२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

विश्व प्रेस स्वतन्त्रता सूचकांक २०२६ : दक्षिण एसियामा नेपालको अवस्था सन्तोषजनक, भारत ‘धेरै गम्भीर’

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले सन् २०२६ को विश्व प्रेस स्वतन्त्रता सूचकांक सार्वजनिक गरेको छ। 

अप्रिल ३० मा जारी यो प्रतिवेदनले विश्वभर प्रेस स्वतन्त्रता २५ वर्षयताकै न्यून स्तरमा पुगेको दाबी गरेको छ। प्रतिवेदनका अनुसार हाल विश्वका सात देशमा मात्र पत्रकारका लागि ‘राम्रो’ वातावरण रहेको छ। यस वर्ष विशेषगरी कानुनी सूचकमा तीव्र गिरावट देखिएको छ, जहाँ धेरै देशका सरकारले सञ्चारमाध्यमलाई मौन राख्न ‘कानुन’ लाई नै हतियारको रूपमा प्रयोग गरेको पाइएको छ।

दक्षिण एसियाली क्षेत्र पत्रकारिताका लागि विश्वकै सबैभन्दा चुनौतीपूर्ण क्षेत्रमध्ये एक बनेको छ। यस क्षेत्रमा नेपाल ८७ औँ स्थानमा रहँदै छिमेकीहरूको तुलनामा तुलनात्मक रूपमा सन्तोषजनक र नेतृत्वदायी भूमिकामा देखिएको छ। 

नेपालमा चार हजार ९०० भन्दा बढी पत्रपत्रिका, एक हजार १९३ रेडियो स्टेशन, २४६ टिभी च्यानल र चार हजार ६०० भन्दा बढी आधिकारिक अनलाइन सञ्चारमाध्यम सञ्चालनमा रहेको उल्लेख छ।

उक्त रिपोर्टमा गत भदौ २३ र २४ मा भएको दुई दिने ‘जेनजी’ विद्रोहमा काठमाडौंसहित देशका विभिन्न भागमा भएको दंगाको क्रममा पहिलो दिन एक दर्जनभन्दा बढी मिडिया आउटलेट र पत्रकार संगठनहरूको मुख्यालयमा आक्रमण भएको बताइएको छ।

सोही क्रममा १९ जनाको ज्यान गएपछि दोस्रो दिन भएको आन्दोलनमा कम्तीमा एक दर्जन समाचार संस्था र तीन मिडिया संस्थाका कार्यालयमा आगजनी वा तोडफोड गरिएको थियो। उक्त हमलाको निशानामा निजी र सरकारी दुवै सञ्चारमाध्यम परेका थिए।

यद्यपि, नेपालबाहेकका अन्य दक्षिण एसियाली मुलुकको अवस्था भने चिन्ताजनक छ। माल्दिभ्स १०८ औँ स्थानमा झरेको छ भने श्रीलंका १३४ औँ स्थानमा रहँदै केही सुधारको संकेत देखाएको छ। 

भुटान १५० औँ स्थानमा पुगेर ठुलो गिरावटको सामना गरिरहेको छ भने बंगलादेश १५२ औँ, पाकिस्तान १५३ औँ र भारत १५७ औँ स्थानमा खुम्चिएका छन्। भारत गत वर्षको १५१ औँ स्थानबाट ६ स्थान तल झर्दै ‘धेरै गम्भीर’ श्रेणीमा परेको छ।

विश्वव्यापी रूपमा हेर्दा नर्वेले लगातार १० वर्षदेखि शीर्ष स्थान ओगटेर कीर्तिमान कायम राखेको छ। उत्कृष्ट प्रेस स्वतन्त्रता भएका अन्य देशमा नेदरल्याण्ड, इस्टोनिया, डेनमार्क र स्वीडेन रहेका छन्। 

अर्कोतर्फ, अधिनायकवादी शासन र द्वन्द्वका कारण इरिट्रिया लगातार तेस्रो वर्ष सूचीको अन्तिम स्थानमा छ। उत्तर कोरिया, चीन, इरान र अफगानिस्तान जस्ता देश पनि प्रेस स्वतन्त्रताको हिसाबले सबैभन्दा खराब अवस्थामा छन्। 

यसैबीच, सिरियाले ३६ स्थानको छलाङ मार्दै उल्लेख्य सुधार गर्दै १७७ बाट १४१ औँ स्थानमा पुगेको छ। अमेरिका भने नीतिगत परिवर्तन र पत्रकारप्रतिको शत्रुतापूर्ण व्यवहारका कारण ५७ बाट ६४ औँ स्थानमा झरेको छ।

प्रकाशित: १८ वैशाख २०८३ ०८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App