१ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

विपद्ले दुखी बनाएको वर्ष २०८२ : पाँच सयको मृत्यु, दुई हजार घाइते

२०८२ वैशाख १ देखि चैत ३० गतेसम्म देशभर भएका विभिन्न विपद्का घटनामा परी ४९६ जनाको मृत्यु भएको छ । ३८ जना बेपत्ता भएका छन्। यो अवधिमा सात हजार ७१६ विपद्का घटना दर्ता हुँदा एक हजार ९९१ जना घाइते भएका छन्। ती घटनाबाट १३ हजार ६९३ परिवार प्रभावित भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी आगलागीका घटना भएका छन्। तीन हजार ७६८ आगलागीका घटना हुँदा १०६ जनाको मृत्यु भएको छ । ५७४ जना घाइते भएका छन्। यसबाट चार हजार ३३२ परिवार प्रभावित भएका छन्।

मानवीय क्षतिकाे हिसाबले सर्पदंश दोस्रो ठूलो कारण बनेको छ। एक वर्षमा ६२७ सर्पदंशका घटना हुँदा १०१ जनाको मृत्यु भएको छ भने ५३३ जना घाइते भएका छन्। यसबाट ६३२ परिवार प्रभावित भएका छन्। 

पहिरोका ६२४ घटना हुँदा ७६ जनाको ज्यान गएको छ। पाँच जना बेपत्ता भएका छन् भने ९२ जना घाइते भएका छन्। पहिरोबाट एक हजार ५६६ परिवार प्रभावित भएका छन्।  

पहिरोपछि विपद्का घटनामा मृत्यु धेरै हुनेको संख्या जनावर आक्रमण पर्छ। २०८२ वैशाख १ देखि चैत ३० गतेसम्म जनावरको आक्रमणबाट ५७ जनाको मृत्यु भएको छ। एक जना बेपत्ता भएका छन् भने २५१ जना घाइते भएका छन्। यसबाट ८३३ परिवार प्रभावित भएका छन्। यो वर्ष जनावर आक्रमणका ५१६ घटना भएका प्राधिकरणको तथ्याङ्क छ।  

घटनाका हिसाबले लेक लाग्ने अर्थात उचाइसम्बन्धी समस्या थोरै देखिएपनि मृत्युदर भने धेरै देखिएको छ। यो वर्ष १३४ घटनामा ४९ जनाको लेक लागेर मृत्यु भएको छ भने १०४ जना घाइते भएका छन्। यसबाट १३४ परिवार प्रभावित भएका छन्।

चट्याङका ४२६ घटनामा ४८ जनाको मृत्यु भएको छ भने ३१२ जना घाइते भएका छन्। यसबाट ५२९ परिवार प्रभावित भएका छन्।  

३९ जनाको ज्यान लिएको बाढीमा परेर २७ जना अझै हराइरहेका छन्। अरु १४ जना घाइते भए। ३२९ बाढीमा घटना हुँदा ३ हजार ३०८ परिवार प्रभावित भए। 

हावाहुरीका ४८३ घटनामा १३ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। यसबाट ९८४ परिवार प्रभावित भएका छन्। भारी वर्षाका ४४९ घटनामा सात जनाको मृत्यु हुँदा २१ जना घाइते भएका छन्। एक हजार ४४ परिवार प्रभावित भएका छन्।

हिउँपहिरोका ६ घटनामा ६ जनाको मृत्यु भएको छ, पाँच जना बेपत्ता छन् र १४ जना घाइते भएका छन्। यसबाट २५ परिवार प्रभावित भएका छन्।

वन डढेलोका ३३८ घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। यसबाट ५८ परिवार प्रभावित भएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै देशका विभिन्न जिल्लामा गरी आगलागी, वन डढेलो, लेक लाग्नु, सर्पदंश र जनावर आक्रमणका गरी २९ वटा विपद्का घटना घटेका छन्। यी घटनाबाट एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। 

यो अवधिमा एक हजार २३७ घर पूर्ण रुपमा क्षति हुँदा दुई हजार ३३ घरमा आशिंक क्षति पुगेको छ। यस्तै ८६९ गोठमा क्षति हुँदा तीन हजार ४४ पशु चौपाया मरेका छन्। यो वर्ष विपद्का घटनामा परेर दुई अर्ब १६ करोड २४ लाख ५२ हजार १३८ रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणको तथ्याङ्कले देखाएको छ। 

प्रकाशित: ३० चैत्र २०८२ १९:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App