१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

विपक्षीका कमजोरी केलाउँदै अर्जेन्टिना र फ्रान्स

मोरक्कोविरुद्ध जित हात पार्दै फाइनलमा प्रवेश गरेपछि फ्रान्सेली खेलाडी।तस्बिर: एपी

कतारमा जारी विश्वकप फुटबलमा अर्जेन्टिना र फ्रान्स उपाधिका लागि प्रतिस्पर्धा गर्ने निधो भएसँगै दुवै टोली प्रदर्शन सुधारमा केन्द्रित भएका छन्। उपाधि भिडन्त हेभिवेट भएकाले दुवै टोली दुवैका कमजोर पक्ष केलाउँदै उपाधि उचाल्ने लक्ष्यका साथ तयारी थालिसकेका छन्।  

आगामी आइतबार दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्दा जर्मन क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) सहकर्मी किलियन एम्बाप्पे र लियोनल मेसी भिड्नेछन्। अर्जेन्टिना तेस्रो पटक उपाधिको खोजीमा हुनेछ भने फ्रान्स उपाधि रक्षाका लागि खेल्नेछ। फ्रान्सले उपाधि रक्षा गर्न सके ६० वर्षपछि विश्वकप उपाधि रक्षा गर्ने टोली बन्नेछ। बुधबार साबिक विजेता फ्रान्सले मोरक्कोलाई २–० ले स्तब्ध बनाउँदै अर्जेन्टिनासँगको भेट पक्का गरेको हो। यसअघि अर्जेन्टिना साबिक उपविजेता क्रोएसियाको चुनौती पार गर्दै उपाधिनजिक पुगेको हो। उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको फ्रान्स र अर्जेन्टिना इतिहास बनाउन ९० मिनेटले मात्र पछाडि छन्।  

लुसेल मैदानमा हुने उपाधि भिडन्तमा डिडियर डेसच्याम्प्सको टोली उच्च मनोबलका साथ मैदान उत्रिनेछ। विश्वकप यात्रामा सुखद बनाउने क्रममा फ्रान्स समूहचरणको खेलमा ट्युनिसियासँग पराजित भएको थियो। त्यसयताका सबै खेलमा सुखद नतिजा निकाल्न सफल भयो। बुधबार अफ्रिकन टोली मोरक्कोविरुद्ध जित निकाल्दा फ्रान्सका थियो हर्नान्डेज र वैकल्पिक खेलाडी रन्डाल कोलो मुआनीले अलबायत रंगशालामा गोल निकालेका थिए। हर्नान्डेजले पाँचाैं र मुआनीले ७९औं मिनेटमा गोल गरे। यी दुईको गोलसँगै पहिलो पटक सेमिफाइनल पुगेको अफ्रिकन राष्ट्र मोरक्कोको उपाधियात्रामा पूर्णविराम लाग्यो। यसअघि मोरेक्कोका लागि नौ खेल खेलाएका प्रशिक्षक वालिद रेग्रेगुईको टोलीलाई कुनै पनि टोलीले गोल गर्न सकेको थिएन भने त्यसअघि मोरक्कोले एक गोल मात्र खाएको थियो। त्यो पनि आत्मघाती थियो। तर बुधबार दुई गोल खानु नै मोरक्कोका लागि दुर्भाग्य रह्यो। गत अगस्ट ३१ मा रेग्रेगुई मोरक्कोको प्रशिक्षकमा नियुक्त भएका थिए। मोरक्कोलाई केही खेलाडीको चोट निकै महँगो भयो। एग्वेर्ड र सेन्टर ब्याक रोमेन साइस चोटका कारण बुधबार मैदानबाहिर रहे। रसिया विश्वकप २०१८ मा २० वर्षपछि उपाधि उचालेको फ्रान्सका प्रशिक्षक डेसच्याम्प्सले लगातार फाइनल पुग्न गौरव भएको प्रतिक्रिया दिए।  

‘जितले हामी भावुक र उत्तिकै खुसी पनि भएका छौं। लगातार फाइनल यात्रा तय गर्दा अर्को मत्वपूर्ण सफलता टोलीलाई मिलेको छ। अब एक चुनौती मात्र बाँकी छ,’ प्रशिक्षक डेसच्याम्पसले भने, ‘महिना दिनदेखि एकै ठाउँमा बसेर बुनेको रणनीतिले सार्थकता पाउँदै छ। खेलाडीको प्रदर्शनमा म सन्तुष्ट छु। अन्तिम सन्तुष्टि एक कदम मात्र टाढा छ।’

उता पहिलो पटक अन्तिम चारमा पुगेर बिट मारेको मोरक्को टोलीका प्रशिक्षक वालिद रेग्रेगुईले अफ्रिकन राष्ट्रको प्रतिनिधित्व गरेर समर्थक बटुल्दै राम्रो छवि छाड्नु नै टोलीको राम्रो पक्ष भएको प्रतिक्रिया दिए। अरब राष्ट्रमा फुटबल हुँदा सबै अरबीले आफूलाई साथ दिएको र मोरक्को पनि फुटबलमा बलियो राष्ट्र भएको सन्देश प्रवाह गर्न सकेको रेग्रेगुईले बताए।  

‘प्रतियोगिताभर हामीले शतप्रतिशत दिएर खेल्न सक्यौं। जुन निकै आवश्यक पक्ष थियो,’ मोरक्को प्रशिक्षक वालिद रेग्रेगुईले भने, ‘सबैभन्दा महत्वपूर्ण पक्ष भनेको अफ्रिकन राष्ट्रको प्रतिनिधित्व गर्दै हामीले धेरै समर्थक बटुल्न सक्यौं। साथै राम्रो छवि छाड्न पनि सक्यौं।’

क्लब फुटबल पिएसजीका सहकर्मी आपसमा उपाधिका लागि प्रतिस्पर्धा गर्दा गोल्डेन बुटको पनि प्रतिस्पर्धा हुनेछ। दुवैले जारी विश्वकपमा समान ५ गोल पूरा गरेका छन्। उता पछ्याइरहेका अर्जेन्टिनाका युलियन अल्भारेज र ओलिभर जिरौड समान १ गोलले पछाडि छन्। पछिल्लो संस्करणको कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनासँग जोडिएका लियोनल मेसी उपाधि उचाल्दै राष्ट्रिय टोलीबाट ओझेलमा पर्ने लक्ष्यमा हुनेछन्।

प्रकाशित: १ पुस २०७९ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App