८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

काठमाडौंको विशाल योगफल

जनकपुर रोयलविरुद्ध ब्याटिङ गर्दै काठमाडौं नाइट्सका विरनदीप सिंह। तस्बिर सौजन्य: क्यान

काठमाडौं नाइट्सले मंगलबार नेपाल ट्वान्टी-२० लिगकै विशाल योगफल जोड्दै जनकपुर रोयलमाथि ५३ रनको फराकिलो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जनकपुरविरुद्ध आक्रामक ब्याटिङ गर्दै काठमाडौंले ६ विकेट गुमाएर निर्धारित २० ओभरमा २ सय ८ रन जोड्यो। लिगमा आठ खेल सकिँदासम्म यो अहिलेसम्मकै विशाल योगफल हो। काठमाडौंका तीन ब्याट्सम्यान ओपनर विरनदीप सिंह, एलेक्स ब्लेक र अजमतउल्लाह ओमरजाईले आक्रामक ब्याटिङ गर्दै विशाल योगफलतर्फ डोर्‍याए। मलेसियन ब्याटर विरनदीपले ४९ रन र इङ्लिस ब्याटर एलेक्स ब्लेकले ८३ रन जोडे। विरनदीपले पहिलो विकेटका लागि लोकेश बमसँग मिलेर आक्रामक ब्याटिङ गर्दै काठमाडौंलाई राम्रो सुरुआत दिलाए।

यो जोडीले ३.४ ओभरमा ४१ रन जोड्यो। सराफुद्दिन असरफले लोकेशलाई १५ रनमा आउट गर्दै पहिलो सफलता दिलाए। त्यसपछि पनि काठमाडौंले आक्रामक ब्याटिङ जारी राख्यो र पावर प्लेमा ६७ रन जोड्यो। विरेनदीप ११औं ओभरमा दोस्रो विकेटका रूपमा आउट हुँदा काठमाडौंले सय रनको आँकडा पार गरिसकेको थियो। उनलाई पवन सर्राफले एलबिडब्लु आउट गरे। मलेसियन ब्याटर विरनदीपले ३४ बलमा सात चौका र एक छक्का हिर्काए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ब्लेकले विरनदीपसँग ६२ रनको साझेदारी गरे।

इनिङको अन्त्यसम्म ब्याटिङ गरेका ब्लेकले अजमतउल्लाहको मात्र साथ पाए। यो जोडीले छैटौं विकेटका लागि ४३ रनको साझेदारी गरे। अफगानी ब्याटर अजमतले १५ बलमा नटआउट ४३ रन जोडे। उनले एक चौका र चार छक्का प्रहार गरे। ४३ बल खेलेका ब्लेकले चार चौका र सात छक्का हिर्काए। पवन सर्राफबाहेक जनकपुरका सबै बलरमाथि यी तीन ब्याटर पूर्ण हाबी भए। चार ओभरमा पवनले दुई विकेट लिँदा १८ रन खर्चिए।

सोमपाल कामी, जितेन्द्र मुखिया, सराफुद्दिन र मोहम्मद आदिलले समान एक विकेट लिए पनि निकै महँगा साबित भए र काठमाडौंलाई अहिलेसम्मकै विशाल योगफलबाट रोक्न सकेनन्। विशाल योगफल पछ्याएको जनकपुर १ सय ५५ रनमा इनिङको अन्तिम बलमा समेटियो। जनकपुरका अफगानी ब्याटर समिउल्लाह सिनवारीको २९ रन नै सर्वाधिक योगफल रह्यो। खराब सुरुआत गरेको जनकपुरले तेस्रो ओभरमा नै पहिलो विकेट गुमाएको थियो।

त्यसपछिका ब्याटर पवनले २४ रन, सन्दीप जोराले २६ रन, सराफुद्दिनले १९ रन र आदिलले १६ रनबाहेक अन्यले ठूलो स्कोर बनाउन सकेनन्। काठमाडौंको बलिङमा अजमतुल्लाहले सर्वाधिक तीन विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे। बसिर अहमदले दुई विकेट तथा कमलसिंह ऐरी, अविनाश बोहरा, अनिल खरेल र सुनम गौतमले समान एक विकेट लिँदै जनकपुरलाई लक्ष्य पूरा गर्न सकेनन्। यससँगै काठमाठौंले तेस्रो खेलमा दोस्रो जित निकाल्यो। जनकपुरको पनि तेस्रो खेलमा दुई जित छ।

त्यसअघि लुम्बिनी अल स्टार्सले पोखरा एभन्जर्समाथि तीन विकेटको जित निकाल्दै तीन खेलमा शतप्रतिशत नतिजा प्राप्त गरेको छ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखराले दिएको १ सय ३४ रनको लक्ष्य लुम्बिनीले सात विकेटको क्षतिमा अन्तिम बलमा पूरा गर्‍यो। साड्ले भान स्कलक्विकले अन्तिम बलमा छक्का प्रहार गर्दै लुम्बिनीलाई जित दिलाए। जितका लागि अन्तिम ओभरमा आठ रन चाहिएको अवस्थामा प्रतीश जिसीले पहिलो बलमा अनिल साहलाई अमिर हाम्जाबाट क्याच गराए। प्रतीशले दोस्रो र तेस्रो बलमा किशोर महतोविरुद्ध डट राखेपछि पोखरा जितनजिक पुगेको थियो।

तर, चौथो बलमा किशोरले एक रन लिँदै साड्लेलाई स्ट्राइक दिए। पाँचौं बलमा साड्लेले दुई रन लिँदै जितको आशा जीवन्त राखे। लुम्बिनीलाई अन्तिम बलमा पाँच रन अवश्यक थियो। तर, भानले छक्का प्रहार गर्दै लुम्बिनीलाई रोमाञ्चक जित दिलाए। भानले ११ बलमा चार छक्कासहित अविजित ३१ रन जोडे। लुम्बिनीका कुशल भुर्तेलले ३९, उन्मुक्त चन्दले २२, अनिल साहले १९ र गुल्सन झाले १० रन बनाए। पोखराको बलिङमा कुशल मल्लले दुई विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे। त्यस्तै विपिन खत्रीले दुई तथा प्रतीश, अभिमन्यु मिथुन र जाहिर खानले समान एक विकेट लिए पनि लुम्बिनीको जित रोक्न सकेनन्।

त्यसअघि पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३३ रन जोडेको थियो। पोखराका कुशलले ३१ बलमा समान पाँच चौका र छक्कासहित सर्वाधिक ६१ रन जोडे। श्रीलंकन ब्याटर उपुल थरंगाले ५१ ब्लमा दुई चौका र एक छक्काको मद्दतमा ४२ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। तेस्रो विकेटका लागि कुशल र उपुलले ९६ रनको साझेदारी गर्दै टोलीको इनिङ उकासेका थिए। लुम्बिनीका साड्ले भानले तीन, किशोर महतो र गुल्सन झाले समान दुई तथा हरमित सिंह र सागर ढकालले समान एक विकेट लिए। यो जितसँगै लुम्बिनीले तीन खेलबाट ६ अंक जोड्यो। 

प्रकाशित: १३ पुस २०७९ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App