काठमाडौं– नेपाली पौडी खेलाडी गौरिका सिंह रियो ओलम्पिक खेल्नुअघि नै चर्चामा छिन्। ६ महिनाअघि भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि ऐतिहासिक सफलता दिलाएकी गौरिका यसपटक उमेरका कारण चर्चामा छिन्।
शुक्रबारबाट १० हजार बढी खेलाडीको सहभागितामा ब्राजिलमा सुरु हुने रियो ओलम्पिकमा उनी सबैभन्दा कान्छी खेलाडी भएका कारण चर्चामा रहेकी हुन् ।
रियो पुगेका नेपाली ओलम्पिक तयारी टोलीका संयोजक नीलेन्द्र श्रेष्ठले ओलम्पिकको सोमबार प्रकाशित बुलेटिनमा गौरिका सबैभन्दा कम उमेरकी खेलाडी भएको उल्लेख गरेका छन् । गौरिकाले ओलम्पिकमा आइतबार १ सय मिटर ब्याक स्ट्रोकको हिट्समा प्रतिस्पर्धा गर्नेछिन् । त्यही दिन उनी १३ वर्ष २ सय ५५ दिन पूरा हुने छिन् ।
रोयटर्ससँग कुरा गर्दै गौरिकाले पहिलोपटक सुन्दा विश्वास गर्न गाह्रो भएको बताएकी छन् । ‘मेरो उमेर सानो छ । तर म नै रियो ओलम्पिकमा सबैभन्दा कम उमेरकी छु भन्दा विश्वास लागेको थिएन,’ मातापितासँगै बेलायत बसोवास गरिरहेकी गौरिकालाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ, ‘मैले महिना दिनअघि थाहा पाउँदा अचम्म लागेको थियो ।’
गतवर्ष वैशाख १२ को विनाशकारी भूकम्पमा नेपालमा रहँदाको अवस्थालाई पनि रोयटर्ससँगको कुराकानीमा गौरिकाले स्मरण गरेकी छन् । ‘त्यो साँच्चै डरलाग्दो अवस्था थियो । हामी पाँचौं तलामा थियौं,’ उनले सम्झिइन्,‘ भाग्यवश, अरु घरजस्तो हाम्रो घर भत्किएन ।’
आफ्नो रियो ओलम्पिकको सबैभन्दा कान्छी खेलाडी भएमा गर्व गर्दै गौरिकाका पिता पारसले भने, ‘उनी विशेष छिन् । उनी रियो ओलम्पिककी कान्छी खेलाडीभन्दा विश्वास गर्ने गाह्रो लागिरहेको छ । अब उनले ओलम्पिकको दबाब कसरी खेप्छिन् त्यो हेर्नुछ ।’
रियो ओलम्पिक न्युज सर्भिसका खेलकुद संवाददाता इयान चान्दबन्दले श्रेष्ठलाई नेपालमै हुँदा इमेलमार्फत गौरिका यसपटक ओलम्पिकको सबैभन्दा कम उमेरकी खेलाडी हुनसक्ने अनुमान गरेका थिए । तर थुप्रै देशका खेलाडीको सूची पक्का नभइसकेको कारण श्रेष्ठले त्यसलाई सार्वजनिक गरेका थिएनन् ।
दुई वर्षको उमेरबाट परिवारसाथ बेलायत बस्दै आएकी गौरिकाले ६ महिनाअघि १२ औं सागमा नेपालाई एक रजतसहित ४ कांस्य पदक दिलाएकी थिइन् । सागमा नेपाललाई व्यक्तिगत पदक दिलाउने गौरिका पहिलो खेलाडी हुन् । उनले २०० मिटर व्यक्तिगत मिड्लेमा रजत तथा ५०, १०० र २०० मिटर ब्याकस्ट्रोकमा कांस्य जितेकी थिइन् । दुई वर्षअघि नेपाल आएर पौडीका राष्ट्रिय प्रतियोगिता खेल्ने क्रममा गौरिकाले ३० पटक राष्ट्रिय कीर्तिमान भंग गरेकी थिइन् ।
नेपालले ओलम्पिकमा भाग लिएको ५० वर्ष पूरा भइसकेको छ । सन् १९६४ को टोकियो ओलम्पिकबाट सुरु भएको नेपाली खेलाडीको ओलम्पिक यात्रा यसपटक आइपुग्दा ५२ वर्ष पूरा भएको छ । यसबीचमा दुई नेपाली खेलाडीले मात्र छनोट चरण पार गरेर ओलम्पिकमा भाग लिएका थिए । छनोट हुँदै तेक्वान्दोकी संगीना वैद्यले २००४ को एथेन्स ओलम्पिक र दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिकमा एसियाको प्रतिनिधित्व गरेका थिए । त्यसबाहेक अहिलेसम्म ओलम्पिक भाग लिने खेलाडीले युनिभर्सियालिटी प्लेसस या वाइल्र्ड कार्डका आधारमा ओलम्पिक अनुभव बटुल्दै आएका छन् ।
यसपटक भाग लिने नेपाली ७ खेलाडीमध्ये ४ जना युनिभर्सियालिटी प्लेसेस र ३ जनाले वाइल्ड कार्डका आधारमा रियो ओलम्पिक खेल्ने अवसर पाएका हुन् । पौडीका गौरिका र शिरीष गुरुङ तथा एथलेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराई युनिभर्सियालिटी प्लेससका आधारमा रियो पुगेका हुन् । त्यस्तै जुडोकी फुपुल्हामु खत्री, तेक्वान्दोकी निशा रावल र आर्चरीका जितबहादुर मोक्तानले वाइल्ड कार्ड पाएका हुन्।
प्रकाशित: १९ श्रावण २०७३ ०२:१४ बुधबार