जलवायु पारदर्शिता विषयमा समान धारणा बनाउन आयोजित तीन दिने युवा सम्मेलन आजदेखि यहाँ सुरु भएको छ।
जलवायु परिवर्तनसम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्यले आयोजित ‘लोकल कन्फरेन्स अफ युथ नेपाल २०२६’ मा सातवटै प्रदेशका एक सय ८० भन्दा बढी युवाको सहभागिता छ।
नेपाली युवा फर क्लाइमेट एक्सन र युथ एक्सन फर सस्टेनेबल एन्ड इको नेपालको आयोजनामा भएको सम्मेलन संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्बन्धी महासन्धि (युएनएफसिसिसी) को आधिकारिक बालबालिका तथा युवा समूहकोे समर्थनमा भएको हो।
जलवायु युवा अभियन्ता दीक्षा सुवेदीले युवाले जलवायु परिवर्तनका क्षेत्रमा क्षमता अभिवृद्धि, नीतिगत सुझाव निर्माण र स्थानीय जलवायु कार्यलाई राष्ट्रिय तथा विश्वव्यापी जलवायु प्रक्रियासँग जोड्ने विषयमा केन्द्रित रही छलफल हुने बताइन्।
सम्मेलनमा जलवायु प्रक्रियामा युवा र बालबालिकाको सहभागिता, जलवायु वित्त, परिवर्तनशील हिमाल, जलवायु उत्थानशील शिक्षा, जलवायु सशक्तीकरण, कृषि, खाद्य सुरक्षा र पोषण, खानेपानी, सरसफाइ, स्वच्छता, जल सुरक्षा तथा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण लगायत विषयमा छलफल हुने जानकारी दिइएको छ।
नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनका कारण बाढी, पहिरो, पानीको अभाव तथा हिमाली र ग्रामीण क्षेत्रमा जीविकोपार्जनमा समस्या भोगिरहेको छ।
यस्ता चुनौतीको समाधानका लागि स्थानीय स्तरमा युवाले गरिरहेका प्रयास र आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जलवायु निर्णय प्रक्रियासँग जोड्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको उनले बताए।
सम्मेलनले ‘राष्ट्रिय बालबालिका तथा युवा जलवायु परिवर्तन सम्बन्धी घोषणापत्र २०२६ तयार गर्नेछ। त्यसबाट युवाका प्राथमिकता तथा सुझाव समेटेर नेपालको राष्ट्रिय जलवायु नीति छलफल तथा विश्वव्यापी कोप प्रक्रियामा योगदान पुर्याउने लक्ष्य राखिएको छ।
सम्मेलनमा आदिवासी जनजाति, जलवायु जोखिममा रहेका तथा सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा युवा र लैङ्गिक समानताका क्षेत्रमा काम गर्ने युवाको सहभागितालाई प्राथमिकता दिइएको जनाइएको छ।
प्रकाशित: २९ श्रावण २०८३ १३:४७ शुक्रबार





