१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

शुक्रलाई दोस्रोपटक सुर्य नेपाल वेष्र्टन ओपनको उपाधि

सुर्य नेपाल गल्फ टुर

पार ६९ को हिमालयन गल्फ कोर्षमा अन्तिम दिन उत्कृष्ट प्रदर्शन गरेपछि शुक्रबहादुर राईले सुर्य नेपाल गल्फ टुर अन्तर्गत सुर्य नेपाल वेष्टर्न ओपन गल्फको उपाधि जितेका छन्। उनले पोखरा १४ छिनेडाडाँस्थित कोर्षमा अन्तिम दिन ५ अण्डर ६४ को कार्ड बनाएपछि उपाधि जित्न सफल भएका हुन्।

दुईदिनसम्म ४ ओभर १४२ को स्कोरमा टुग्याउँदै अन्तिम दिन उपाधि प्रतिस्पर्धामा रहेका राईले शुक्रबार उत्कृष्ट सट खेल्दै ५ अण्डरको ६४ कार्ड बनाए। ५४ होल समाप्तीमा उनले १ अण्डर २०६ को कार्ड बनाउँदै दोस्रो पटक उपाधि जितेका हुन्। उनले २० औं संस्करणको सुर्य नेपाल वेष्टर्न ओपन जित्दा ६ अण्डर २०१ को स्कोर थियो।साविक विजेता एमेच्योर गल्फर सुभाष तामाङलाई दुई स्ट्रोकले पछि पारे। राईले ट्रफीसहित नगद १ लाख ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। 

राईले फ्रन्ट नाईन एक अण्डर ३३ मा पुरा गरे। व्याक नाईन चार अण्डर ३१ मा टुंग्याए। दोस्रो होलमा बोगी खेपेका राईले तेस्रो होलमा बर्डी हिर्काउँदै स्ट्रोक जोगाए। पाँचौ होलमा फेरी बोगीकै सामना गरे। छैटौं होलमा बर्डी हिर्कउँदै पूर्ति गरे। फ्रन्ट नाईनको अन्तिम होलमा बर्डी हिर्काउँदै एक अण्डरसहित व्याक नाईनलाई सुखद बनाउने लक्ष्यमा देखिए। व्याक नाईनको १० होलमा पार खेल्दै सुखद रहे। १२ औं, १४ औं र १५ औं होलमा बर्डी हिर्काउँदै अन्तिम दिनको १८ होल टुंग्यउँदा ५ अण्डर ६४ को स्कोरमा रहे। हिमालयन गल्फ कोर्षमा पाँच अण्डर उत्कृष्ट प्रदर्शन थियो। 

एमेच्योर गल्फर सुभाष तामाङले अन्तिम दिन भने लय गुमाए। उनले २ ओभर ७१ को कार्ड बनाएपछि उपाधिबाट विमुख हुन पुगे। दोस्रो दिनमा चार अण्डर ६५ को कार्ड बनाउँदै उपाधि रक्षामा देखिएका उनले अन्तिम लय समाउन सकेनन्। फ्रन्ट नाईन एक ओभर ३५ खेले। व्याक नाईन पनि एक ओभर ३६ मा पुरा गरेपछि उपाधि उनको हातबाट फुत्किन पुग्यो। 

भुवन नगरकोटी र सन्जय लामा दोस्रो स्थानमा रहँदै पुरस्कार राशी बाँडे। दुवैले तीन ओभर २१० को कार्ड बनाए। नगरकोटीले अन्तिम दिन फ्रन्ट नाईन इभन पार खेल्दा व्याक नाईन भने तीन ओभर ७२ मा टुंग्याएका थिए। पहिलो होलमा बोगी खेप्दै खेलको शुरुवात गरेका उनले तेस्रोमा पनि बोगी नै खेपे। तर चौथो र छैटौं होलमा बर्डी हिर्काउँदै लयमा फर्किए। १२ औं, १५ औं र १६ औंमा बोगी खेपेपछि उनी सन्जय लामासँग टाई खेल्दै नगद ७८ हजार ५ सय रुपैयाँ पुरस्कार थापे। 

सन्जय लामाले अन्तिम दिन आशलाग्दो सट हिर्काउन सकेनन्। फ्रन्ट नाईन ३ ओभर ३७ मा टुग्याएका थिए। तर व्याक नाईन भने सम्हाल्ने क्रममा एक अण्डर ३४ को कार्ड बनाए। समग्रमा ३ ओभर २१० को स्कोरसहित नगद पुरस्कार ७८ हजार ५ सय रुपैयाँ प्राप्त गरे। जयराम श्रेष्ठले पाँच ओभर २१२ मा टुग्याउँदै चौथो बने। उनले नगद ५५ हजार प्राप्त गरे। रामे मगरले छ ओभर २१३ स्कोरसहित ४७ हजार नगद पुरस्कार थापे। भुवनकुमार रोकाले ९ ओभर २१६ को कार्डसहित छैटौं स्थानमा रहेर ४० हजार ५ सय रुपैयाँ पाए। दिनेश प्रजापतिले ११ ओभर २१८ को कार्डसहित सातौं स्थानमा रहे। उनले नगद पुरस्कार ३७ हजार प्राप्त गरे। आठौं स्थानमा दलबहादुर लामा र धनबहादुर थापाले १२ ओभर २१९ को कार्ड बनाउँदै नगद पुरस्कार ३३/३३ हजार बाँडे। रवि खड्का र निरज तामाङले पनि १० औं स्थानमा टाई खेल्ने क्रममा १३ ओभर २२० को कार्ड बनाए। उनीहरुले २८ हजार ५ सय रुपैयाँ पुरस्कार थापे। 

एमेच्योर तर्फ पोखराका अजित विक दोस्रो स्थानमा रहे। उनले १५ ओभर २२२ को कार्ड बनाए। पोखराका व्यवासायिक गल्फर भूबहादुर गुरुङ भने घरेलु कोर्षमा २२९ को कार्डसहित १५ औं स्थानमा रहे। उनले २१ हजार ५ सय रुपैयाँ प्राप्त गरे। कमल तामाङ १६ औं स्थानमा रहँदै २० हजार रुपैयाँ प्राप्त गरे। नेपाल प्रोफेसनल गल्फर संघको आयोजनामा सञ्चालित प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतिस्पर्धा हुने छ। 

प्रकाशित: १२ फाल्गुन २०७९ १०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App