८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

लुम्बिनीको लगातार दोस्रो जित

अर्धशतक बनाएपछि लुम्बिनीका मिलन्था तस्बिर :सौजन्य क्यान

 श्रीलंकन ब्याटर लाहिरू मिलन्थाले आइतबार पनि उत्कृष्ट ब्याटिङ गरेपछि लुम्बिनी अल स्टार्सले नेपाल ट्वान्टी–२० लिगमा लगातार दोस्रो जित निकाल्दा जनकपुर रोयल्सले पनि सुखद सुरुआत गरेको छ।  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा लुम्बिनी अल स्टार्सले आइतबार भैरहवा सुपर किङ्समाथि तीन रनको रोमाञ्चक जित निकाल्यो। जनकपुरले पनि पोखरा एभेन्जर्समाथि पाँच विकेटको जित निकाल्दै सुखद सुरुआत गरेको छ। पोखराले भने लगातार दोस्रो हार बेहोर्‍यो। यता, लुम्बिनीको भने यो लगातार दोस्रो जित हो। यसअघि पहिलो खेलमा लुम्बिनीले फार वेस्ट युनाइटेडलाई हराएको थियो। लुम्बिनीका लाहिरूले लगातार दोस्रो खेलमा पनि अर्धशतक प्रहार गरे। पहिलो खेलमा लाहिरूले ६० रन जोडेका थिए।  

भैरहवाविरुद्ध पनि लाहिरूले ८० रनको अर्धशतकीय इनिङ खेल्दा लुम्बिनी अल स्टार्सले १ सय ५८ रनको लक्ष्य प्रस्तुत गर्‍यो। जुन, लक्ष्यनजिक पुगे पनि विराटनगर सुपर किङ्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५४ रन मात्र जोड्न सक्यो। खराब सुरुआत गरेको विराटनगरका लागि हुसेन तालतले ३९, रोहित पौडेलले २५ र पृथु बास्कोटाले १८ रन जोडे पनि जित दिलाउन सकेनन्। विराटनगरलाई अन्तिम ओभरमा १६ रन आवश्यक हुँदा १२ रन मात्र बनाउन सक्यो। पहिलो ओभरको पाँचौं बलमा नै विराटनगरले ओपनर गौरान्शु शर्मालाई ८ रनमा नै गुमायो।  

त्यसपछि विराटनगरका लागि अर्जुन साउद र रोहितले ३८ रनको साझेदारी गर्दै इनिङ समाल्ने प्रयास गरे। जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजा १७ रनमा आउट हुँदा कप्तान आन्द्रे म्याकर्थी ११ रन र विवेक यादव १२ रनमा नटआउट रहे पनि जित दिलाउन सकेनन्। लुम्बिनीका लागि किशोर महतोले दुई विकेट लिँदा प्याट ब्राउन, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले १/१ विकेट लिए। त्यसअघि लुम्बिनीको पनि सुरुआत राम्रो हुन सकेन र दोस्रो ओभरमा नै ओपनर उन्मुक्त चन्दलाई २ रनमा गुमायो।  

तर, अर्का ओपनर लाहिरूले अन्तिम ओभरसम्म इनिङ समाले। उनले ६३ बलमा पाँच चौका र चार छक्का हिर्काए। त्यस्तै कुशल भुर्तेलले २६, कप्तान दीपेन्द्रसिंह ऐरीले १६ र विपुल शर्माले ११ रन बनाउँदा लुम्बिनीले सम्मानजनक योगफल बनायो। विराटनगरका नन्दन यादव, हुसेन तालत, साहब आलम, सिकन्दर राजा र आन्द्रे म्याकर्थीले समान एक विकेट लिए। यो जितसँगै दुई खेलमा शतप्रतिशत सफलतासहित लुम्बिनी अल स्टार्स शीर्ष स्थानमा रह्यो। जनकपुरले आइतबार सम्पन्न दोस्रो खेलमा पोखरालाई पाँच विकेटले पराजित गर्‍ यो।  

एक सय ३९ रनको मध्यम लक्ष्य जनकपुरले १७.४ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो। जनकपुरका सन्दीप जोराले अविजित ४० रन जोड्दै १४ बलअगावै आफ्नो टोलीलाई जित दिलाए। उनले ३० बलमा तीन छक्का र दुई चौका हिर्काए। ओपनर सागर पुनले ३८ र चाडविक वाल्टनले १९ रन जोडेपछि मध्यम लक्ष्य पछ्याएको जनकपुरको जित आधार तय भयो। पोखराका जाहिर खानले तीन तथा कप्तान शरद् भेषावकर र मौसम ढकालले समान एक विकेट लिए पनि जनकपुरको जित रोक्न सकेनन्।  

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३८ रनको झीनो योगफल तयार पार्‍यो। पोखराका लागि आसिफ शेखले ५० रनको अर्धशतकीय इनिङ खेले। उनले ३९ बलमा चार चौका र दुई छक्का हिर्काए। सिद्धान्त लोहनीले २९, प्रतीश जिसीले २८ र अमिर हम्जाले १८ रन जोडे। त्यसबाहेक अन्य ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। अघिल्लो खेलमा ४४ रन जोडेका पोखराका ओपनर उपुल थरंगा २ रनमा पहिलो ओभरको तेस्रो बलमा नै आउट आउट भए।  

त्यसपछि समालिएको पोखराले ठूलो योगफल भने जोड्न सकेन। जनकपुरका केसरिक विलियम्सले तीन विकेट लिए। त्यस्तै पवन सर्राफ, सराफुद्दिन असरफ र ललितनाराण राजवंशीले समान दुई तथा सोमपाल कामीले एक विकेट लिँदै दुई बलअगावै पोखरालाई समेटे। यो जितसँगै जनकपुरले दुई अंक जोड्दा  पोखराले लगातार दोस्रो हार बेहोर्‍यो।  

प्रकाशित: ११ पुस २०७९ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App