तानसेनस्थित टक्सारटोलमा यःमरी महोत्सव मनाइएको छ। तानसेन नगरपालिका र वडा कार्यालयको सहयोगमा मैत्री क्लब टक्सारले नेवारी कला, संस्कृति जोगाउन एक दिने महोत्सव आयोजना गरेको हो।
पछिल्लो समय स्थानीय परिकार, भेषभूषा, कला, संस्कृति, परम्परा, संस्कार हराउँदै गएको अवस्थामा पहिचान जोगाउँदै इतिहासबारे युवापुस्तामा जानकारी गराउन महोत्सव गरिएको क्लबले जनाएको छ।
नेवारी परम्पराअनुसार मङ्सिर पूर्णिमाका दिन नयाँ धान भित्र्याएपछि घरभित्र धानको भकारी बनाउने, धानको भकारीलाई विधिवत रूपमा गणेश, शिवलगायत भगवान्को स्वरूप बनाएर पूजाआजा गर्ने र नयाँ धानको यःमरी बनाएर खाने र खुवाउने चलन रहेकाले नेवारी कला, संस्कृति बचाउन महोत्सवको आयोजना गरिएको क्लबका पूर्वअध्यक्ष बेशान्तर शाक्यले बताए।
यःमरी नेवारी समुदायले मात्र बनाउने र बढी मात्रामा खाने प्रचलन छ। ‘य’ भनेको नेवारी भाषामा मन पर्ने र मरी भनेको रोटी अर्थात् मन पर्ने रोटीका रूपमा नेवारी समुदायमा लिने गरिन्छ।
यःमरी चाकु, गुँड, खुवा र तिललाई चामलको पीठोभित्र राखेर पकाइन्छ र तातो खाने गरिन्छ। महोत्सवमा २५ कक्ष रहेका थिए। जहाँ दर्शकले स्वादअनुसारको विभिन्न परिकारको उपभोग गरेका थिए। रासस
प्रकाशित: १४ मंसिर २०८२ ०६:२९ आइतबार





