यहाँको एक युवाले तीन वर्षमा १२ हजार फलफूलका बिरुवा वितरण गरेका छन्। जिल्लाको जैमिनी नगरपालिका—२ दमेक जन्मघर भएका विद्यार्थी नेता सुजन सापकोटाले आफ्नो व्यक्तिगत खर्च र विभिन्न सरकारी कार्यालयसँगको समन्वयमा उक्त फलफूलका बिरुवा वितरण गरेका हुन् ।
विगत तीन वर्ष यता फलफूलका बिरुवा वितरण गर्दै आएका उनले अहिले १२ हजार बिरुवा वितरण गरिसकिएको र यो वर्ष अझै तीन हजार बिरुवा वितरण गरिने बताए । ‘यो वर्ष २५ सय जति बिरुवा वितरण गरिसकियो अझै तीन हजार गरेर यो वर्ष ५५ सय बिरुवा वितरण गर्ने सोचमा छु,’उनले भने,‘अघिल्ला वर्षहरूको समेत गरेर अहिलेसम्म १२ हजार बिरुवा वितरण भैसकेको छ ।’
बागलुङ क्षेत्र नम्बर १ अन्तर्गतका विद्यालय र वडाहरूमा किसानहरूलाई फलफूलका बिरुवा वितरण गरेको उनले बताए । ‘ग्रिन एण्ड प्रडक्टीभ बागलुङ अन्तर्गत विद्यालयहरूमा र कृषकहरूलाई बिरुवा वितरण गरिएको छ,’उनी भन्छन्,‘जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि पनि मैले यो अभियान थालेको हुँ ।’ अहिलेसम्म १७ वटा वडा र १८ वटा विद्यालयमा फलफूलका बिरुवा वितरण गरिएको उनले बताए । ‘यसपालि मात्रै बागलुङ क्षेत्र नम्बर १ को सिगाना, रेश, भिमापोखरा, तंग्राम, बिहुँ लगायतका क्षेत्रमा बिरुवा वितरण गरेको छु, बाँकी ठाउँमा वितरण गर्ने काम बाँकी छ,’उनले भने ।
विद्यार्थीहरूलाई वितरण गरिएको बिरुवा घरमा लगेर रोप्ने र त्यसको स्याहार सम्भार गर्ने तौर तरिका पनि उनले सिकाउने गरेको छन् । किसानलाई पनि बिरुवाको स्याहार गर्ने र हुर्काउने विधि सिकाउँदै वितरण गर्दै गरेको छन् । उनी आफै कृषिमा स्नातकोत्तर गरेका युवा भएकाले कृषि क्षेत्रलाई ध्यानमा राखेर उनले बिरुवा वितरण गरेका हुन् । ‘म आफै कृषि विषय पढेको भएकाले कृषि क्षेत्रको प्रवर्द्धन विकास गर्ने मेरो मुख्य जिम्मेवारी हो भन्ने मलाई लाग्छ,’उनी भन्छन्,‘राजनीतिक क्षेत्रमा सक्रिय भएकाले म आफैले कृषि गर्न अलि सम्भव भइरहेको छैन । मैले युवा विद्यार्थी र किसानहरूलाई यस क्षेत्रमा लाग्नका लागि प्रेरित गर्नलाई बिरुवा बाँड्ने काम गरेको छु ।’
फलफूलका बिरुवाले हरित प्रवद्र्धनसंगै उत्पादन पनि दिने भएकाले आफुले यो अभियान चलाएको उनी बताउँछन् । ‘जलवायु परिवर्तनको असरले धेरै समस्याहरू देखिन थालेका छन् फलफूलका बिरुवाले त्यसलाई नियन्त्रणका लागि पनि सहयोग पुग्नेछ र केही समयमै यसले उत्पादन पनि दिने भएकाले आम्दानी पनि हुन्छ । त्यसले गर्दा पनि फलफूलको बिरुवा वितरण गरिएको हो ।’ सापकोटाले सुन्तला, कागती, टिमुर, किवी, श्रीखण्ड, केरा लगायतको बिरुवा वितरण गरेका छन् । स्थानीय हावापानी र माटो समेत हेरेर आवश्यकताको आधारमा बिरुवा वितरण गरेको उनले बताए ।
‘किसानहरूको माग कस्तो छ, त्यसलाई हेरेर र हावापानी तथा वातावरणलाई ध्यानमा राखेर वितरण गरिएको छ,’ सापकोटा भन्छन् । एउटा बिरुवालाई २५÷३० रुपैयाँदेखि १८० रुपैयाँसम्म हालेर वितरण गरेको उनले बताए । ‘कतिपय बिरुवाको मूल्य कम कतिपयलाई अलि बढी छ,’उनी भन्छन्,‘अहिलेसम्म पाँच लाख रुपैयाँ जतिको बिरुवा आफ्नो खर्चमा वितरण गरेको छु । कतिपय बिरुवा वन कार्यालय लगायतका सरकारी निकायसँगको सहकार्य पनि वितरण गरेको छु । बिरुवा किन्न मात्रै होइन किसानसम्म पु¥याउन र वितरण गर्नसम्म पनि खर्च हुन्छ ।’
कृषकलाई उत्पादनसँग र विद्यार्थीलाई माटोसँग जोड्नका लागि आफुले प्रयास गरेको उनले सुनाए । बिस्तारै आफै नर्सरी स्थापना गरेर बिरुवा वितरण गर्ने की भन्ने सोचमा पनि उनी पुगेका छन् । ‘किनेर वितरण गर्दा खर्च बढी भएकाले आफै नर्सरी निर्माण गरेर त्यहीबाट बिरुवा वितरण गर्ने हो की भन्ने विषयमा पनि सोच्दैछु,’उनले भने ।
जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकालाई लक्षित गरेर यो काम गर्दै आएका छन् । कृषि प्राविधिक भएकोले उनले बिरुवामा लाग्ने रोग किरा देखिएमा आवश्यक पर्ने उपचार पद्धतिबारे पनि जानकारी दिने गरेका छन् । उनी नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीका स्वकीय सचिव समेत हुन् ।
प्रकाशित: ११ श्रावण २०८२ १८:०८ आइतबार





