२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

उदयपुरका युवकको दक्षिण कोरियामा निधन

वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका उदयपुरका एक युवकको निधन भएको छ। वर्षदिनअघि रोजगारीका लागि कोरिया छिरेका चौदण्डीगढी नगरपालिका ५ बेलहाका ३२ वर्षीय कमल चौधरीको सोमबार निधन भएको परिवारजनले बताएका छन्।

चौधरी झण्डै डेढ महिनायता कोरियाको बुसानस्थित अस्पतालमा उपचाररत थिए। आफन्तका अनुसार एक वर्षअघि भाषा परीक्षा (इपिएस) उत्तीर्ण गरेर कोरिया पुगेका चौधरीको कोमा (भेन्टिलेटर)मा राखेर उपचार भइरहेको थियो।  

नातामा साला पर्ने कोरियामै कार्यरत पुरुषोत्तम चौधरीका अनुसार सेल्टरमा एक्कासी बेहोस् अवस्थामा भेटिएपछि उनलाई एम्बुलेन्समार्फत अस्पताल भर्ना गरिएको थियो। बिरामी पर्नुभन्दा झण्डै महिनाअघि नै उनले काम भने छाडिसकेको पुरुषोत्तमलाई उद्धृत गर्दै परिवारले जनाएको छ।

कमल के कारण बेहोस् भए भन्नेबारे भने अहिलेसम्म नखुलेको परिवारले जनाएको छ। ‘पहिला काम गर्दै आएको कम्पनी महिनादिनअघि नै उनले छाडेका थिए,’ पुरुषोत्तमलाई उद्धृत गर्दै परिवारले भन्यो, ‘त्यसपछि एकैचोटी बेहोस् भएर अस्पताल भर्ना गरेकोमा होस् नखुलेपछि कोमामा राखेर उपचार भइरहेको थियो।’

पुरानो कम्पनी छाडेपछि कमल कामको खोजीका लागि सेल्टरमा बस्दै आएको पनि पुरुषोत्तमले बताएका थिए। उनका अनुसार चिकित्सकहरूले टाउकोमा रगत जमेको रिपोर्ट दिएका थिए। कोमामा रहँदा उनले बेलाबेला हातखुट्टा अलिअलि चलाउने, आँखा झिमझिम गरे पनि बोली नफुट्ने समस्या थियो।

बाउ बालक र भुथरीदेवी चौधरीका दुई छोरामध्ये जेठा कमलकी भर्खर बिवाह गरेकी पत्नी घरमा छिन्। छोराको उपचारमा १६ लाखभन्दा बढी नेपाली रुपैयाँ ऋण लिएर खर्च गरे पनि उपचार सम्भव नभएपछि चौधरी परिवार ऋण र शोकमा डुबेको छ।

छोरा बिरामी भएको कुरा कोरियास्थित नेपाली दूतावासमार्फत कमलको परिवारले जानकारी पाएको थियो। तर, निको होला भन्ने आसमा बसेको चौधरी परिवार अचानक यस्तो दुःखद घटना सुनेर स्तब्ध भएको छ। कमलको शव नेपाल ल्याउनेबारे दूतावाससँग सरसल्लाह भइरहेको स्थानीयले बताएका छन्।

प्रकाशित: ३ भाद्र २०८२ १३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App