रनको योगफल बनायो।
बलिङमा पनि नेपालका स्पिनर ललित, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी चम्किए र युएई अहिलेसम्मकै न्यून योगफलमा समेटियो। अर्को छेउबाट तीव्र गतिका बलर सोमपाली कामीले पनि उत्कृष्ट बलिङ गर्दै युएईमाथि दबाब बनाए। तीन ब्याटरले मात्र दोहोरो अंकमा रन जोड्दा पाहुना टोली २२.५ ओभरमा ७१ रनमै आउट भयो। जुन युएईका लागि एकदिवसीय क्रिकेटकै सबैभन्दा न्युन योगफल रह्यो।
नेपालको धैर्यपूर्ण ब्याटिङ
टस जितेर ब्याटिङ गरेको नेपालको सुरुआत पनि राम्रो हुन सकेन। घरेलु टोलीका शीर्ष तीन ब्याटर आसिफ सेख शून्यमा, कुशल भुर्तेल ८ र कुशल मल्ल ९ रनमा आउट भए। यससँगै ७.१ ओभरमा नेपाल २२/३ को नाजुक अवस्था पुग्यो। तर, नेपालले धैर्यता गुमाएन।
त्यसपछिका ब्याटर रोहितले अर्धसतक पूरा गर्दा भीम सार्की, आरिफ सेख, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले ब्याटिङ योगदान दिए र नेपालले मध्यम योगफल खडा ग¥यो। रोहितले ९ चौकासहित ७७ रन बनाए। आरिफले ५ चौकासहित ४३ रन जोडे। गुल्सनले ३७ रन र दीपेन्द्रले ३४ रन जोड्दा नेपालले उत्कृष्ट पुनरागमन गर्यो।
बलिङमा पनि सनसनी
एकदिवसीय मान्यता जोगाउन जितको विकल्प नरहेको युएईले खाता नखोल्दै विकेट गुमाउन पुग्यो। नेपालका प्रशिक्षक देसाईले आइतबार दुई खेलाडी परिवर्तन गर्दा गुल्सन र ललितलाई अवसर दिएका थिए। जुन निर्णय सही साबित भयो। पहिलो ओभरमै बलिङ पाएका ललितले पाँचौं बलमा युएईका ओपनर भृत्य अरविन्दलाई शून्यमा बोल्ड गर्दै उत्कृष्ट सुरुआत दिलाए। सुरुआतदेखि नै दबाबमा परेको युएई समालिनै सकेन।
आयन खानको २९ रन, आश्वन्त भलथापाको १४ रन र कार्तिक मयप्पनको ११ रन नै युएईका लागि दोहोरो अंकको व्यक्तिगत स्कोर रह्यो। नेपालको बलिङसामु युएई निरीह बन्न बाध्य भयो। ललितले पाँच विकेट निकाल्दा सन्दीपले दुई तथा सोमपाल, गुल्सन र दीपेन्द्रले १/१ विकेट लिँदै युएईको इनिङ धराशयी बनाए।
प्रकाशित: २९ फाल्गुन २०७९ ००:५३ सोमबार