८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

जनकपुर रोयल्स प्लेअफनजिक

जनकपुर रोयल्सले सोमबार फार वेस्ट युनाइटेडमाथि फराकिलो जित निकाल्दै जारी नेपाल ट्वान्टी–२० लिगको प्लेअफमा सम्भावना बलियो बनाएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा फार वेस्टमाथि ८२ रनको जितसहित लिगमा पाँचौं सफलता निकाल्दै जनकपुर रोयल्स प्लेअफनजिक पुगेको हो। यसअघि लुम्बिनी अल स्टार्सले प्लेअफमा स्थान बनाइसकेको छ भने अब बाँकी तीन टोलीका लागि स्थान बाँकी छ। यता, लिगको ६ खेलमा चौथो हार बेहोरेको फार वेस्टको प्लेअफ सम्भावना भने कठिन भएको छ। डबल राउन्ड रोबिन लिगमा चार खेल बाँकी छँदा पुछारको फार वेस्ट शीर्ष चार स्थानका लागि चार अंकले पछि छ।  

लिगमा कुल १० खेल समाप्तिमा शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछन्। सन्दीप जोराको अर्धशतकमा जनकपुरले निर्धारित २० ओभर खेल्दै सात विकेटको क्षतिमा १ सय ६२ रनको लक्ष्य प्रस्तुत गर्‍यो। जुन लक्ष्य पछ्याएको फार वेस्ट खराब ब्याटिङ गरेपछि १५.१ ओभरमा ७९ रनमै समेटियो। जनकपुरका बलरले विकेटसँगै किफायती बलिङ गर्दै फार वेस्टलाई सस्तैमा रोके। पहिलो ओभरमा नै फार वेस्टले ओपनर देव खनाललाई १ रनमै गुमायो। त्यसपछि आएका कप्तान हस्मतउल्लाह शाहिदीले दोस्रो विकेटका लागि ओपनर भीम सार्कीसँग ३२ रनको साझेदारी गरे।

यो नै फार वेस्टका लागि सर्वाधिक ठूलो साझेदारी रह्यो। पाँचौं ओभरमा भीम १२ रनमा आउट भए। त्यसपछिका पाँच ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। अफगानी ब्याटर हस्मतउल्लाहले ३२ बलमा दुई चौका र एक छक्कासहित ३२ रन जोडे। अफगानिस्तानकै समिउल्लाह अन्सारीले हस्मतलाई आउट गर्दै फार वेस्टको आठौं विकेट पतन गराए। नवौं नम्बरमा ब्याटिङ गर्न आएका रासिद खान १७ रनमा नटआउट रहे पनि फार वेस्टलाई फराकिलो हारबाट जोगाउन असफल रहे।  जनकपुरका समिउल्लाहले तीन विकेट तथा सोमपाल कामी र पवन सर्राफले समान दुई विकेट लिँदै फार वेस्टलाई सस्तैमा रोके। जितेन्द्र मुखिया, सराफुद्दिन असरफ र ललित राजवंशीको नाममा समान १-१ विकेट रह्यो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले सन्दीप जोराको अर्धशतकमा राम्रो योगफल खडा गर्‍यो। राम्रो सुरुआत गरेको जनकपुरले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरेको थियो।  

६.५ ओभरमा कप्तान ट्रेभोन ग्रिफिथ ३२ रनमा आउट हुँदा जनकपुरको पहिलो विकेट पतन भयो। खातामा थप रन नजोड्दै आठौं ओभरमा जनकपुरले अर्को विकेट पनि गुमाउन पुग्यो। अर्का ओपनर असरफ २० रनमा पवेलियन फर्किए। चाडविक वाल्टनले २४ रन जोडे। जनकपुरले १३औं ओभरमा चाडविकसँगै समिउल्लाहलाई शून्यमा नै गुमाउन पुग्यो। तर, सन्दीपले पाँचौं विकेटका लागि राजेश पुलामीसँग ६१ रनको साझेदारी गर्दै इनिङ उकासे। राजेश र सन्दीप पनि एकै ओभरमा आउट भए। राजेश १६ रन र सन्दीप ५५ रनमा आउट भएका हुन्। फार वेस्टका प्रकाश जैसीले तीन विकेट तथा भुवन कार्कीले दुई विकेट लिए। नुरु अहमदको नाममा एक विकेट रह्यो। 

प्रकाशित: १९ पुस २०७९ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App