८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

ललितको यादगार प्रदर्शन

तस्बिर: क्यान

स्पिनर ललित राजवंशीको यादगार प्रदर्शनमा जनकपुर रोयल्सले नेपाल ट्वान्टी–२० लिगमा लगातार दोस्रो जित निकालेको दिन फार वेस्ट युनाइटेडले पनि पहिलो सफलता प्राप्त गरेको छ।

ललितको पाँच विकेट प्रेरणामा जनकपुर रोयल्सले सोमबार विराटनगर सुपर किङ्समाथि पाँच विकेटको रोमाञ्चक जित निकाल्दै दोस्रो सफलता प्राप्त गर्‍यो। यता, विराटनगरले भने ब्याटिङ र बलिङ दुवैमा राम्रो सुरुआत गरे पनि जितमा बदल्न सकेन र लगातार दोस्रो हारको सामना ग¥यो। सोही दिनको पहिलो खेलमा फार वेस्ट युनाइटेडले काठमाडौं नाइट्समाथि चार विकेटको जित निकाल्दै लिगमा पहिलो सफलता प्राप्त गरेको छ।  

जनकपुरले दोस्रो जित निकाल्दा ब्याटिङ र बलिङ दुवैमा खराब सुरुआतका बावजुद पुनरागमन गर्न सफल भयो। १३.३ ओभरसम्म विराटनगर ११३-३ को राम्रो अवस्था थियो। तर, थप २७ रन जोड्न विराटनगरले सात विकेट नै गुमाउन पुग्यो।

ललितले चार ओभरमा एक मेडन राख्दै पाँच विकेट लिए। सो क्रममा उनले ८ रन मात्र खर्चिए। उनले लयमा देखिएका जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजालाई ३८ रन र पाकिस्तानका हुसेन तलातलाई २८ रनमा पवेलियन फर्काए। विराटनगरका कप्तान आन्द्रे म्याकर्थी (१ रन) पनि ललितद्वारा नै आउट भए। त्यसपछि उनले क्रमशः पृथु बास्कोटा र नन्दन यादवलाई खाता नखोल्दै आउट गरेपछि पाँचौं विकेट पूरा गरे।  

दोस्रो ओभरमा नै ओपनर गौरन्सु शर्मालाई शून्यमा पवेलियन फर्किएपछि विराटनगरको सुरुआत राम्रो हुन सकेको थिएन। तर, दोस्रो विकेटका लागि अर्का ओपनर अर्जुन साउद र रोहित पौडेलले इनिङ समाल्ने प्रयास गरे। आदिल रासिदले अर्जुनलाई १८ रनमा पवेलियन फर्काउँदै साझेदारी तोडे।

त्यसपछि रोहितले सिकन्दरसँग ४२ रनको साझेदारी गर्दै इनिङ उकासे। तथापि, ललितले नवौं ओभरमा अनुभवी ब्याटर सिकन्दरलाई पवेलियन फर्काए। चौथो विकेटका रूपमा रोहित पौडेल ३२ रनमा आउट भएपछि भने विराटनगर समालिन नै सकेन र लगातार ६ विकेट गुमायो। निर्धारित २० ओभरभन्दा एक बलअगाडि नै समेटिएको विराटनगरले एक सय ४१ रनको लक्ष्य प्रस्तुत ग¥यो। जुन, जनकपुरले अन्तिम बलमा पाँच विकेट गुमाउँदै भेट्टायो। जनकपुरका चाडविकले सर्वाधिक ६९ रनको अविजित इनिङ खेल्दै जित दिलाए।  

उनले ५५ बलमा पाँच चौका र चार छक्का हिर्काए। कप्तान ट्रेभोन ग्रिफिथले २५ रन र सराफुद्दिन असरफले २३ रन जोडे। विराटनगरको बलिङमा हुसेन तलत, नन्दन यादव र रिजन ढकालले समान एक विकेट लिँदा अन्य बलर विकेटविहीन रहे।  

त्यस्तै कप्तान हस्मतउल्लाह साहिदीको अर्धशतकीय योगदानमा फार वेस्टले काठमाडौं नाइट्सलाई चार विकेटले हराउँदै पहिलो जित निकाल्यो। ९९ रनको लक्ष्य पूरा गर्न फार वेस्टले अन्तिम ओभरसम्म कुर्नुपर्‍यो र १९.१ ओभरमा ६ विकेट गुमायो।

साहिदीले अविजित ५० रन बनाउँदै अलराउन्ड प्रदर्शन गरे। उनले ४९ बलमा तीन चौका र दुई छक्का हिर्काए।  

देव खनालले १६ र भीम सार्कीले ११ रन जोडे। काठमाडौंको बलिङमा अनिल खरेलले दुई तथा अज्मतउल्लाह ओमरजाई, रायन बर्ल, बसिर अहमद र अविनाश बोहराले समान एक विकेट लिए पनि फार वेस्टको जित रोक्न सकेनन्।  

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९८ रनको झीनो लक्ष्य तयार पार्‍यो। काठमाडौंका एलेक्स ब्लेकले सर्वाधिक ४५ रन बनाए। उनले ३७ बलमा पाँच चौका र एक छक्का हिर्काए। कप्तान ज्ञानेन्द्र मल्लले १३ र सन्तोष कार्कीले १२ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। फार वेस्टका उमेर अलीले तीन, भुवन कार्की र हस्मतउल्लाह साहिदीले समान दुई तथा शेर मल्लले एक विकेट लिँदै काठमाडौं इनिङ धराशयी पारे। ललितले चार ओभरमा एक मेडन राख्दै पाँच विकेट लिए। सो क्रममा उनले ८ रन मात्र खर्चिए।

प्रकाशित: १२ पुस २०७९ ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App