आइतबार विहान उदयपुरको बेलका नगरपालिकास्थित निर्माणाधीन पार्कमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। बेलका ६ निर्माण भइरहेको समावेशी पार्कमा झुण्डिएको अवस्थामा युवा मृत भेटिएका हुन्।
बिहान ५ः३० बजेको समयमा शारीरिक व्यायाम (मर्निङ वाल्क) गर्न निस्केका स्थानीयले मान्छे झुण्डिएजस्तो देखेर इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिालालाई खबर गरेका थिए। खबर पाएलगत्तै गएको प्रहरी टोलीले पार्कको पूर्वपट्टी काठको फलैचा (गोलघर)को सिलिङमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा युवक मृत फेला पारेका थिए।
अन्दाजी २०/२२ वर्षको जस्तो देखिने मृतक युवकको अहिलेसम्म पहिचान खुल्न सकेको छैन। टिनको छानो भएको गोलघरको बलोमा डोरी बाँधेर झुण्डिएर मृत भेटिएका युवकको शव निकालेर सर्जमिन मुचुल्का गरी पोष्टमार्टमका लागि नगर अस्पताल रामपुरमा राखिएको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले मृतकको पहिचान पत्ता नलागेकाले अनुसन्धान भइरहेको बताए। प्रारम्भिक अनुसन्धान अनुसार युवकले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको इप्रका रामपुर ठोक्शीलाका इन्स्पेक्टर मौसम उदासलाई उद्धृत गर्दै डिएसपी दोङले बताए। तर, वास्तविक कुरा भने अनुसन्धानपछि मात्र खुल्ने उनको भनाइ छ।
प्रकाशित: १५ भाद्र २०८२ १२:१९ आइतबार





