हावाहुरीसहित परेको वर्षाका कारण रुख ढल्दा च्यापिएर रुकुम पश्चिममा एक मजदुरको मृत्यु भएको छ। सानीभेरी गाउँपालिका–५ हासुका धनबहादुर खत्रीको आइतबार साँझ करिब ५ बजेतिर घटनास्थलमै ज्यान गएको हो।
स्थानीयका अनुसार हल्का वर्षासँगै आएको हावाहुरीका कारण सडक छेउमा रहेको रुख ढलेर उनीमाथि खसेको थियो। दिनभरि ज्याला मजदुरी गरेर घर फर्किने क्रममा घरबाट करिब दुई सय मिटर नजिकै रहेको ‘पातल’ भन्ने स्थानमा पुगेका बेला रुख ढलेर च्यापिएको बताइएको छ।
घटनापछि स्थानीयवासीले तत्काल उद्धार गर्ने प्रयास गरेका थिए। तर रुखले गम्भीर रूपमा च्यापिएकाले उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्। एक्कासि आएको हावाहुरीका कारण रुख ढलेपछि उनी बच्न नसकेको प्रत्यक्षदर्शीहरूको भनाइ छ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर आवश्यक मुचुल्का तयार गरी थप प्रक्रिया अघि बढाएको जनाएको छ।
स्थानीयका अनुसार खत्री दैनिक ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका थिए। अचानक भएको दुर्घटनाले परिवार शोकमा डुबेको छ भने गाउँमा पनि शोकको वातावरण बनेको छ।
शनिबार साँझदेखि पश्चिम नेपालका विभिन्न जिल्लामा हल्का वर्षासँगै हावाहुरी चलेको थियो। मौसममा आएको परिवर्तनका कारण कतिपय स्थानमा रुख ढल्ने तथा सामान्य क्षति हुने घटनाहरू पनि भएको स्थानीयले बताएका छन्।
स्थानीय प्रशासनले हावाहुरी तथा वर्षाको समयमा सुरक्षित स्थानमा बस्न र अनावश्यक रूपमा रुखमुनि वा जोखिमयुक्त स्थानमा नबस्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रकाशित: १ चैत्र २०८२ २१:४९ आइतबार





