शुक्लाफाँटा नगरपालिका-१० झलारीका युवा दसैँका अवसरमा यात्रु प्रतीक्षालय रङरोगन गर्ने कार्यमा जुटेका छन्। उनीहरू स्थानीय व्यवसायीबाट रङ र आर्थिक सहयोग जुटाई प्रतीक्षालयमा रङरोगन गर्न गरी चिटिक्क पार्ने कार्यमा जुटेका हु्न।
वर्षौंदेखि रङरोगन नभएका र जीर्ण अवस्थाका प्रतीक्षालयमा रङ लगाउने र मर्मत गर्ने कार्य भएको युवा समाजसेवी जेनल विष्टले बताए। “साझा प्रयास र सहकार्यले मात्र समृद्ध समाज निर्माण सम्भव हुन्छ। त्यसैले दसैंका बेला साथीहरूसँग रमाइलो गर्नेभन्दा समाजका लागि सिर्जनशील कार्य गरेर देखाउने छलफलपछि यस कार्यमा जुटेका हौं”, उनले भने।
वन समिति र झलारीको नयाँ यात्रु प्रतीक्षालय रङरोगन गरिएको र यस कार्यलाई दसैंपछि पनि निरन्तरता दिने योजना रहेको विष्टले बताए। उनले नगरपालिकाको पूर्व पश्चिम राजमार्ग क्षेत्रका सबै प्रतीक्षालय रङरोगन र मर्मत गर्ने योजना बताए।
यस अभियानमा व्यवसायी र स्थानीय वन समितिले पनि साथ दिएका छन्। युवाहरूले प्रतीक्षालय मात्र नभई बजार, धार्मिक तथा विद्यालय लगायत क्षेत्रमा पनि सरसफाइमा सहभागिता जनाउँदै आएका छन्। शुक्लाफाँटा नगरपालिकाका पूर्वनगर प्रमुख दिलबहादुर ऐरले युवाहरूले दसैंमा समाजका लागि अनुकरणीय कार्य गरेको बताए।
प्रकाशित: १६ आश्विन २०८२ ११:१९ बिहीबार





