२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

यार्सा संकटले कर्णालीका परिवारको दैनिकी धरापमा, आम्दानी घटेपछि भारत पलायनको चिन्ता

जुम्लाको पातारासी गाउँपालिका–३, हुरी गाउँका ३३ वर्षीय लालिराम बुढाले यार्सागुम्बा संकलन गर्न थालेको झन्डै १७ वर्ष भयो। हरेक वर्षजस्तै यसपटक पनि उनी जेठ २८ गते साथीहरूसँग छिमेकी जिल्ला मुगुको ठूलो मैथान पाटन पुगे। पाँच दिनसम्म कठिन हिमाली बाटो पार गर्दै करिब ३५ हजार रुपैयाँ बराबरको खाद्यान्न, बन्दोबस्तीका सामग्री र ओढ्ने–बिछ्यौना बोकेर पुगेका उनीहरूले जेठ ३ गतेदेखि यार्सा संकलन सुरु गरे।

तर असार ६ गतेसम्म उनको हातमा जम्मा ३ सय ५५ वटा यार्सागुम्बा मात्रै परे। त्यसमा पनि उचित मूल्य नपाएपछि बेच्न नसकी सबै घरमै बोकेर फर्किनुपर्यो।

‘ज्यानको बाजी राखेर डरलाग्दा भीरपाखा छिचोल्दै पाटन पुगियो। पहिलेझैँ यार्सा पाइएन,’ लालिराम भन्छन्, ‘दिनभरि पाटन डुल्दा पनि एउटा–दुईटा भेटिन्थ्यो। खर्च मात्रै बढ्दै गयो, त्यसैले असारको पहिलो सातामै फर्कियौँ।’

उनका अनुसार यस वर्ष सबै खर्च कटाएर ५० हजार रुपैयाँ बचत गर्नसमेत कठिन भयो। जबकि गत वर्ष उनले यार्साबाट ४ लाख ८६ हजार रुपैयाँ कमाएका थिए भने त्यसअघिको वर्ष ४ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेका थिए।

यार्सामै अडिएको परिवारको भविष्य

लालिरामले नौ वर्षअघि पातारासी गाउँपालिका–४ स्थित ऋणमोक्ष माध्यमिक विद्यालय, डिल्लीचौरबाट एसएलसी उत्तीर्ण गरेका थिए। तर कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा जारी राख्न सकेनन्। बाल्यकालमै बुबाको निधन भएपछि परिवारको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो। अहिले घरमा आमा, श्रीमती र एक छोरी छन्। एक भाइ भने ज्वाइँ बसेर घरबाहिर छन्।

घरको खेतीले वर्षभरि खान पुग्दैन। त्यसैले यार्सागुम्बा नै उनीहरूको मुख्य आयस्रोत बनेको छ।

‘खेतीले छ महिना पनि खान पुग्दैन,’ उनी भन्छन्, ‘एक महिना पाटनमा मेहनत गर्दा वर्षभरिको खर्च चल्थ्यो। तर यस वर्ष त्यो सम्भव भएन।’

हाल उनी जुम्ला सदरमुकाम खलंगास्थित जीएमडी बोर्डिङ स्कुलमा मासिक १३ हजार रुपैयाँ तलबमा गेटपालको काम गर्छन्। तर त्यो आम्दानीले मात्रै परिवार धान्न नसकिने भएकाले हरेक वर्ष यार्सा संकलनमा जान बाध्य छन्।

यस वर्ष पाटन प्रवेश शुल्क प्रतिव्यक्ति तीन हजार पाँच सय रुपैयाँ तिर्नुपर्यो। पाल हाल्न मात्रै पाँच हजार पाँच सय रुपैयाँ खर्च भयो। त्यसबाहेक बाटोभरि खाने चामल, पिठो, चिउरा, सातु, चाउचाउ र अन्य सामग्री बोकेर जोखिमपूर्ण यात्रा गर्नुपरेको उनी बताउँछन्।

३० हजार खर्च, हात लाग्यो १० वटा यार्सा

जुम्लाको सिंजा गाउँपालिका–६ का मनोज बुढा पनि श्रीमती कल्पनासँग दुई सातासम्म मुगुको पाटनमा बसे। करिब ३० हजार रुपैयाँ खर्च गरेर पुगेका उनीहरूले जम्मा १० वटा यार्सा मात्रै संकलन गरे।

‘छ वटा मैले पाएँ, चार वटा श्रीमतीले,’ उनले भने, ‘कतिपय दिन एउटा पनि भेटिएन। पाइए पनि एउटा मात्रै। सबै फर्किन थालेपछि हामी पनि फर्कियौँ।’

पाटनमै चिसोका कारण श्रीमती कल्पना दुई दिन बिरामी परिन्।

‘माथि भीरैभीर, तल नदी। हिउँ पन्छाएर बाटो बनाउँदै पाटन पुगियो,’ उनी भन्छन्, ‘उत्पादन कम भयो, पोटिलो यार्सा भेटिएन। त्यसैले छिट्टै फर्कनुको विकल्प रहेन।’

गत वर्ष यार्साबाट करिब ५० हजार रुपैयाँ आम्दानी गरेका उनीहरू यस वर्ष भने पाटन पुग्न लागेको खर्चसमेत उठाउन सकेनन्।

‘प्रतिगोटा दुई सय ५० देखि तीन सय रुपैयाँ मात्रै मूल्य भनियो,’ उनले भने, ‘त्यति कम मूल्यमा बेचेनौँ, घरमै ल्यायौँ।’

उनका अनुसार यार्साबाट जीविकोपार्जन गर्न नसकिने अवस्था आएपछि भारत गएर मजदुरी गर्नुबाहेक अर्को विकल्प देखिएको छैन।

शिक्षाको सपना पनि अधुरै

भर्खरै सुर्खेतबाट कक्षा १२ उत्तीर्ण गरेकी बिमा रोकाया पनि दिदी–भिनाजुसँग यार्सा टिप्न पाटन पुगेकी थिइन्। राम्रो आम्दानी गरेर कोरियन भाषा कक्षा, स्नातक अध्ययन, कोठाभाडा र अन्य खर्च जुटाउने उनको योजना थियो।

१२ हजार रुपैयाँ खर्च गरेर पाटन पुगेकी उनले जम्मा चार वटा यार्सा मात्रै भेटाइन्।

‘दुई दिनसम्म हिउँ पर्यो। जाँदा–आउँदाको दुःख त झन् छुट्टै छ,’ उनी भन्छिन्, ‘लेक लाग्ने, भीरबाट लड्ने, बिरामी हुने जोखिम मोलेर रातभरि हिँड्नुपर्छ। यस वर्ष यार्सा पनि कम भयो, मूल्य पनि पाइएन। दुई सातामै फर्किनुपर्यो, खर्चसमेत उठेन।’

गत वर्ष उनले ८४ वटा यार्सा संकलन गरेर ६० हजार रुपैयाँभन्दा बढी आम्दानी गरेकी थिइन्।

सिंजा गाउँपालिका–५ की बिस्नकली बुढाले पनि झन्डै साढे नौ हजार रुपैयाँ खर्च गरेर पाटन पुगेकी थिइन्। उनले सात वटा मात्रै यार्सा भेटाइन्। पाटनमै प्रतिगोटा दुई सय ५० देखि तीन सय रुपैयाँ मूल्य तोकिएपछि बिक्री नगरी घरमै ल्याइन्। ‘औषधि हुन्छ भनेर दाजुलाई खान दियौँ,’ उनले भनिन्।

बिस्नकलीले स्नातक पूरा गरेकी छन्। लोकसेवा आयोगको तयारी गर्ने योजना थियो। तर यार्साबाट खर्च जुटाउने सपना यस वर्ष पूरा हुन सकेन।

जलवायु परिवर्तनदेखि वन विनाशसम्मको असर

स्थानीयका अनुसार यस वर्ष पर्याप्त वर्षा नहुनु, जलवायु परिवर्तन, वन विनाश, बढ्दो मानवीय चाप, आगलागी र यार्सागुम्बाको प्राकृतिक प्रजनन क्षमता घट्दै जानुले उत्पादनमा उल्लेख्य गिरावट आएको हो।

उत्पादन घटे पनि संकलकको जोखिम भने उस्तै छ। कठिन भूगोल, अत्यधिक हिमपात, भीरपाखा, अस्थिर मौसम र असावधानीका कारण बर्सेनि संकलकको ज्यान जाने तथा घाइते हुने घटना दोहोरिने गरेका छन्।

जडीबुटी नै मुख्य आयस्रोत

जुम्लाको पातारासी, गुठीचौर, तातोपानी, तिला गाउँपालिका र सिंजा क्षेत्रका अधिकांश परिवार कृषि उत्पादनले वर्षभरि गुजारा नचल्ने भएकाले यार्सा तथा अन्य जडीबुटी संकलनमै निर्भर छन्।

लालिरामसँगै पाटन पुगेका पातारासी–३ का खेम बुढाका अनुसार यार्सा मात्रै होइन, कटुको, पाँचऔँले, समयो, घुच्ची च्याउ, पदमचाल, लटेचुक, भुत्ले, सतुवा, अतिस, सेतकचिनीलगायत जडीबुटी संकलन गरेरै परिवार चलाउनुपर्ने बाध्यता छ।

‘जडीबुटीबाट आम्दानी नभए भारत मजदुरी जानुको विकल्प छैन,’ उनी भन्छन्, ‘हाम्रो मुख्य आयस्रोत नै यही हो। हिमपात हुने समयबाहेक वर्षभरि कुनै न कुनै जडीबुटी संकलन भइरहेकै हुन्छ।’

हजारौँ परिवारको आधार संकटमा

यार्सागुम्बा अहिले पनि कर्णालीका हजारौँ परिवारको प्रमुख जीविकोपार्जनको आधार हो। जुम्ला, मुगु, डोल्पा, हुम्ला, कालीकोट, दैलेख, जाजरकोट, बाजुरा, मनाङ र मुस्ताङलगायत जिल्लाबाट हरेक वर्ष हजारौँ संकलक पाटन पुग्ने गर्छन्।

तर उनीहरूको जोखिम यार्सा खोजीमा मात्रै सीमित छैन। संकलकहरूका अनुसार बन्दुक (पेस्तोल) बोकेका लुटेरा समूह पाटन क्षेत्रमा सक्रिय हुने गरेका छन्। यार्सा बेचेर नगद बोकी सुरक्षित घर फर्किनु नै एउटा युद्ध जिते सरह हुने उनीहरूको अनुभव छ। त्यसैले राति सुत्दा पनि यार्साको झोला ढाडमै बाँधेर सुत्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन्।

मुगुका छापाखोला, टाँके, रिमाड, हङदङ खोला, च्यार्कुलेख, छुमुरु, छुङडुङ, भावर खोला, असी पाटन, नयाँवन, टाङवाक, झोवालेख, वाङरी रमाना, धोवार खोला र च्याङ्जीलगायत दुई दर्जनभन्दा बढी पाटन अहिले पनि यार्सागुम्बा संकलनका प्रमुख गन्तव्य हुन्।

‘सिंहदरबार आयो, रोजगारी आएन’

स्थानीय सरकारका बजेट र योजनामा रोजगारी सिर्जनाका कार्यक्रम उल्लेख भए पनि कार्यान्वयन प्रभावकारी नभएको स्थानीयको गुनासो छ।

‘हामीले गाउँमा सिंहदरबार आयो भन्ने सुनेका हौँ,’ उनीहरू भन्छन्, ‘तर सिंहदरबार आयो, रोजगारी आएन। कुरा धेरै भए, काम भएन।’

युवाहरूको माग छ, आफ्नै गाउँमा श्रम गर्ने अवसर। ‘हामीलाई ठूलो सपना चाहिएको छैन,’ उनीहरू भन्छन्, ‘आफ्नै गाउँमा पसिना बगाएर परिवार पाल्न पाउने वातावरण बनोस्। कहिले आउला त्यो दिन?’

प्रकाशित: ६ श्रावण २०८३ २०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App