रात चकमन्न हुन्छ। सबैतिर सन्नाटा छाउँछ। सबै नागरिक सुत्छन् तर सिरुटारका युवा भने उठ्छन्। आफ्नो गाउँ र टोलवासीलाई सुरक्षित राख्न, चोरी डकैतीबाट बचाउन यहाँका युवा आफैं गस्ती गर्न थालेपछि यहाँका सिंगो बस्ती सुतिरहँदा युवा भने उठेर रातभर गस्ती गर्ने गरेका छन्।
सूर्यविनायक नगरपालिका–१ सिरुटारका युवाले सिरुटार उपयोगी चोकदेखि माथिल्लो सिरुटार थापागाउँसम्म करिब पाँच किलोमिटर आसपास क्षेत्रमा विगत तीन दिनदेखि रातभर गस्ती सुरु गरेका स्थानीय अनुप राउतले जानकारी दिए। रातको समयमा गाउँगाउँमा अपरिचित र घरेलु हतियार बोकेका व्यक्ति प्रवेश गरेको भन्दै भक्तपुरका गाउँगाउँमा, वडावडामा स्थानीय युवाले रातभर गस्ती गर्न सुरु गरेका उनले बताए।
करिब २५ युवाले चोकचोकमा दस्ता बनाएर रातभर हातमा लाठी बोकेर गाउँको सुरक्षा गर्न खटिएका सिरुटार उपयोगी चोकका स्थानीय सचिन श्रेष्ठले जानकारी दिए। प्रहरी नियमित रूपमा आफ्नो ड्युटीमा फर्किन नसकेको र गस्ती पनि गर्न नसकेको अवस्थामा गाउँमा नयाँ व्यक्तिको आवतजावत धेरै बढेकाले सम्भावित लुटपाट, चोरी, डकैती रोक्न स्थानीयले दिउँसो चनाखो हुने र रातभर युवा दस्ता बनाएर गस्ती गर्ने गरेका छन्।
दधिकोट क्षेत्रबाट २०–२५ जना अपरिचित व्यक्ति हतियारसहित सिरुटार छिरेको जानकारी आएपछि युवा आफ्नो गाउँको सुरक्षाका लागि रातभर गस्ती सुरु गरेका छन्। प्रहरी आफैंले गस्ती गर्ने अवस्था नआएसम्म युवाले गस्ती जारी राख्ने स्थानीय अमित राउतले बताए।
उनले भने, ‘यतिखेर आफ्नो घरमात्र होइन, आफ्नो गाउँ र टोलको सुरक्षा गर्न आफैं खटिनुपर्ने बेला आएको छ, त्यसैले स्थिति सामान्य नभएसम्म हरेक दिन हामी राति पालैपालो गस्ती गर्छौं।’
सिपाडोलमा वडा तहबाटै सुरक्षा समन्वय समिति गठन गरेर गस्ती सुरु गरिएको छ। स्थानीयस्तरमा बढ्दो आपराधिक गतिविधि रोक्दै शान्ति सुरक्षा कायम गर्न वडाध्यक्ष पुष्पराज बस्नेतको संयोजकत्वमा प्रहरी बृत्त जगातिका प्रहरी नायब उपरीक्षक रमेश पाल सदस्य सचिव रहनेगरी ३३ सदस्यीय सुरक्षा समन्वय समिति गठन गरेको छ।
समन्वय समितिले स्थानीयस्तरमा आपराधिक गतिविधि नियन्त्रण गर्ने भूमिका निर्वाह गर्ने वडाध्यक्ष बस्नेतले जानकारी दिए। सूर्यविनायक–७ गुण्डुमा पनि स्थानीयले गस्ती सुरु गरेका छन्। दिउँसो अपरिचित व्यक्तिको झुण्ड गाउँगाउँमा घुमेको देखिएपछि टोलटोलमा स्थानीयले गस्ती सुरु गरेका हुन्। आज राति नयाँ मानिसको झुण्ड गाउँमा पसेपछि गुण्डुवासीले केहीलाई समातेको र केहीलाई भगाएको स्थानीयले जानकारी दिएका छन्।
प्रहरी सहज रूपमा बाहिर आएर गस्ती गर्न सक्ने अवस्था नभएपछि स्थानीय आफैंले गस्ती गर्न सुरु गरेको भन्दै दिउँसो पनि आफ्नो घर र गाउँमा सुरक्षित रहँदै चनाखो हुन जनप्रतिनिधिले आह्वान गरेको स्थानीय अमित राउतले जानकारी दिए। चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा पनि तीन दिनदेखि रातभर गस्ती गर्ने गरेको वडाध्यक्ष सोम प्रधानले जानकारी दिए। रासस
प्रकाशित: २९ भाद्र २०८२ ०७:०३ आइतबार





