७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

२२ औं आहा रारा पोखरा गोल्डकप: भुटनिज युथ स्पोर्टस फाइनलमा

तेज तामाङ र भुटनिजका हेक्टर ओर्टेगा बलको लागि प्रतिस्पर्धा गर्दै। तस्बिर: उमेश पुन/नागरिक

पहिलो हाफमा आक्रमण र दोस्रो हाफमा रक्षात्मक रणनीति सफल भएपछि लामो यात्रा तय गरेर पोखरा आइपुगेको भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका फाइनल प्रवेश गर्दै इतिहास कोरेको छ। पहिलो हाफको अतिरिक्त समय(४५ प्लस ३ मिनेट)मा भुटनिज युथ स्पोर्टसले गोल गरेपछि उपाधि उचाल्ने सपना साँचेको चर्च ब्वाईज युनाईटेडको गोल्डकप यात्रा सुखद हुन सकेन्।

पहिलो हाफमा चर्च ब्वाईजलाई निकै अत्याएको भुटनिजले उत्कृष्ट प्रदर्शन गर्दै फिनिसिङ गरेपछि चर्च ब्वाईजले दश खेलाडीमा प्रतियोगिता टुग्यायो। प्रविन बस्नेतको फ्लिक पासलाई सदुपयोग गर्दै रोजिन प्रजापतिले निर्णायक गोल गरे। उनको गोलसँगै पाहुना टोली २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको फाइनल प्रवेश गर्यो। दोस्रो सहभागितामै उपाधि नजिक पुग्दै इतिहास कोरेको भुटनिजले शनिबार उपाधिको लागि संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ।

चर्च ब्वाईजले भुटनिजका डिफेण्डर लाईनलाई पटक पटक आक्रमणको रणनीति बुन्दै कटाउने गरेको प्रयास असफल बन्यो। पहिलो हाफमा निकै अफेन्सिफ खेल प्रदर्शन गरेको भुटनिजले पहिलो गोलको स्कोर निकालेपछि दोस्रो हाफ पूर्ण रुपमा रक्षात्मक रणनीतिमा उत्रिएको थियो। खेलको ८४ औं मिनेटमा आशिष चौधरीले दोहोरो पहेलो कार्ड(रातो कार्ड) खाँदै मैदान छाडेपछि चर्च ब्वाईज दश खेलाडीमा सीमित भएको थियो।

खेलको १४ औं मिनेटमा भुटनिजका लागि धिरज थाजली फ्रिकिकलाई मिगेल पालाफक्सको हेडरलाई चर्च ब्वाईजका गोलकिपरले उत्कृष्ठ बचाउ गरे। चर्च ब्वाईजले पनि २५ औं मिनेटमा अवसर सृजना गर्यो। आशिष चौधरीको प्रहारलाई हेक्टर ओर्टेगाको खुट्टामा लाग्दै फर्किएको थियो। चर्च ब्वाईजले पहिलो हाफमा बुनेको एकमात्र मुथ थियो। भुटनिजका अग्ला डिफेण्डर सामु चर्च ब्वाईजले एयर बल खेल्दा घातक हुन पुग्यो। निर्णायक गोल गरेका भुटनिजका रोजिन प्रजापतिले म्यान अफ दि म्याचको पुरस्कार प्राप्त गरे।

दश खेलाडीमा सीमित भएको अवस्थामा भुटनिजले दुई पटक महत्वपूर्ण अवसरलाई गुमायो।  ८५ औं मिनेटमा प्रविन बस्नेतको हेडपासमा थोमस साकेरको प्रहार पनि चर्चका गोलकिपर गिरीले उत्कृष्ट बचाउ गरेका थिए। ८७ औं मिनेटमा मिगेल पालाफक्सकोले प्रहार गरेको बललाई चर्चका गोलकिपर किशोर गिरीले पन्च सेभ गर्दै मनोबल उच्च बनाई राखे। दोस्रो हाफको अतिरिक्त समयमा तेज तामाङले पेनाल्टी क्षेत्रबाट पाएको सुनौलो अवसरलाई क्रसबारभन्दा माथिबाट बललाई बाहिर पुर्याए। त्यो अवसरलाई चुकाएपछि चर्च ब्वाईजले फाईनल खेल्ने सम्भावना क्षीण भएको थियो।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा रहेको २२ औं आहा रारा पोखरा गोल्डकपको उपाधिको लागि संकटा र भुटनिज युथ स्पोर्टस क्लब बीच शनिबार प्रतिस्पर्धा हुने छ। विजेता क्लबले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छ। उत्कृष्ट खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने छ । उत्कृष्ट पाँच विधाकाले नगद पुरस्कार प्राप्त गर्ने छन्।  

प्रकाशित: २१ पुस २०७९ ११:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App