२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

च्याम्पियन बन्ने लक्ष्यका साथ तयारी

दक्षिण एसियाली राष्ट्रको प्रतिष्ठित प्रतियोगिता साफ फुटबलअन्तर्गतको महिला यु–२० को  चौथो संस्करण बंगलादेशको ढाकामा आयोजना हुँदै छ। माघ २० देखि २६ गतेसम्म बंगलादेशको ढाकास्थित मोस्ताफा कमल रंगशालामा चार टोलीले प्रतिस्पर्धा गर्दै छन्। उक्त प्रतियोगिताका लागि नेपाली टोली उपाधि लक्ष्य राखेर प्रशिक्षण गरिरहेको छ। उपविजेताभन्दा माथि उक्लिन नसकेको नेपालले प्रतियोगितामा उपाधिको लक्ष्य राखेर तयारीको तीव्रता दिइरहेको हो।  

फेब्रुअरी पहिलो साताबाट आयोजना हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित भारत, भुटान र नेपालले सहभागिता जनाउँदै छन्। सोही प्रतियोगिताका लागि सबै देशले तयारीलाई तीव्रता दिइरहँदा नेपाली टोली पनि तयारीलाई तीव्रता दिइरहेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा नेपाली टोलीले दिनहुँ ३÷४ घन्टा अभ्यासमा व्यस्त रहँदै आएको छ। अघिल्ला संस्करण साफ यु–१८, साफ यु–१९ नामबाट आयोजना हुँदै आएको यो प्रतियोगिता अहिले भने यु–२० बाट हुँदै छ। अघिल्लो इतिहास हेर्दा उपविजेताभन्दा माथि उक्लिन नसकेको नेपाली महिला टोली ढाकामा आयोजना हुने चौथो संस्करणमा च्याम्पियन बन्ने लक्ष्यका साथ तयारीलाई तीव्रता दिइरहेको मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले बताए। तीन साताअघिबाट अभ्यासमा जुटेको नेपाली टोलीले कठिन अभ्याससँगै केही घरेलु टोलीसँग मैत्रीपूर्ण खेलबाट अभ्यास बटुलेको छ। मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले तीन साताको अभ्यासबाट टोलीको प्रदर्शनमा उल्लेख्य सुधार आएको भन्दै चौथो संस्करणमा बलियो भारतसहित बंगलादेश र भुटानविरुद्ध राम्रो खेल खेल्ने अपेक्षा राखेका छन्।

‘तीन साताको अभ्यासबाट टोलीको प्रदर्शनमा उल्लेख्य सुधार आएको छ। पहिलोदेखि नै भारत बलियो टोली छ। यसबाहेक बंगलादेश र भुटान पनि उदाउउने क्रममा छन्,’ मुख्य प्रशिक्षक गुरुङले भने, ‘सुरुआती १५ दिनमा टेक्निकल विषयमा र मैत्रीपूर्ण खेलबाट खेलाडीको प्रदर्शनमा सुधार आएको छ। अहिले खेलशैलीको बारेमा अभ्यास गराइरहेको छु। फर्मेसन परिवर्तन गर्दै खेलाउने सोचमा थिएँ। तर छोटो अवधि भएकाले पुरानै शैलीलाई नै निरन्तरता दिनुपर्ने भएको छ।’

यस्तै राष्ट्रिय टोलीमा नियमित सदस्य रहँदै आएकी प्रीति राईले पनि प्रतियोगिताको तयारी विगतको भन्दा भिन्न र राम्रो भएको प्रतिक्रिया दिइन्। प्राविधिक र मानसिक दुवै पक्षमा केन्द्रित रहेर अभ्यास गरिरहेकाले ढाकामा हुने प्रतियोगिता समग्र टोलीका लागि सुखद हुने प्रीतिले बताइन्।  

‘प्रतिस्पर्धी टोली भारतमा यु–१७ विश्वकप खेलिसकेका अनुभवी खेलाडी छन्। हाम्रो तुलनामा उनीहरूसँग धेरै अनुभव छ। साथै बंगलादेशको टोलीमा विभिन्न प्रतियोगितामा अनुभव बटुलेका खेलाडी छन्,’ मिडफिल्डर प्रीतिले भनिन्, ‘प्रतिस्पर्धी टोलीसँग अनुभवी खेलाडी भए पनि नेपाली टोलीले स्वाभाविक खेलबाट सुखद नतिजाको लक्ष्य राखेर तयारी गरेको छ। राम्रोभन्दा राम्रो खेलेर हामी उपाधि ल्याउने लक्ष्यमा छौं।’

कुनै समय दक्षिण एसियामा बलियो टोलीमा गनिने नेपाली टोलीले अन्य दक्षिण एसियाली टोलीको तुलनामा अघि बढ्ने नसकेको केही पछिल्ला प्रतियोगिताका नतिजाबाट प्रस्ट छ। सँगै एन्फाले योजनाअनुरूप प्रतियोगिता सञ्चालन गर्न नसक्दा खेलाडी अनुभव लिने मौकाबाट टाढिरहेका छन्। प्रतियोगिता आयोजना हुने निश्चिततासँगै अभ्यास थालनी गर्ने प्रचलन पुरानै हो। नतिजा टाढिरहेको अवस्थामा प्रशिक्षक यामप्रसाद गुरुङले नेतृत्व तहबाट नै महिला टोलीको खेलस्तर सुधार गर्न ठोस कार्यक्रम नहुनु विडम्बना भएको बताए।

‘हामीले हाम्रो स्तर गुमाइरहेका छौं। हाम्रो तुलनामा अन्य देशले स्तर सुधारका लागि विभिन्न कार्यक्रम बनाउँदै जोड गरिरहेका छन्। तर एन्फा र सरकारबाट महिला टोलीको स्तर सुधारका लागि ठोस योजना बन्नै सकेको छैन,’ प्रशिक्षक गुरुङले भने। चौथो पटक सहभागिता जनाउन लागेको प्रतियोगिताको तालिका पनि सार्वजनिक भइसकेको छ। सार्वजनिक तालिकाअनुसार नेपालले पहिलो खेल बंगलादेशसँग फेब्रुअरी ३ मा खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ भने सोही दिन भारत र भुटानबीच पनि खेल हुनेछ। त्यसको दुई दिनपछि फेब्रुअरी ५ मा नेपालले भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिगको अन्तिम खेल खेल्नेछ। सिंगल राउन्ड रोबिन प्रणालीमा आयोजना हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ५ माघ २०७९ ०१:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App