८ वैशाख २०८१ शनिबार
खेल

खेलाडीलाई लिग खेल्न स्वदेश फर्कन आग्रह

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले अवसर खोज्दै विदेश पलायन भएका खेलाडीलाई फागुन १९ बाट आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फर्किन आग्रह गरेका छन्।  

एक महिनापछि काठमाडौंमा आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राईले खेलाडीलाई लिग खेल्न स्वदेश फर्कन आग्रह गरे। चर्चित खेलाडी देशभित्र फुटबल गतिविधि नभएर बाहिरिनु दुखद भएको र आगामी वर्षदेखि खेलाडीलाई व्यस्त गराउने तालिका एन्फाले बनाएको भन्दै विदेश पलायन नहुन आग्रह गरेका हुन्।  

‘खेलाडीको जीविकोपार्जन निश्चितताका लागि एन्फाले कार्यक्रम बनाएको छ। अब खेलाडीले रहरले मात्र फुटबल खेल्नुपर्ने अवस्था हुनेछैन। भविष्य खोज्न विदेश नरोज्न खेलाडीलाई हाम्रो अग्राह छ,’ एन्फा महासचिव राईले भने, ‘एन्फाको राजनीति एक तरिकाले चलिरहे पनि अर्को तरिकाले फुटबल गतिविधि रोकिन्न। खेलाडी बिदेसिनुलाई एन्फाले गम्भीर रूपमा लिएको छ। म विदेशमा रहेका खेलाडीलाई लिग खेल्न नेपाल फर्कन आग्रह गर्छु।’

पछिल्लो समय एन्फाले फुटबलको मुख्य प्रतियोगिताका रूपमा हेरिएको ‘ए’ डिभिजन लिग समयमा नै नगर्दा खेलाडीले विकल्प खोज्न बाध्य भएका थिए। एन्फा र क्लबबीच पनि विवादका कारण शीर्ष डिभिजनको लिग समयमा हुन सकेको थिएन। राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राई शुक्रबार अस्ट्रेलिया प्रस्थान गरेका छन् भने यसअघि राष्ट्रिय टोलीबाट खेलिसकेका २ दर्जन बढी खेलाडी अस्ट्रेलिया पलायन भइसकेका छन्।  

मुख्य प्रायोजकका रूपमा कतार एयरवेजसँग छलफल भइरहेको अवस्थामा पनि राईले लिगको एकमहिने काउन्टडाउन सुरु भएको र केही प्राविधिक काम बाँकी रहेको जानकारी दिँदै ५० प्रतिशत तयारी सकिएको बताएका हुन्। यद्यपि अहिलेसम्म लिगको मुख्य प्रायोजकका रूपमा कुनै पनि प्रायोजक जोडिएको छैन। राईले अघिल्लो संस्करणको कतार एयरवेजसँग मौखिक रूपमा छलफल भएको बताएका छन्। उनका अनुसार मुख्य प्रायोजन सम्बन्धमा निश्चितता भने छैन। राईले देशले आर्थिक मन्दीबाट गुज्रिरहेका कारण त्यसको असर क्लबहरूमा समेत परेको बताए।  

‘विश्वका अधिकांश लिगमा सम्बन्धित फुटबल संघले निर्देशन मात्र दिने हो,’ राईले भने, ‘प्राइभेट कम्पनीलाई लिग सञ्चालनको जिम्मेवारी दिने प्रचलन छ। एनएसएल गर्ने भन्ने सहमति भइसकेको छ। त्यो पनि प्राइभेट कम्पनीले आयोजना गर्न लागेको हो। हामी पनि त्यसको छलफलमा छांै। अहिले हामीसँग क्लबलाई दिइएको निर्देशन मानेनौ भनेर कारबाही गरिहाल्न सक्ने अवस्था छैन। एन्फाले क्लबलाई निर्देशन दिने भए पनि क्लबको पनि विशेष भूमिका छ।’  

फागुन १९ देखि आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको यो संस्करण तीन मैदानमा आयोजना हुँदै छ। एन्फाले यसपछि डबल राउन्ड रोबिनको आधारमा सञ्चालन गर्ने यसअघि नै जानकारी दिएको छ। लिग दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुँदै छ र मैदान मर्मतको काममा एन्फामा जुटिरहेको छ। तयारी सम्बन्धमा आयोजना भएको पत्रकार सम्मेलनमा एन्फाका लिग निर्देशक सञ्जीव मिश्रले विश्वभर लिगको तालिका पहिले नै सार्वजनिक गर्ने प्रावधान भए पनि पहिलो पाँचांै चरणसम्मको खेलतालिका सार्वजनिक भइसकेको जनाए। पाँचांै चरणको खेलपछि फिफा र राष्ट्रिय टोलीका विभिन्न मैत्रीपूर्ण खेल भएकाले बाँकी तालिका सार्वजनिक नगरेको बताए। यद्यपि मिश्रले क्लबहरूलाई  तालिका प्रदान गरिसकेको बताएका छन्।

लिगका लागि १४ वटै क्लबले नाम दर्ता गराइसकेको एन्फाले जनाएको छ। यस्तै सबै क्लबले तयारी खर्चको पहिलो किस्ता १५ लाख लिएको एन्फाले जनाएको छ। एन्फाले लिगको तयारीका लागि ‘ए’ डिभिजनका प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रूपैयाँ उपलब्ध गराउनेछ। डबल राउन्ड रोबिन लिग प्राणालीमा आयोजना हुने लिगको विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रूपैयाँ पाउनेछन्। यसतै फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख पुर्‍याइएको छ भने मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रूपैयाँ पाउनेछन्। प्रत्येक खेलको विजेता क्लबले म्याच मनीबापत ५० हजार रूपैयाँ प्राप्त गर्नेछ। बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ। हरेक खेलको म्यान अफ दी म्याचले १० हजार रूपैयाँ पाउनेछन्।  

प्रकाशित: २१ माघ २०७९ ०१:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App