त्रिभुवन आर्मी क्लब काठमाण्डौंले ७ औं हराईजन राष्ट्रिय बास्केटवल प्रतियोगिताको उपाधि जितेको छ।
धरान १७ स्थित निम्न माविको बास्केटवल कोर्टमा सम्पन्न फाइनल खेलमा १००–७० स्कोरको अन्तरमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउदै आर्मीले उपाधि जितेको हो। आर्मी र पुलिसले प्रत्येक क्वार्टरमा १८–१६, २६–२२, ३५–११ र २१–२१ स्कोर गरेको थियो । तेस्रो क्वार्टरको खेलमा आर्मीले ठुलो अन्तरले अग्रता लिएपछि पुलिस पराजित हुनपुग्यो। आर्मीका निश्चल महर्जनले व्यक्तिगत २३ स्कोर गरेका थिए।
विजेता आर्मीले ट्रफीसहित नगद १ लाख ११ हजार ५ सय ५५ रुपैया हात पारेको छ भने उपविजेता पुलिस क्लबले ५५ हजार ५ सय ५५ रुपैया पाएको छ । प्रतियोगिताको जुंगे मामा मोष्ट भ्यालुएवल प्लेयर (एमभिपि) आर्मीका निश्चल महर्जन घोषित हुदै नगद १० हजार र ट्रफी हात पारे । यस्तै, फाइनल खेलको म्यान अफ दि म्याच आर्मीका रविन खत्री घोषित हुदै नगद ३ हजार र ट्रफी हात पारे भने बेष्ट कोच पनि आर्मीका पुर्णबहादुर खड्का घोषित हुदै नगद ३ हजार र ट्रफी पाए । उदयीमान खेलाडीको पुरस्कार आयोजक हराईजन क्लबका सर्वधन राई घोषित भए । उनले नगद ५ हजार र ट्रफी पाए।
आयोजक क्लबले पत्रकार लक्ष्मण थापालाई नगद ५ हजार सहित सम्मान पत्र पनि प्रदान गरेको थियो । समापन कार्यक्रममा ज्येष्ठ नागरिकहरु बिश्ना बहादुर राई, रणबहादुर सुनुवार, रत्नबहादुर राई, इन्द्रकुमारी राई र आशा राईलाई सम्मान पनि गरिएको थियो । खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष श्रीभक्त राई, कार्यक्रमका प्रमुख अतिथि उपमेयर अइन्द ्बिक्रम बेघा, वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई प्रविण, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीलगायतले पुरस्कार वितरण गरेका थिए।
प्रकाशित: २७ फाल्गुन २०७९ १४:१७ शनिबार